२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

लकडाउनमा नाष्टले माग्यो कर्मचारी

काठमाडौँ — कोरोना महामारी नियन्त्रण एवं अनुसन्धानमा उल्लेख्य काम देखाउन नसकिरहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले कर्मचारी भर्ना गर्नलाई दरखास्त माग गरेको छ ।

लकडाउनमा नाष्टले माग्यो कर्मचारी

कोभिड–१९ को मौका छोपेर नाष्टले सूचना निकालेर कर्मचारी भर्ना गर्न लागेको हो । जेठ ६ गते जारी गरेको सूचनामा नाष्टले ‘नवप्रवर्तनात्मक सोचलाई प्रविधिमा रुपान्तरण गर्दै प्रयोगमा ल्याउने वातवारण निर्माण गर्नका लागि’ भन्दै वरिष्ठ प्राविधिक अधिकृत पदमा विज्ञापन खुलाएको हो । उक्त सूचनामा नाष्टले इन्जिनियरिङ प्राकृतिक प्रकोप व्यवस्थापन वा पीएचडी वा सो सरह पोस्ट डक उपाधि प्राप्त गरेकाहरुलाई विशेषज्ञ ग्राहृयकता दिने भनेर शैक्षिक योग्यता मागेको छ ।

सूचनामा प्राकृतिक प्रकोप, न्यूनीकरण भवन, अनुसन्धान र प्रविधि विकास, नवप्रवर्तनात्मक प्रविधिकी विकास, प्रविधिको चिकित्सकीय प्रयोगमा दख्खल र अनुभव भएकालाई विशेष प्राथमिकता दिइने उल्लेख गरिएको छ । नाष्टले सूचनामा माग गरे अनुसारको अनुभव र योग्यता हाल नाष्टमै बहाल रहेका वैज्ञानिकहरुसँग छ । ती वैज्ञानिकहरुलाई नाष्टले काम लगाउन छाडेर आफू अनुकूलको व्यक्तिलाई राख्नका लागि विज्ञापन खुलाएको नाष्टका वैज्ञानिक वृत्तमा चर्चा भएको छ ।

कोरोना माहमारीका बेला नाष्टले सैद्धान्तिक कार्यबाहेक अन्य प्रयोगात्मक एवं व्यवहारिक कार्य गर्न सकेको छैन ।

नाष्टका प्रवक्ता सुरेश ढुंगेलले नाष्टमा प्राविधिक जनशक्ति कम भएर सोच विचार गरेर कर्मचारी राख्न खोजिएको प्रतिक्रिया दिए । प्रवक्ता ढुंगेलले नाष्टले प्राविधिक कामहरु गर्न खोजिरहेको र छोटो अवधिको लागि कोभिड–१९ सँग सम्बन्धीत भएर कर्मचारी राख्‍न खोजेको दाबी गरे ।

कोरोना महामारीका बेला नाष्टले आफ्ना वैज्ञानिकहरुलाई अनुसन्धानात्मक कार्यहरुमा लगाउन नसकेको र भएका जनशक्तिलाई प्रयोग नगरी कुनै व्यक्तिलाई राख्नका यो सूचना जारी गरिएको नाष्टका एक अधिकृतले कान्तिपुरलाई बताए ।

ती अधिकृतले नाम नबताउने सर्तमा भने, ‘नाष्टले हामी वैज्ञानिकहरुलाई प्रयोग गर्न सकिरहेको छैन । सैद्धान्तिक कामबाहेक अन्य व्यवहारिक एव अनुसन्धानात्मक कार्यहरु भएका छैनन् । अहिले कोभिड-१९को मौका छोपेर कर्मचारी राख्‍न खोजिएको छ । अनुसन्धान के गर्ने भन्नेमा नाष्ट आफैं अन्योलमा छ । यो कुनै प्रभावशाली व्यक्तिनजिककालाई जागिर ख्वाउनेबाहेक यो अरु केही हैन ।’

प्रवक्ता ढुंगेलले भने नाष्टले प्रविधि विकासमा थुप्रै काम गरिरहेको दाबी गर्दै नवप्रवर्तनका लागि कर्मचारी भर्नाको आवश्यकता रहेको दाबी गरे ।

प्रकाशित : जेष्ठ ७, २०७७ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?