मुलुक फर्किनेको जमुनाहामा धुइरो

रूपा गहतराज

नेपालगन्ज — कोही हातमा, कोही काँधमा झोला बोकेका छन् । दसैंका बेला नाकामा देखिने जस्तो दृश्य अहिले नेपालगन्जको जमुनाहा नाकामा देखिन्छ । स्वदेश आउने र भारततर्फ जान चाहनेको धुइरो बराबर छ । प्रहरीलाई भीड थाम्न हम्मेहम्मे छ । बाटोभरि बसका लस्कर अडिएका छन् ।

मुलुक फर्किनेको जमुनाहामा धुइरो

यसरी आउनेमा भारतमा रोजगारीका लागि गएका मजदुर धेरै छन् । भारतबाट फर्किनेमा जिल्लाका उद्योग कारखानामा काम गर्ने अधिकांश मजदुर छन् । दुई महिनाको लकडाउनमा बेखर्ची बनेका राजीव पासवान आफ्नो घर बिहार जान शनिबार बिहानैदेखि नाकामा बसिरहेका थिए । नेपालगन्ज औद्योगिक क्षेत्रमा काम गर्ने उनीसँगै आफ्नो घर जान हिँडेका ४६ जनाको समूह थियो । बिहान खाना पकाएर खाएर हिँडेका उनीहरू नाका पुग्दा ४ बजेसम्म पनि जाने मेसो मिलेको थिएन । उनीहरूसँगै पाँच सयको हाराहारीमा भारत फर्कनेको भीड थियो । प्रहरीले त्यो भीडलाई व्यवस्थापन गर्न निकै सकस परेको देखिन्थ्यो । बालकदेखि वृद्ध बसेका थिए । नाकामा उभिएका उनीहरूको नजर पारि नै थियो । ‘कसरी घर पुग्छौं, त्यो त रूपैडिया पुगेर थाहा हुन्छ,’ पासवानले भने, ‘गाडी नभए हिँडेर घर पुग्छौं ।’ यसरी नाकामा भारत फर्कनेको चाप हुँदा दिउँसोको ३ बजेसम्म भारतबाट फर्कने १५० जना नेपाली भारतको रूपैडियामा जम्मा भएका थिए । ‘संख्या साँझसम्म एक हजारको हाराहारीमा पुग्छ,’ नाकामा खटिएका एक प्रहरी अधिकारीले भने, ‘संख्या यकिन गरे जिल्ला छुट्याएर सबैलाई घर पठाउँछौं ।’

यसरी फर्कनेहरूमा केहीमात्र भारतीय क्वारेन्टाइनमा बसेर आएका छन् भने फर्कनेको संख्या त्योभन्दा दोब्बर देखिन्छ । मुलुक फिर्नेमा कर्णाली प्रदेश र प्रदेश ५ का १२ जिल्लाका बासिन्दा थिए । उनीहरूलाई लिन आइपुगेका गाडीका चालकहरू घडी हेर्दै समय बिताइरहेका छन् । ‘साँझसम्म सबै आइपुग्छन्,’ भेरी यातायात समितिका प्रतिनिधि धुव्र वलीले भने, ‘हरेक जिल्लामा पुर्‍याउन १५ वटा गाडी तयार छन् ।’ स्वदेश फर्केकालाई सम्बन्धित जिल्ला वा स्थानीय तहले सीमा नाकाबाटै उद्धार गर्न सक्ने व्यवस्था जिल्ला प्रशासनले मिलाएको हो । सम्बन्धित जिल्लाका नगर र गाउँपालिकाले यहाँको प्रशासनसँग समन्वय गरेर आफ्ना बासिन्दालाई लैजाने व्यवस्था मिलाएको हो । जमुनाहा नाकामा स्वदेश आउनेको चाप दिनहँु बढ्न थालेपछि यस्तो व्यवस्था गरेको हो ।

भारतमा रेल सञ्चालन गरिएपछि जमुनाहा नाकाबाट स्वदेश आउन खोज्ने नेपालीको चाप बढ्न थालेको छ । यसअघि सीमाबाट नेपाल आउनका लागि भारतको क्वारेन्टाइनमा न्यूनतम दुई साता अनिवार्य बस्नुपर्ने प्रावधान थियो । सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार औपचारिक रूपमा नाका आइपुगेका आफ्ना जिल्लावासी वा पालिकावासीलाई लिन आएमा समन्वय गरेर लैजान पाउने व्यवस्था गरिएको बताए । यसका लागि सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बस्ने गरी लैजान पाइने सर्तको व्यवस्था रहेको उनले सुनाए । यसरी फर्किनेको नाकामा स्वास्थ्य जाँच र कोरोना परीक्षण गरिएको छैन ।

प्रकाशित : जेष्ठ ११, २०७७ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?