२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

राजेश हमाल भन्छन्- सीमा विवाद हरेक नेपालीको मुद्दा हो

रीना मोक्तान

काठमाडौँ — सामाजकि संजालमा बेलाबेला राजीनितक विषयमा समेत टिप्पणी गर्ने अभिनेता राजेश हमालले भारतसँगको सीमा विवादबारे आफ्नो मत सार्वजनिक गरेका छन् । उनको निचोड छ– ‘भारतको मिचाहा प्रवृत्ति नेपाली जनताले सहँदैनन् ।’

राजेश हमाल भन्छन्- सीमा विवाद हरेक नेपालीको मुद्दा हो

लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा बुधबार फेसबुकमा पोस्ट गरेको भिडियोमार्फत उनले भनेका छन्, ‘नेपालका मानिसहरु कुनै पनि हालतमा यी क्षेत्रको लागि सम्झौता गर्न तयार छैनन् । हाम्रो अहिलेको अनुभवसँग भारत पक्कै जानकारमात्र छैन, परिचित पनि छ । भारतले पहिल्यै उपनिवेश हटाउन त्यो संघर्ष गरिसकेको छ ।’ सीमा विवादका विषयमा हमाल मौन बस्न नहुने आवाज संजालमा उठिरहेका बेला उनले आफ्नो भनाई सार्वजनिक गरेका हुन् ।

सीमा विवाद वास्तवमा विवादै नभएको उनको तर्क छ । ‘छिमेकी राष्ट्रलाई ‘मिस अन्डरस्याण्ड’ मात्र भएको हो । नेपालले एउटै कुरा मागेको हो, जुन नेपालको हो । त्यसभन्दा धेरै/थोरै केही माग गरेको छैन,’ दृढ स्वरमा उनले भनेका छन् ।

भारतले चालेको कदमले नेपालीको भावनलाई मर्माहत पारेको उनी बताउँछन् । ‘वर्तमान अवस्थाको यो गतिविधि सह्य छैन । साधारण भाषामा यो अस्वीकार्य छ,’ भिडियोमा उनले भनेका छन्, ‘म यो भन्दिनँ, इतिहासमा हाम्रो कमजोरी थिएन, हामीले सम्झौता गरेनौं । जे होस्, हामीले हाम्रो स्वतन्त्रता बचाउन र सार्वभौमिकताका लागि त्यो त्याग गरेका हौं । यहाँको जनता अब कुनै पनि प्रकारका अन्याय हेरेर बस्नेवालामा छैन । यो अब सरकारको विषय मात्र होइन । यो मुद्दा अब हरेक नेपालीको हो ।’

लामो समयदेखि नेपाल र भारतले आफ्नो सँस्कृति, परम्परा र धार्मिक विश्वास आदनप्रदान गरेको तर यस किसिमको विवादले कालान्तरमा दुवैलाई हानी गर्ने हमालले बताए ।

भारतले मित्रताको हात बढाउँदा जहिले पनि नेपालले खुल्ला ह्रदयले स्वीकारेको बताउँदै उनले भने, ‘म भारतीय प्रधानमन्त्री नरेन्ऽ मोदीको नेपाल भ्रमण सम्झन्छु । हामीले दिएको उच्चसुरक्षा, त्यो स्वागत, हामीले उनलाई रकस्टारलाई जसरी आतिथ्य गर्‍यौं । तर पनि दुर्भाग्य, मोदी सरकारले भूकम्पताका गरेको नाकाबन्दले सबैको मन दुखायो । अहिले लिम्पियाधुरा र लिपुलेकमा भारतले चालेको कदमले दुई राष्ट्रलाई मात्रै होइन यसले ल्याउने चुनौतीले दुवैलाई हानी गर्छ ।’

महामारीको मारमा परेको बेला शक्तिशाली देशले खाँचोमा परेका आफ्ना छिमेकीलाई सहयोग गर्नुपर्ने उनको तर्क छ । ‘यस किसिमको गतिविधिले त संसारमा भारतलाई कस्तो प्रतिबिम्व गर्ला ?’ उनी प्रश्न गर्छन् ।

यी तीन क्षेत्र नेपालको रहेको दोहोर्‍याउदै हमालले भारतलाई भूमि फिर्ता गर्न माग गरेका छन्, ‘ऐतिहासिक प्रमाणले भन्छ कि लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो । यो राष्ट्रको नागरिकका हिसाबले हामी हाम्रो छिमेकी राष्ट्र भारतसँग हाम्रो क्षेत्रको सत्यतथ्य, इतिहास हेरेर यो मुद्दासँग न्यायीक ढंगले व्यवहार गर्न अनुरोध गर्छौं ।’

प्रकाशित : जेष्ठ ८, २०७७ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?