कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सीसीएमसीलाई प्रधानमन्त्रीको निर्देशन- क्‍वारेन्टाइन व्यवस्थित गर्नू, परीक्षण बढाउनू

जगदीश्वर पाण्डे

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले क्‍वारेन्टाइनहरुलाई व्यवस्थित गर्न र कोरोना भाइरस परीक्षण प्रणालीलाई बढाउनका लागि सम्बन्धित मन्त्रालय र सुरक्षा अधिकारीहरुलाई बुधबार निर्देशन दिएका छन् ।

सीसीएमसीलाई प्रधानमन्त्रीको निर्देशन- क्‍वारेन्टाइन व्यवस्थित गर्नू, परीक्षण बढाउनू

पहिलोपटक छाउनीस्थित कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (सीसीएमसी) पुगेर ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले क्‍वारेन्टाइनमा व्यवस्थापन र परीक्षणमा जोड दिन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका हुन् । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै संसद्‌भित्र र बाहिर पनि लगातार रुपमा प्रश्न उठेपछि सरकारले नै गठन गरेको नयाँ संयन्त्रको कार्यालयमा बुधबार ओलीले भ्रमण गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई उक्त अवसरमा सीसीएमसीका संयोजकको जिम्मेवारी लिइरहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईं र सेनाका दुई जर्नेलले हालसम्म केन्द्रले गरेका काम र भविष्यको योजनाबारे ब्रिफिङ गरेका थिए । ब्रिफिङमा स्वास्थ्य परीक्षण, क्‍वारेन्टाइन, स्वास्थ्य संस्था, चिकित्सक, मुलुकको आपूर्ति व्यवस्था, प्रदेश र स्थानीय तहमा भइरहेको गृहकार्य र विदेशमा रहेका नेपालीको अवस्थाबारे ओलीले जानकारी लिएका थिए ।

ब्रिफिङमा उपस्थित एक उच्च अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले क्‍वारेन्टाइनमा व्यवस्थित रुपमा बस्ने वातावरण मिलाउन, खानपिन राम्रो खुवाउन र शौचालयहरुको उचित व्यवस्था गर्न सीसीएमसीलाई निर्देशन दिए । उनले स्कुलका क्‍वारेन्टाइनमा मान्छे धेरै र शौचालयहरु थोरै हुँदा समस्या पर्ने गरेको बताए । ‘डेढ सय वा दुई सय मान्छे राखेर शौचालय पुग्दैन, फोहोर हुन्छ, रोग त्यहींबाट आउँछ । वर्षायाम सुरु भइसक्यो । झाडापखाला लाग्न सक्छ । हामी त्यस विषयमा पनि सचेत हुन आवश्यक छ,’ उनले भने ।

प्रधानमन्त्रीले परीक्षणलाई बढाएर छिटोभन्दा छिटो धेरै नागरिकको परीक्षण गर्न पनि निर्देशन दिए । उनले त्यसै अवसरमा प्रदेश र स्थानीय सरकारहरुले गरेका कामबारे पनि जानकारी दिएका थिए । ‘स्थानीय तह र प्रदेशमा भइरहेका काममा अझ प्रभावकारी बनाउनुपर्छ, थप क्‍वारेन्टाइनका लागि पनि पहल गर्नुपर्छ,’ उनले भनेका थिए । उनले विदेशमा अलपत्र परेका नेपालीका सम्बन्धमा पनि अध्ययन गरेर सोहीअनुसार काम गर्न निर्देशन दिए ।

उक्त ब्रिफिङमा प्रधानमन्त्री ओलीसहित उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयेश त्रिपाठी, उद्योगमन्त्री लेखराज भट्ट र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल उपस्थित थिए । साथमा प्रधानसेनापति पूर्णचन्द्र थापा पनि थिए ।

मन्त्रिपरिषद्को चैत १६ को निर्णयले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि छुट्टै संयन्त्र बनाएको थियो । उक्त संयन्त्रले उपप्रधान तथा रक्षामन्त्री पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय संमन्वय समितिअन्तर्गत रहेर काम गर्दै आइरहेको छ ।

प्रकाशित : जेष्ठ ७, २०७७ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?