४० दिन 'ढुक्क' बनेको सुदूरपश्चिममा फेरि बल्झियो कोरोना त्रास

भारतबाट भित्रिएकालाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा बस्ने सर्तमा प्रवेश गर्न दिइएको छ । तर बिनापरीक्षण र अव्यवस्थित क्वारेन्टाइनका कारण त्रासको मात्रा थप बढेको छ ।
मोहन बुढाऐर

धनगढी — कोराना संक्रमित निको भएर घर फर्किएसँगै सुदूरपश्चिमले ढुक्कको स्वास फेरेको थियो । तर ४० दिनपछि शुक्रबार एकैदिन ५ जनामा कोरोना पोजिटिभ देखिएपछि पुनः कोरोना कम्पन सुरु भएको छ । त्यसयता संक्रमितको संख्या बढिरहेको छ ।

४० दिन 'ढुक्क' बनेको सुदूरपश्चिममा फेरि बल्झियो कोरोना त्रास


पहिलो चरणको लकडाउनकै समयमा सुदूरपश्चिममा ५ जना कोरोना संक्रमित देखिएका थिए । 'राजधानीबाहिर संक्रमित देखिँदा कतै ‘इपिसेन्टर’ बन्ने त होइन भन्ने एक प्रकारको त्रास थियो,' धनगढीका सिद्धराज भट्ट भन्छन्, ‘तर पछिल्लो चरणमा सबै निको भएर घर फर्केपछि सुदूरपश्चिम कोरोनामुक्त भयो भन्ने लागेको थियो, एकैदिन ५ जना थपिँदा झन् त्रास बढेको छ ।’

वैशाखमा भारत र देशका विभिन्न भागबाट ५ हजार भित्रिएका थिए । जेठको यो एक सातामा भारतका विभिन्न सहरबाट आएका ५ हजार ४ सयभन्दा बढी नेपाली गौरीफन्टा नाकाबाट मात्रै भित्रिए । 'पछिल्लो समयमा भारतबाट भित्रिएकाहरुका कारण यहाँ कोरोनाको जोखिम निकै उच्च थियो,' सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले भने ।

बुधबारदेखि शुक्रबारसम्म गौरीफन्टा सीमा नाकामा देखापरेको भिड थाम्नै सुरक्षाकर्मीलाई गाह्रो भएको थियो । कैलाली जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार ३ दिनमा ४ हजार ५ सयभन्दा बढी भित्रिएका छन् । शुक्रबारमात्रै २ हजार नेपाली सीमामा आएका थिए । यसअघि जेठ २ र ३ गते ९ सय ५० जना भित्रिएका थिए । सीमामा आइपुगेकालाई प्रदेश र स्थानीय सरकारको समन्वयमा व्यवस्थित र सुरक्षित रुपमा सम्बन्धित जिल्लामा पठाउने काम भएको उनले बताए । त्यसका लागि प्रदेश सरकार र स्थानीय तहले बस पठाएको थियो ।

बिहीबार भित्रिएका २ हजार ४ सय ९८ मध्ये ७ सय ७० जनाको आरडीटी गरिएको सेती अस्पतालले जनाएको छ । जसमध्ये १२ जनामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ ।


किटको अभावमा सबैको सीमा नाकामा आरडीटी गर्न सम्भव नभएको निर्देशनालय प्रमुख डा. अवस्थीले बताए । ‘स्थानीय तह र जिल्लामा पनि आरडीटी किट पठाएका छौं,’ उनले भने, ‘स्थानीय तहको क्वारेन्टाइनमा बस्न जाने भएकाले उतै परीक्षण गरिने छ ।’

भारतबाट भित्रिएकालाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा बस्ने सर्तमा मात्रै प्रशासनले प्रवेश गर्न दिइरहेको छ । धनगढीका दिनेश चटौतले भारत र देशका विभिन्न भागबाट आउनेहरुको परीक्षण र व्यवस्थित क्वारेन्टाइन नहुँदा सुदूरपश्चिममा कोरोनाले भयावह रुप लिन सक्ने बताए ।


निर्देशनालयका अनुसार चैतयता पीसीआर पद्धतिबाट ४ हजार १ सय ३८ को परीक्षण भएको छ । आरडीटीबाट १९ हजार ८ सय ७ सय ७५ को परीक्षण भएको छ । पीसीआरबाट परीक्षण गरिएका २ सय २६ जनाको रिपोर्ट आउन बाँकी छ ।


शुक्रबार कैलालीको जानकी गाउँपालिकाको सरस्वती मावि क्वारेन्टाइनमा रहेका ३ जना, बैतडी र डडेल्धुरा एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जानकी-४ र ७ का उनीहरु एक साताअघि मात्रै भारत, इटहरी र बाँकेबाट आएका थिए ।


सेती अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले कोरोना बिरामीका लागि तयार पारिएका २४ बेडको आइसोलेसन कक्षमा २३ जना भर्ना भएको जानकारी दिए । उनका अनुसार बुधबार र बिहीबार भारतका बिभिन्न सहरबाट गौरीफन्टा नाका भएर भित्रिनेहरुमा गरिएको आरडीटी परीक्षणबाट कारोना पोजिटिभ भएका ११ जना र अन्य १२ जना शंकास्पद बिरामीलाई भर्ना गरिएको छ ।

'कोरोना पोजिटिभका लागि ५ आईसीयू कक्ष पनि छन्,’ सेती अस्पतालका सुपरिटेन्डेन्ट हेमराज पाण्डेयले भने, ‘५० बेडको कोरोना अस्पताल पनि तयार भइसकेकोले बिरामी भर्ना र उपचारमा कुनै समस्या छैन ।’ तर उनले कोरोना समुदायमा फैलिए सुदूरपश्चिमको स्वास्थ्य जनशक्ति र संरचनाले थेग्न नसक्ने बताए ।

सुदूरपश्चिममा १५ वटा अस्पतालमध्ये सेतीमा १० र महाकालीमा ४ आईसीयू बेड रहेका छन् । सेतीमा ६ र महकालीमा २ वटा भेन्टिलेटर छन् । ९ वटै जिल्ला र प्राथमिक स्वास्थ्य केन्द्र गरी १५ वटा अस्पतालमा आइसोलेसन बेड संख्या १ सय ६३ रहेको छ ।

प्रकाशित : जेष्ठ १०, २०७७ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?