कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हेलिकप्टर प्रयोग गरी स्वाब संकलन

मुगु र वीरेन्द्रनगर — भौगोलिक विकटताका कारण कर्णाली प्रदेशका हिमाली जिल्लामा हेलिकप्टर प्रयोग गरी स्वाब (नमुना) संकलन गर्नुपर्ने बाध्यता आएको छ । प्रदेश सरकारले सडक सञ्जालले समेत नछोएको हुम्ला र सहज यातायात नभएको मुगुबाट मंगलबार स्वाब संकलन गरेको हो । संकलित स्वाब ७२ घण्टाभित्र जाँच गरिसक्नुपर्ने भएकाले कर्णालीका विकट भेगमा हेलिकप्टरबाट स्वाब संकलन थालिएको हो । 

हेलिकप्टर प्रयोग गरी स्वाब संकलन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक मंगल रावलले स्थलमार्गबाट पनि उक्त ठाउँमा पुग्न तीन दिन लाग्ने बताए । ‘हेलिकप्टरको विकल्प अरु केही नभएर प्रयोग गर्नुपर्ने भएको हो,’उनले भने, ‘यी ठाउँहरुबाट स्थलमार्ग भएर स्वाब संकलन गरी जाँच गर्न सकिने सम्भावना नै छैन ।’ अब बाँकी विकट स्थानमा भने स्थलमार्ग भएरै स्वाब संकलन गरिने निर्देशक रावलले बताए । उनका अनुसार हेलिकप्टर प्रयोग गर्नुपर्ने ठाउँबाट स्वाब संकलन गरिसकिएको छ ।

विकटताका कारण कर्णालीका हिमाली जिल्लामा प्रदेश सरकारको अनुगमन, सुत्केरी तथा अन्य बिरामी उद्दारलगायत काम पनि महँगो शुल्क तिरेर हेलिकप्टरबाट गर्नुपर्ने बाध्यता छ । अहिलेको परिस्थितिमा स्वाब संकलन धेरै र छिटो गर्नैपर्ने बाध्यताले पनि प्रदेश सरकारकामाथि चुनौती थपिएको छ । हेलिकप्टर प्रयोग गर्दा उडेको प्रतिघण्टा १७ सयदेखि २ हजार डलर खर्च लाग्छ । विकटताका कारण कर्णालीमा प्रदेश सरकारले गर्ने हरेक कार्य खर्चिलो हुने गरेको छ ।

मंगलबार गएको टोलीले हुम्लाको सर्केगाड, चंखेली गाउँपालिका, अदानचुली र ताँजाकोट गाउँपालिकाबाट ४ सय १६ जनाको स्वाब संकलन गरेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा निमित्त प्रमुख लक्ष्मीनारायण तिवारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्ले र निर्देशक डा मंगल रावलको टोलीले संकलन गरेको स्वाब जुम्ला लिएका हुन् ।

यस्तै, मुगुको मुगुम कार्मारोङ गाउँपालिकाबाट ९६ जना र सोरु गाउँपालिकाबाट पनि ५६ जनाको स्वाब संकलन गरेको छ । उक्त गाउँपालिकामा छिटो र छरितो रुपमा स्वाब प्रतिष्ठानमा लैजान यातायातको साधन नभएकाले फिस्टेल हेलिकप्टर प्रयोग गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख निर्मल नगरकोटीले जानकारी गराए ।

जिल्लाबाहिर तथा भारतबाट आएका रुघाखोकी लागेका स्थानीयलाई स्वाब संकलन गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सक टोली स्थानीय तहमा खटिएको हो । प्रमुख नगरकोटीका अनुसार मुगुबाट हेलिकप्टर र स्थलमार्गबाट गरी ३ सय ५६ जनाको स्वाब संकलन गरी प्रतिष्ठानमा पठाइएको छ ।

मुगुम कार्मारोङ गाउँपालिकामा संकलित स्वाब परीक्षणका लागि मंगलबार हेलिकप्टरबाट जुम्ला लैजाँदै । तस्बिर : राजबहादुर शाही/कान्तिपुर

प्रकाशित : जेष्ठ ७, २०७७ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?