नेपाली सैनिकको शव लिन अफ्रिका उड्यो श्री एयरलाइन्स

सुरज कुँवर

काठमाडौँ — अफ्रिकी मुलुक लिबियामा २१ दिनअघि हृदयघातबाट मृत्यु भएका एक नेपाली सेनाको शव लिन श्री एयरलायन्सको सीआरजे विमान बिहीबार बिहान ७ बजे ट्युनिसिया उडेको छ ।

नेपाली सैनिकको शव लिन अफ्रिका उड्यो श्री एयरलाइन्स

काठमाडौंबाट उडेको यो विमान ओमानको मस्कट, इजिप्टको कायरो हुँदै बिहीबार बेलुकी ट्यनिसियाको राजधानी ट्य्निसस्थित कार्थेज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, यो चार्टर उडान संयुक्त राष्ट्रसंघको खर्चमा नेपाली सेनाले काठमाडौंबाट गराएको हो । प्रवक्ता पाण्डेका अनुसार, लिबियामा रहेको संयुक्त राष्ट्र संघको सहायता मिसनमा खटिएका झापा मूल घर भएका एक जमदारको मे १ तारिख (वैशाख १९ गते) हृदयघातका कारण मृत्यु भएको थियो । ती सैनिकको शव बोकेर उक्त विमान शुक्रबार दिउँसो काठमाडौं फर्किने छ ।

आन्तरिक उडानमा रहेको तथा हालै एसियाका केही मुलुकमा कार्गो चार्टरको अनुमति लिएको श्रीलाई नागरिक उड्डयन प्राधिकरणले विशेष परिस्थिति भएकाले कार्गो उडानको अनुमति दिई अफ्रिका पठाएको हो ।

श्रीको बमबार्डियर विमान काठमाडौंबाट सोझै ट्युनिसिया उड्न नसक्ने भएकाले काठमाडौंबाट मस्कट, मस्कटबाट इजिप्टको कायरो र ट्युनिसियाको राजधानी ट्युनिसमा रहेको कार्थेज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । शव लिबियाबाट त्यहाँसम्म सडकमार्ग हुँदै ल्याइएको प्रवक्ता पाण्डेले बताए ।

श्रीका एक अधिकारीका अनुसारका उक्त विमान शुक्रबार ट्युनिसियाबाट शव मात्रै बोकेर कायरोबाट दुबई हुँदै काठमाडौं फर्किने उडान तालिका रहेको छ ।

प्रवक्ता पाण्डेले शुक्रबार नै शव काठमाडौंबाट नेपाली सेनाको विमानमा भद्रपुर पठाइने बताएका छन् । उनका अनुसार, पछिल्ला महिना अफ्रिकी मुलुकमा शान्ति सेनामा खटिएका तीन सैनिकको ह्दयघातका कारण मृत्यु भइसकेको छ । श्रीले पछिल्लो एक महिना दुइटा चार्टर शव ल्याउनकै लागि गरेको छ ।

प्रकाशित : जेष्ठ ८, २०७७ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?