कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रयोगशालामा स्वाबको नमुनाको थुप्रो

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पीसीआर परीक्षणको नतिजा प्राप्त गर्न ३–४ दिनसम्म कुुर्नुपर्ने, नतिजा ढिलो आउँदा संक्रमित धेरै व्यक्तिको सम्पर्कमा पुग्ने जोखिम
अतुल मिश्र

काठमाडौँ — मुलुकको एक मात्र केन्द्रीयस्तरको प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोराना भाइरसको पीसीआर परीक्षणका लागि संकलन गरिएको स्वाबको नमुना थुप्रिन थालेको छ । दैनिक परीक्षण क्षमताभन्दा धेरै परिमाणमा नमुना संकलन हुँदा ‘क्यु’ (लाइन) मा राख्नुपर्ने अवस्था आएको हो ।

प्रयोगशालामा स्वाबको नमुनाको थुप्रो

यसले गर्दा पहिले डेढदेखि दुई दिनसम्म प्राप्त हुने परीक्षण नतिजाका लागि ३ देखि ४ दिनसम्म कुर्नुपर्ने भएको छ । जसका कारण शंकास्पद व्यक्ति धेरैको सम्पर्कमा जाने भएकाले संक्रमण फैलिने सम्भावना बढेको हो ।

यहाँ बिहान, बेलुका र दिउँसो गरी तीन चरणमा परीक्षण भइरहेको छ । हरेक दिन बिहान ८ देखि मध्यरात १२ बजेसम्म सञ्चालित प्रयोगशालामा हाल दैनिक एक हजारभन्दा बढी नमुनाको परीक्षण भइरहेको छ । तर, क्षमताभन्दा धेरै नमुना संकलन भएकाले परीक्षणको नतिजाका लागि थप समय कुर्नुपर्ने अवस्था आएको हो । ‘गत शनिबारदेखि नमुना क्युमा रहने स्थिति आएको छ,’ प्रयोगशालाकी निर्देशक डा. रुना झा भन्छिन्, ‘हाल हाम्रो १ हजारदेखि १२ सय नमुना परीक्षण गर्ने क्षमता छ । अव्यवस्थित रूपमा नमुना संकलन भएपछि लाम लाग्ने अवस्था आएको हो ।’

जनस्वास्थ्य प्रयोगशालाले परीक्षणको चाप बढेपछि अन्य प्रयोगशालामा पनि सन्तुलित वितरणका लागि आग्रह गरेको छ । उसले सबै प्रयोगशालाबाट दिनहुँ न्यूनतम २ सय नमुना परीक्षण गर्न सक्ने गरी क्षमता वृद्घि गर्न स्वास्थ्य मन्त्रालयलाई लिखित रूपमा पत्र पठाएर आग्रहसमेत गरेको थियो । ‘केन्द्रीय प्रयोगशाला भएकाले जतिसुकै चाप/लाम बढे पनि अब थप नमुना नलिने वा हालका लागि अर्को प्रयोगशालामा पठाउनुस् भन्न मिल्दैन,’ डा. झाले भनिन् ।

उनका अनुसार राजधानीका तीनवटै महानगरपालिकाले अव्यवस्थित रूपमा एकैपटक धेरै नमुना संकलन गर्दा प्रयोगशालामा चाप बढेको हो । हाल केन्द्रीय प्रयोगशालामा कहिले ५–६ सय त कहिले दुई हजारसम्म नमुना संकलन भइरहेका छन् । ‘दिनहुँ १५ सय नमुना परीक्षण गर्ने गरी क्षमता विस्तार गर्दै छौं, योभन्दा बढी क्षमता विस्तार गर्न सहज छैन,’ उनले भनिन् ।

‘केन्द्रीयस्तरको प्रयोगशालामा हुनुपर्ने जनशक्ति, उपकरण, आधारभूत संरचना, सेवासुविधा लगायतको अभाव छ,’ प्रयोगशालाका एक कर्मचारीले कान्तिपुरसँग भने, ‘उपत्यकामा भएका अन्य प्रयोगशालामा समेत क्षमताअनुसार नमुना वितरण गर्दा सहज हुन्थ्यो, तर त्यो गरिँदैन ।’ उनका अनुसार नमुना परीक्षणपछि परिणाम अद्यावधिक गर्दासमेत कहिलेकाहीँ सफ्टवेयरले समस्या दिने, एसएमएस नजानेलगायत प्राविधिक समस्याका कारण सम्बन्धित व्यक्तिले नतिजा पाउन ढिलाइ भइरहेको छ । हाल प्रयोगशालामा नमुनाको दर्तालगायत सबै प्रक्रिया कागजी प्रक्रियाबाट हुने भएकाले थप समय लाग्दै आएको छ । यो कामलाई पूर्ण प्रविधिमैत्री गर्ने तयारीमा रहेको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालामा नमुना माइनस ४ डिग्री सेन्टिग्रेडमा राख्दा २४ घण्टाभित्र परीक्षण गरिसक्नुपर्छ । नमुना दुई–तीन महिनासम्म राख्न माइनस २० डिग्री सेन्टिग्रेड र यसभन्दा बढी समयसम्म राख्न माइनस ८० डिग्री सेन्टिग्रेड आवश्यक पर्ने प्रावधिकहरू बताउँछन् । मुलुकमा हाल कोभिड–१९ परीक्षण गर्ने १९ वटा प्रयोगशाला छन् । उपत्यकामा जनस्वास्थ्य प्रयोगशालाबाहेक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, वीर अस्पतालमा समेत पीसीआर विधिबाट परीक्षण गरिन्छ । उपत्यकाको नजिकै धुलिखेल अस्पतालमा समेत यसको सुविधा छ ।

यसबाहेक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको कोसी अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुर प्रादेशिक अस्पताल, वीरगन्जको नारायणी अस्पताल, भरतपुर कोभिड–१९ प्रयोगशाला, हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, रूपन्देहीस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, नेपालगन्जको भेरी अस्पताल, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढीको सेती प्रादेशिक अस्पतालमा समेत पीसीआर परीक्षण गरिन्छ ।

नयाँ संक्रमित १९, संक्रमण ४२ जिल्लामा

देशभर आइतबार कोभिड–१९ का १९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ६ सय ३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार नुवाकोट थप भएसँगै संक्रमण ४२ जिल्लामा विस्तार भएको छ । कुल संक्रमितमध्ये ५ सय २४ पुरुष र ७९ जना महिला छन् । आइतबार नारायणी अस्पतालबाट ७ जना र बुटवलस्थित कोरोना अस्पतालबाट १० जना गरी १७ जना डिस्चार्ज भएका छन् । यो संख्या अब ८७ पुगेको छ ।

मुलुकभर आइतबार पीसीआरबाट २ हजार ८ सय ५६ नमुनाको परीक्षण गरिएको छ । हालसम्म पीसीआरबाट ४८ हजार ८ सय १५ नमुनाको परीक्षण गरिसकिएको छ । यस्तै, द्रुत परीक्षण किट (आरडीटी) बाट आइतबार ३ हजार ७ सय ९१ नमुनाको परीक्षण गरिएको छ । हालसम्म यो संख्या ९० हजार ३६ छ । हाल देशभर ३९ हजार ८ सय ४ जना क्वारेन्टाइनमा छन् । ५ सय १३ जना आइसोलेसनमा उपचाररत छन् ।

प्रकाशित : जेष्ठ १२, २०७७ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?