कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

जाजरकोटका चार युवा रुकुममा अझै बेपत्ता

हामी फर्किइसकेपछि ढुंगामुडा गरे : घाइते
भीमबहादुर सिंह

जाजरकोट — कथित तल्लो जातको युवाले माथिल्लो जातकी युवती भगाउन खोजेको भन्दै पश्चिम रुकुमको चौरहजारी नगरपालिका सोतीमा शनिबार राति भएको घटनामा बेपत्ता भएका चार जना युवा अझै फेला परेका छैनन् । प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका-४ का २१ वर्षिय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना युवा आएका थिए ।

जाजरकोटका चार युवा रुकुममा अझै बेपत्ता

सोतीमा गाउँलेले आक्रमण गर्दा नवराज र चौरहजारीका टिकाराम सुनारको मृत्यु भएको थियो । दुवैको शव आइतबार भेटिएको थियो । भेरी नगरपालिकाका गणेश बुढामगर, सन्जु बिक, गोविन्द शाही र लोकेन्द्र सुनार शनिबारदेखि बेपत्ता छन् ।

पश्चिम रुकुमका प्रमुख जिल्ला अधिकार उपेन्द्रराज पौड्यालले प्रहरीले उनीहरुको खोजी गरिररहेको बताए । 'प्रहरीले खोजी गरिररहेको छ । उनीहरुको कुनै पत्तो लागेको छैन । भागेर कतै पुगे वा आफ्नै घर पुगे अथवा नदिले बगायो भनेर भन्न सक्ने अवस्था छैन । हामी निष्पक्ष रुपमा छानविन गरिरहेका छौं,' प्रजिअ पौड्यालले भने । घटनामा संलग्न चौरहजारी सोतीका सात जनालाई पक्राउ गरिएको पनि उनले बताए । यो घटना जातीय विभेदको घटना हो होइन भनेरचाहिँ अनुसन्धान पूरा भएपछिमात्र भन्न सकिने उनले बताए ।

तर, घटनाका घाइतेहरुले भने जातीय भेदभावका कारण घटना भएको बताएका छन् । घटनाका घाइते आशिष विक र सरोज भँडेलले आफूहरु सोती पुगेदेखि नै जातीय विभेदकारी गालीगलौज गर्दै ढुंगामुडा गरेको कान्तिपुरलाई बताएका छन् ।

'हामीलाई देख्ने बित्तिकै केटीकी आमाले यो डुमहरु कुटाइ नपुगेर फेरि आएको भन्दै गाली गर्न थालिन् । उनले हामीलाई बेसरी गाली गर्न थालेपछि हामी फर्किएका थियौं । फर्किइसकेपछि गाउँलेहरु ढुंगामुडा गर्दै आए । हामी फर्किइसकेका थियौं । तर उनीहरुले लखेट्न थाले । हामी भाग्यौं । कोही कता कोही कता भयौं । कतिजना भेरी नदीमा हाम्फाल्यौं,' सरोज भँडेलले भने । उनले नवराज विकलाई मारेरै भेरीमा फालिएको बताए ।

भेरीका १९ जना युवा नवराजकी प्रेमिका सोतीकी मल्ल थरकी १७ वर्षिय युवतीलाई भगाउन भनी गएका थिए । त्यसमध्ये दुईजनाको यो घटनामा ज्यान गएको छ भने चारजना बेपत्ता छन् । १२ जना घाइते छन् ।

प्रकाशित : जेष्ठ १२, २०७७ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?