१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

भत्तामा उमेर हद तोकेपछि एकल महिला आक्रोशित, आन्दोलनको चेतावनी

स्थानीय तहले आउँदो किस्ताबाट ६० वर्षभन्दा कम उमेरका एकल महिलाले सामाजिक सुरक्षा भत्ता नपाउने भनेर सूचना निकाल्न थालेका छन् ।
रमेशकुमार पौडेल

चितवन — एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाउन ६० वर्ष उमेर पुग्नुपर्ने नियमका विरुद्ध महिला अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । सर्वोच्च अदालतको आदेशअनुसार सरकारले सबै उमेरका एकल महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेका कारण अहिले आएर अन्य नियम ल्याउनु गलत भएको उनीहरुको भनाइ छ । 

भत्तामा उमेर हद तोकेपछि एकल महिला आक्रोशित, आन्दोलनको चेतावनी

स्थानीय तहले आउँदो किस्ताबाट ६० वर्षभन्दा कम उमेरका एकल महिलाले सामाजिक भत्ता नपाउने भनेर सूचना निकाल्न थालेका छन् । चितवनको कालिका नगरपालिका-५ को कार्यालयले वडावासीलाई पत्र काटेरै यो कुरा जानकारी गराएको छ । वडाध्यक्ष जीएन महतोले जेठ १ मा टोल विकास संस्थालाई सम्बोधन गरी जारी गरेको सूचनामा ६० वर्ष उमेर नपुगेका महिलाहरुले एकल महिला बापतको भत्ता नपाउने उल्लेख छ ।

‘नयाँ नियम आयो रे भन्ने कुरा हप्ता दिनअघि गाइँगुइँ सुनिएको थियो । तीन-चार दिनयता त जिल्ला जिल्लाका साथीहरुले परिपत्र नै जारी भएको भन्दै दुखेसो पोख्न थाल्नुभयो,' मानव अधिकारका लागि महिला, एकल महिला समूहकी केन्द्रीय अध्यक्ष कुन्दा शर्माले भनिन्, 'हामीलाई जानकारी नै नदिई नियम ल्याइएछ । यो हामीलाई मान्य छैन । नसच्याए आन्दोलनमा जान्छौं ।'

२०७५ असोज २ गते नयाँ सामाजिक सुरक्षा ऐन जारी भएको थियो । त्यसमा एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाउने सम्बन्धमा नयाँ व्यवस्था गरिएको छ । ऐनको दफा ७ मा ६० वर्ष उमेर पुगेका महिलाले असाहय एकल महिला भत्ता पाउने उल्लेख छ । त्यसैमा उपदफा पनि थपेर केही एकल महिलाले ६० वर्ष नपुगे पनि भत्ता पाउने व्यवस्था छ ।

ऐनको दफा ७ को उपदफा २ मा जीवनयापन गर्ने आयस्रोत नभएको, नेपाल सरकारले तोकेको भन्दा न्यून आय भएको र श्रम गर्न नसक्नेले ६० वर्ष उमेर नपुगे पनि त्यस्ता एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाउने उल्लेख छ । ऐन जारी भए पनि नियमावली नआउँदासम्म साबिकबमोजिम भत्ता पाउने उल्लेख थियो । नयाँ नियमावली गएको चैत्र ३ गते जारी भएको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका शाखा अधिकृत सावित्री बस्नेतले सबै स्थानीय तहलाई गएको चैत २६ गते नयाँ ऐन नियमावलीअनुसार नै सामाजिक सुरक्षा भत्ता वितरण गराउन परिपत्र गरेकी हुन् । यो परिपत्रका आधारमा स्थानीय तहले असार अन्तिममा हुने सामाजिक सुरक्षा भत्ता वितरणमा ६० वर्ष उमेर नपुगेका एकल महिलालाई भत्ता वितरण नगर्ने भएका छन् ।

सामाजिक सुरक्षा भत्ता वितरण नयाँ नियमावलीअनुसार गर्न भनेर पञ्जीकरण विभागले स्थानीय तहलाई जारी गरेको परिपत्र

सरकारले चारचार महिनामा भत्ता वितरण गरेको छ । तीन चरणको भत्ता वितरण भइसकेको छ । अब यो आर्थिक वर्षको अन्तिम चार महिनाको भत्ता असार अन्तिम या साउनको पहिलो हप्ताभित्र वितरण हुन्छ ।

‘खाइपाइ आएको भत्ता कटौती गर्नु न्यायोचित होइन। चैतसम्मको भत्ता बुझेकाहरुले असारमा भत्ता लिन जाँदा नपाइने भयो रे भन्ने जानकारी हुने तरिकाले सरकारले नियम ल्याएर लागू पर्न खोज्यो,’ अध्यक्ष शर्माले भनिन् । चुनावमा भत्ता बढाउने कुरा गरेर सरकारमा गएपछि कटौती गर्नु महिलामाथि ज्यादती भएको उनको भनाइ छ । 'सर्वोच्च अदालतमा हामीले मुद्दा हालेपछि ६६ सालमा अदालतले एकल/विधवा भएको भोलिपल्टबाटै भत्ता दिनु भन्ने आदेश भएको हो,' उनले भनिन्, 'अदालतको आदेशले आएको व्यवस्थालाई सरकारले आफूखुसी बदल्न पाउँदैन ।’

उनले प्रदेश र जिल्लाका साथीहरुसँग आन्दोलनको तयारीका लागि छलफल सुरु भएको बताइन् । ‘सरकारलाई सजिलो अवश्य हुँदैन । साथीहरु धेरै नै आक्रोशित हुनुभएको छ,' उनले भनिन् ।

वाग्गमती प्रदेशकी अध्यक्ष विष्णु पाण्डेले पनि यो नियम नसच्चिए सरकारलाई नै अप्ठेरो पर्ने बताइन्

ऐन संशोधन तयारी

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेत एकल महिलाको हकमा खाइपाइ आएकाहरुलाई भत्ता कटौती नगर्ने गरी ऐन संशोधनको प्रक्रिया सुरु भएको बताउँछन् । ‘संसदको यही अधिवेशनले नयाँ व्यवस्थासहित ऐन संशोधन गर्ने तयारी छ । खाइपाइ आएकाहरुको भत्ता कटौती नहोला,’ महानिर्देशक बस्नेतले भने ।

विभागका अनुसार सामाजिक सुरक्षा भत्ता पाउने एकल महिलाको संख्या ८ लाखभन्दा बढी छ । त्यसमा ६० वर्षभन्दा कम उमेरका महिलाको संख्या साढे ३ लाखको हाराहारीमा भएको महानिर्देशक बस्नेतले जानकारी दिए ।

मानव अधिकारका लागि महिला, एकल महिला समूहकी केन्द्रीय अध्यक्ष कुन्दा शर्माले ऐन संशोधन गर्ने हो भने चाँडै गर्नुपर्ने बताइन् । सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै साबिकझैं सबै उमेर र वर्गका एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने आफूहरुको अडान रहेको उनको भनाइ छ । सामाजिक सुरक्षा भत्ताबापत महिनाको दुई हजार रुपैयाँ पाउने व्यवस्था छ ।

सम्बन्धित समाचार

वडा कार्यालयको सूचना ‘एकल महिलालाई ६० वर्ष पुगेपछि मात्र भत्ता’

प्रकाशित : जेष्ठ ८, २०७७ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?