कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्य मन्त्रालयको कोरोना संक्रमित विवरणमा त्रुटि नै त्रुटि

मन्त्रालयले उल्लेख गरेको पालिका र वार्ड नम्बर समेत फरक पर्दा प्रहरी र स्थानीय बासिन्दा अन्योलमा परेका छन् ।
लक्ष्मी साह

बारा — कोरोना संक्रमितको आधिकारिक विवरण सार्वननिक गर्दै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितहरुको ठेगाना उल्लेख गर्दा त्रुटि गरिरहेको पाइएको छ । विभिन्न प्रयोगशालामा स्वाब परीक्षण भएका रिपोर्ट सार्वजनिक गर्ने क्रममा बाराका संक्रमितको ठेगाना मन्त्रालयले फरक-फरक प्रवाह गरेको हो । यस्तो त्रुटिले स्थानीय प्रशासन र प्रहरी, सञ्चारकर्मी, जनप्रतिनिधि लगायतमा अन्योल भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयको कोरोना संक्रमित विवरणमा त्रुटि नै त्रुटि

स्वाब संकलनको रिपोर्टसमेत ढिला गरी सार्वजनिक गरिँदा सरोकारवालामा अन्योल पैदा गरेको छ । सोमबारमात्र मन्त्रालयले जारी गरेको दुई वटा प्रेस विज्ञप्तिमा संक्रमितको ठेगाना फरक उल्लेख गरिएको छ । यस्तो विवरण तत्कालै सामाजिक सञ्जालमा पोस्ट हुँदा झनै समस्या भइरहेको सरोकारवालाहरु बताउँछन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंबाट परीक्षण भई कोरोना पोजेटिभ रिपोर्टबारे मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा बाराको कलैया नगरपालिका र कोटवाली–१ का २५ र ३२ वर्षीय संक्रमित भएको उल्लेख छ । तर यो ठेगाना बारामा कतै छैन । ‘मन्त्रालयले उल्लेख गरेको ठाउँ बारामा कतै छैन, सम्बन्धित ठाउँमा प्रहरी परिचालन गरेर बुझ्दासमेत हैरानी खेप्नुपरिरहेको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी गौतम मिश्रले भने, ‘रिपोर्ट सार्वजनिक भएलगत्तै ती ठाउँबारे पत्ता लगाउने प्रयास गर्‍यौं तर भेटिएन ।’

कोतवाली भन्ने ठाउँ रहे पनि त्यो आदर्शकोतवाल गाउँपालिकाअन्तर्गत पर्छ । उल्लेख गरिएको वडामा संक्रमित नै नरहेको उनले बताए । यसैगरी मन्त्रालयको विवरणमा बारा गढीमाई नगरपालिकाकामा २१ जना संक्रमित भनेर उल्लेख गरिएको छ । तर जिल्लामा गढीमाई नभएर महागढीमाई नगरपालिका रहेको छ । गढीमाई रौतहटमा पर्छ ।

‘मन्त्रालयको विवरणले हामी अन्योलमा पर्‍यौं,' महागढीमाई नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत विजय कुसवाहाले भने, ‘पछि प्रयोगशालामा फोन गरेर परीक्षणका लागि स्वाब दिएका व्यक्तिहरुको नाम भिडाउँदा बाराको हाम्रै महागढीमाई नगरपालिका रहेछ । केहीबेर सबैमा तनाव भयो, ‘भेरीफाई’पछि मात्रै अन्योल हट्यो ।’

यस्तै, मन्त्रालयले सोमबार नै विज्ञप्ति जारी गरी कोरोना संक्रमणले मृत्यु भएका बाराका ७० वर्षीय वृद्धको ठेगानामा कलैया–७ उल्लेख गरेको छ । तर मृतकको वास्तविक ठेगाना त्यो होइन । मृतकको वास्तविक ठेगाना बाराको करैयामाई गाउँपालिका–७ उम्जन हो । जसलाई प्रहरीले सोमबार सिल गरिसकेको छ ।

गत जेठ २ गते नै परीक्षणका लागि उनको स्वाब लिइएको थियो । उनको मृत्यु भएको ८ दिनपछि रिपोर्ट सार्वजनिक भएको हो । गत जेठ ४ गते वीरगन्जको नेसनल मेडिकल कलेजमा उनको मृत्यु भएको थियो ।

मन्त्रालयको विज्ञप्ति


प्रकाशित : जेष्ठ १२, २०७७ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?