३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

८ दिनअघि मृत्यु भएका बाराका एक व्यक्तिमा कोरोना पोजिटिभ

रिपोर्ट नआई शव परिवारको जिम्मा, त्यही दिन नै अन्त्येष्टि
भूषण यादव

वीरगन्ज — वीरगन्जमा ८ दिनअघि मृत्यु भइसकेका एक व्यक्तिमा कोरोना भाइरस स‌ंक्रमण देखिएको पुष्टि भएको छ । गत जेठ ४ गते वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रमममा मृत्यु भएका एक व्यक्तिको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो । उनको दाहसंस्कार समेत गरिसकिएको छ ।

८ दिनअघि मृत्यु भएका बाराका एक व्यक्तिमा कोरोना पोजिटिभ

ती वृद्धको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जनाए । उपचारको क्रममा वृद्धको मृत्यु भइसकेको जानकारी नेसनल मेडिकल कलेजले आफूलाई जानकारी नगराएको डा. उपाध्यायले बताए । ‘शंकास्पद देखिएपछि स्वाब लिइएको व्यक्तिको मृत्यु भएको जानकारी हामीलाई गराइएको छैन,’ कान्तिपुरसँग फोनमा डा.उपाध्यायले भने, ‘रिपोर्ट नेगेटिभ नआउन्जेलसम्म प्रत्येक शंकास्पद व्यक्तिलाई हामीले पोजिटिभ नै मानेर व्यवहार गर्नुपर्ने हुन्छ । स्वाब परीक्षणको नतिजा नआइन्जेल शव दिनु हुँदैन्थ्यो ।’

जेठ २ गते करिब साढे एक बजेको समयमा ती वृद्ध मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना भएका थिए । श्वासप्रश्वास, निमोनिया, क्षयरोगलगायतले ग्रस्त भएका ती वृद्ध सिकिस्त भएपछि चिकित्सकले उनलाई आईसीयूमा भर्ना गरे । श्वासप्रश्वास र निमोनिया भएकाले नारायणी अस्पतालबाट भीटीएम मगाएर उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । उपचारकै क्रममा दुई दिनपछि जेठ ४ मा ती वृद्धको मृत्यु भयो । तर, मेडिकल कलेजले ती वृद्धको स्वाब परीक्षण नतिजा नआउँदै शव परिवारको जिम्मा लगाएको थियो ।

नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक बसरुद्दीन अन्सारीले जेठ २ मा संकलन गरी परीक्षणका लागि पठाइएको स्वाबको नतिजा १० दिनपछि आएको बताए । ‘ती वृद्ध एकदम सिकिस्त थिए, अस्पतालमा आउनेबित्तिकै भेन्टिलेटरमा राखिएको थियो,’ कान्तिपुरसँग फोनमा उनले भने, ‘जेठ ४ मा उनको मृत्यु भयो, यत्रो दिन शव कहाँ राख्ने ?’ नारायणी अस्पतालकै प्रयोगशालामा स्वाबको रिपोर्ट शंकास्पद आएको जानकारी पाएको भए आफूहरुले शव परिवारको जिम्मा नलगाउने उनले बताए । स्रोतका अनुसार नारायणी अस्पतालबाट ती वृद्धको स्वाब परीक्षणमा शंकास्पद नतिजा देखिएको खबर आउनुअघि नै शव परिवारको जिम्मा लगाइसकिएको थियो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायका अनुसार २ गते मेडिकल कलेजबाट आएको ती वृद्धको स्वाब जेठ ४ गते नारायणीको प्रयोगशालामा परीक्षण गरिएको थियो । ‘त्यसदिन रिपोर्ट शंकास्पद आएपछि दोस्रो पटक जेठ ५ मा पनि परीक्षण गरिएका थियो,’ उपाध्यायले भने, ‘दुई पटकको परीक्षणमा रिपोर्ट शंकास्पद आएपछि त्यसलाई रि–कन्फर्म गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएका थियौं ।’ उनका अनुसार टेकुको प्रयोगशलामा समेत उक्त स्वाब दुई पटक परीक्षण गरिएको थियो । ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलामा दुई पटकको परीक्षणमा उक्त स्वाब कोभिड–१९ पोजिटिभ पुष्टि भएको जानकारी आएको छ,’ डा. उपाध्यायले भने ।

अस्पतालसँग समन्वय नै नगरी मेडिकल कलेजले मृतकको शव परिवारलाई जिम्मा लगाएको डा. उपाध्याले बताए । ‘शंका लागेर स्वाब परीक्षणका लागि पठाइसकेपछि नतिजा कुर्नु पर्थ्यो,’ उनले भने, ‘हामीसँग समन्वय गरेका छैनन् ।’ सम्बद्ध स्रोतका अनुसार नारायणी अस्पतालकै प्रयोगशालाबाट रिपोर्ट शंकास्पद देखिएको जानकारी आएपछि मृतकको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी नेसनल मेडिकल कलेजमै सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा‍. समिरकुमार अधिकारीले भने यसबारे पूर्ण विवरण आइनसकेको बताए । उनले भने, 'यसबारे विवरण संकलन गर्दैछौं । एकछिनमा सबै थाहा होला । अहिले म पुष्टि नै गर्न सक्ने अवस्थामा चाहिँ छैन ।'

प्रकाशित : जेष्ठ १२, २०७७ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?