कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कारागारभित्रै अपहरणकारीका ४ ठाउँमा व्यापार

झगडापछि चौकीदार बर्खास्त
मातृका दाहाल

काठमाडौँ — कारागारभित्रै अपहरणकारीले ४ ठाउँमा व्यापार सञ्चालन गरेको सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर अचम्म नमान्नुस्, अपहरण तथा शरीर बन्धक, खैरो हेरोइनको कारोबार र डाका मुद्दामा अदालतबाट दोषी ठहर भएका एक जना कैदीबन्दीले डिल्लीबजार कारागारभित्र ४ स्थानमा किराना पसल तथा क्यान्टिन र मेस सञ्चालन गरिरहेका छन् ।

कारागारभित्रै अपहरणकारीका ४ ठाउँमा व्यापार

२०६५ साउनमा वरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटाकी छोरी मेघा अपहरण गरी १ करोड ३० लाख फिरौती मागेको अपराधसहित हेरोइन कारोबार र डाका मुद्दामा दोषी ठहर भएका काभ्रेका गोकुल गिरीले व्यापार चलाएका छन् । कारागारभित्र एकछत्र व्यापार गर्न उनका लागि सजिलो आधार कैदीबन्दीको आन्तरिक प्रशासन हेर्ने ‘चौकीदार’ पद बन्यो । २०७१ वैशाख ९ गते प्रवेश गरेका गिरी २०७५ असोज १९ गते चौकीदारमा नियुक्त भएका थिए । चौकीदार नियुक्तिलगत्तै उनको नेतृत्वमा मेस सञ्चालन हुन थाल्यो ।

‘क’ ब्लकको भवनमा ठूलो मेस सञ्चालनमा छ । अहिले ६ सय ३० जना बन्दीले त्यही मेसमा खाना खाने गरेका छन् । दीर्घरोगी तथा खाना नखाने बन्दीबाहेक अधिकांशले त्यही मेसमा बिहान–बेलुका खाना खान्छन् । सरकारले कैदीबन्दी तथा पुर्पक्षका लागि राखिएका बन्दीलाई दैनिक ७ सय ग्राम चामल र ६० रुपैयाँ नगद दिन्छ । अधिकांश कैदीले त्यही रासन तथा नगदबाट चौकीदारले सञ्चालन गरेको मेसमा सामूहिक खाना खान्छन् । गिरीकै स्वामित्वमा चिया/खाजा पसल (क्यान्टिन) तथा प्रवेशद्वारभित्र र कारागारभित्र एक/एक वटा किराना पसल पनि सञ्चालनमा छन् ।

गिरीले प्रशासनबाटै स्वीकृति लिएर चौकीदार नियुक्त भएको ५ दिनपछि क्यान्टिन स्थापना गरेका थिए । जेलर अरुण पोखरेलले बन्दीहरूको मागअनुसार नै क्यान्टिन तथा किराना पसल सञ्चालनको अनुमति दिइएको दाबी गरे । उनले भने, ‘हामीले मूल्य निर्धारण र आर्थिक अनियमितता भए/नभएका हेर्छौं, मागअनुसार बाहिरबाट सामान ल्याउन सहजीकरण गर्दिन्छौं, अरू विषय कारागारभित्रको आन्तरिक प्रशासन उनीहरूले नै चलाउँछन् ।’

झगडापछि चौकीदारसहित १४ बर्खास्त, अर्को ब्लकमा सारियो

आइतबार कारागारमा आपसी झगडा भएपछि गिरी जिम्मेवारीबाट बर्खास्त भएका छन् । कैदीबन्दीबीच अनुशासन, आर्थिक खटनपटन, चालचलन अभिलेखलगायत आन्तरिक प्रशासनमा खटिएका अन्य १३ जना पनि जिम्मेवारीबाट बर्खास्त भएका छन् । उनीहरूलाई आइतबारबाटै ‘ख’ ब्लकमा सारिएको छ । आन्तरिक प्रशासनको जिम्मा अर्को व्यवस्था नभएसम्मका लागि पीताम्बर पोखरेल र रामचन्द्र कुशवाह प्यासीको समूहलाई दिइएको जेलर पोखरेलले बताए ।

अस्थायी रूपमा चौकीदारको जिम्मेवारी पाएका पोखरेल भ्रष्टाचार अभियोगमा अदालतबाट दोषी ठहर भएका पूर्वशाखा अधिकृत हुन् भने कुशवाह पहिलो संविधानसभामा तत्कालीन नेकपा एमालेबाट बाराका सभासद हुन् । कुशवाह एमाले बाराका नेता महमुद आलमको हत्या अभियोगमा उच्च अदालत जनकपुरबाट दोषी ठहर भई डिल्लीबजार कारागार आइपुगेका हुन् । डिल्लीबजार आउनुअघि उनी केन्द्रीय कारागारमा थिए । २०७० असोज १८ गतेको हत्या प्रकरणमा जिल्ला अदालत बारा हुँदै उच्च अदालत जनकपुरले २०७६ वैशाख १७ गते कुशवाहलाई १५ वर्ष तीन भारतीयलाई १०/१० वर्ष कैद सजाय सुनाएको थियो । दोषी ठहरपछि बाराबाट केन्द्रीय कारागार ल्याइएका कुशवाह ३ महिनाअघि मात्रै कैदीलाई उक्साएर झगडा गराएको आरोपमा डिल्लीबजार कारागार स्थानान्तरण भएका थिए ।

आइतबारको घटनापछि कारागार व्यवस्थापन विभागले निर्देशक वेदनिधि अधिकारी र शाखा अधिकृत देवर्षी सापकोटा सम्मिलित छानबिन समिति गठन गरेको थियो । समितिले स्थलगत अनुसन्धान गरेलगत्तै गिरीको समूहलाई जिम्मेवारीबाट हटाइएको हो । लकडाउनका कारण कैदीबन्दीमा आर्थिक अभाव देखिएपछि खाजा तथा अन्य सामान उधारो मागेका थिए । तर अब उधारो दिन नसक्ने भनाइ गिरीले राखेपछि विवाद भएको थियो । लकडाउनपछि बन्दीहरूलाई आफन्तले पैसा नपठाएका कारण त्यसको असर आन्तरिक प्रशासन व्यवस्थापनमै परेको जेलर पोखरेलले बताए ।

‘बिहान–बेलुका खाने व्यवस्था त सरकारले गर्छ तर खाजा, चियालगायत अन्य वस्तु किन्नलाई बन्दीसँग पैसा छैन, क्यान्टिन सञ्चालकले पनि बाहिरबाट उधारोमा सामान नदिएका कारण आफूले पनि दिन नसक्ने बताएपछि यो विवाद सिर्जना भएको हो,’ जेलर पोखरेलले भने । विवादका कारण आइतबार उधारो माग्ने शमशेर तामाङको टाउकामा चोट लागेको थियो ।

सम्बन्धित समाचार

जेलभित्र झगडा भएपछि डिल्लीबजार कारागारका ‘चौकीदार’ बर्खास्त

डिल्लीबजार कारागारमा भएको झडपबारे छानबिन गर्न समिति गठन

डिल्लीबजार कारागारमा झडप, एक जना घाइते

प्रकाशित : जेष्ठ १२, २०७७ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?