२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पाटनमा अलपत्र संक्रमितलाई दुवाकोटस्थित केएमसी अस्पतालले भर्ना लिने [अपडेट]

बेड खाली भएपछि खुट्टाको शल्यक्रिय गर्न पाटन नै ल्याइने

काठमाडौँ — आइसोलेसन बेड खाली नभएपछि ललितपुरस्थित पाटन अस्पतालमा दिउँसो ४ बजेदेखि एम्बुलेन्समै बस्न बाध्य एक कोरोना संक्रमितलाई दुवाकोटस्थित केएमसी अस्पतालले भर्ना लिने भएको छ । पाटन अस्पतालमा पहिले नै १५ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेका कारण ती बिरामी अलपत्र परेका थिए ।

पाटनमा अलपत्र संक्रमितलाई दुवाकोटस्थित केएमसी अस्पतालले भर्ना लिने [अपडेट]

केएमसी अस्पतालकी प्राचार्य प्रा.डा. चन्दा कार्कीले पाटन अस्पतालमा अलपत्र परेका बिरामीलाई दुवाकोटमा भर्ना गर्न लागिएको स्वीकार गरिन् । 'हाम्रो लेभल १ अस्पताल हो । त्यसैले त्यहाँ आइसोलेसन बेड र सामान्य उपचार सेवा मात्रै उपलब्ध हुन्छ,' उनले भनिन्, 'मन्त्रालयबाटै निर्देशन आएकोले हामीले भर्ना लिन गाएका हौं । त्यसका लागि आवश्यक व्यवस्था मिलाउँदै छौं ।'

काठमाडौंको कुलेश्वरमा रहेको राजधानी अस्पतालले कोरोना पोजिटिभ देखिएसँगै उनलाई एम्बुलेन्समा राखेर पाटन अस्पताल पठाइदिएको थियो । पटान अस्पतालसँग बेड नहुँदा नहुँदै पनि समन्वय नै नगरी राजधानी अस्पतालले लापरवाही पूर्वक त्यहाँ बिरामी पठाएको कारण उनी अलपत्र परेका थिए ।

सर्लाही जमुनिया स्थायी घर भएका ती बिरामी पाँच दिनअघि सडक दुर्घटनामा परेर घाइते भएका कारण थप उपचारका लागि काठमाडौैं ल्याइएका हुन् । उनको खुट्टा भाँचिएका कारण शल्यक्रिया गर्नुपर्ने अवस्था रहेकोले अन्य अस्पतालले भर्ना लिन नमानेको पाटन अस्पतालस्थित उच्च स्रोतले जानकारी दिएको छ ।

उनी भारतको महाराष्ट्रबाट केही दिनअघि नेपाल प्रवेश गरेको र दुर्घटनामा परेको जानकारी दिएको ती अस्पताल स्रोतले जानकारी दिएका छन् ।

'बल्लबल्ल दुवाकोटस्थित केएमसी अस्पताले केही दिन आइसोलेसनमा राख्नका लागि मान्यो,' स्रोतले भन्यो, 'एपीएफ अस्पतालले लक्षण देखिएको बिरामी भर्ना गर्न मानेन । टेकुस्थित शुक्रराज अस्पतालमा पनि बेड छैन । विभिन्न अस्पतालसँग कुरा भयो कसैले मानेन ।'

स्रोतका अनुसार ती बिरामीलाई आइसोलेसनमा राख्नका लागि मात्रै दुवाकोट लगिएको हो । 'पाटनमा बेड खाली भएपछि यतै आउँछन् होला ती बिरामी,' उनले भने, 'उनको खुट्टाको शल्यक्रिया गर्नुपर्ने देखिन्छ ।' उनको अनुसार ती बिरामीको अवस्था भने हाललाई सामान्य नै रहेको छ ।

बिरामीसँगै दुईजना कुरुवा पनि रहेका छन् र उनीहरुको भने स्वाब परीक्षण भएको छैन ।

'दिउँसो ४ बजे अस्पताल आएको बिरामी बेड नपाएर एम्बुलेन्समै बस्न बाध्य थियो । यो कस्तो सरकारी तयारी हो ?' उनले भने, 'काठमाडौंमा कतिवटा बेड के के भनेर जानकारी दिएको त सबै गफै रहेछ नि । हैन भने किन बिरामीको यस्तो विचल्ली । मन्त्रालयले भनेको त अस्पतालले मान्दैनन् रैछ ।'

प्रकाशित : जेष्ठ १०, २०७७ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?