कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

आलोचकमाथि प्रधानमन्त्रीको टिप्पणी- 'गैरजिम्मेवार तत्वहरुको बहकाउबाट सतर्क रहौं'

विभिन्न पक्षलाई समेटेर परामर्शदातृ संयन्त्र बनाउने

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एकपटक आलोचकमाथि प्रश्न उठाएका छन् । सोमबार सम्पूर्णरुपमा कोरोना केन्द्रित सम्बोधन गरे पनि प्रधानमन्त्री ओलीले दुई ठाउँमा आलोचकमाथि टिप्पणी गरेका हुन् ।

आलोचकमाथि प्रधानमन्त्रीको टिप्पणी- 'गैरजिम्मेवार तत्वहरुको बहकाउबाट सतर्क रहौं'

‘कुनै पनि विषयले कोरोना विरुद्धको जारी ‘युद्ध’लाई कमजोर पार्न हुन्न भन्नेमा म स्पष्ट छु । मैले पहिले पनि भनेको छु, मानिसका लागि जीवन पहिलो कुरा हो । रोग वा भोक केहीबाट पनि हाम्रा देशवासीको जीवन जोखिममा पर्न नदिन सरकार हदैसम्म प्रयत्नशील रहन्छ । यस कार्यमा सरकार सबै देशवासीबाट आजसम्म प्राप्त सहयोगका लागि आभारी छ र आगामी दिनमा थप रचनात्मक सहयोगको अपेक्षा पनि गर्दछ ', प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अप्ठ्यारो बेलामा केही तत्वहरु जनतामा भ्रम फिँजाएर आफ्ना अलग स्वार्थ र उद्देश्यहरु पूरा गर्न सक्रिय हुन सक्दछन् । यसरी जनतालाई भ्रमित गर्दै समाजमा असन्तोष फैलाउन उद्दत गैरजिम्मेवार तत्वहरुको बहकाउबाट सतर्क रहन समेत आह्वान गर्दछु ।’

यो सँगै प्रधानमन्त्रीले कोरोनासँग लड्न सकारात्मक सोच राख्न आग्रह गरेका छन् । ‘मैले पहिले पनि चर्चा गरेको छु–चुनौतीको सामान गर्ने, लडेको ठाउँबाट धूलो टक्टक्याउँदै उठ्ने र अघि बढ्ने नेपालीको चरित्र हो । हाम्रो आनीबानी र खानपिन ठीक हुँदा हामी जोगिन्छौं र कोरोनालाई पराजित गर्न सक्छौं । त्यसैले, सकारात्मक सोच राखौं’ प्रधानमन्त्रीको सम्बोधनमा छ ।

कोरोना महामारीबाट जनतालाई मुक्त गर्ने, यसबाट सिर्जित संकटबाट मुलुकको अर्थतन्त्रलाई रक्षा गर्ने र रोग तथा भोकबाट आफ्ना जनतालाई जोगाउने कामलाई सरकारले आफ्नो प्रमुख दायित्व ठानेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन अस्वीकार गर्दै आए पनि अब भने महामारी विरुद्धको लडाइँमा कुनै न कुनै रुपमा संलग्न विभिन्न पक्षलाई समेत समेटेर एउटा परामर्शदातृ संयन्त्र बनाइने बताएका छन् । उनले भनेका छन्, ‘कोरोना महामारीविरुद्ध एकीकृत ‘कमाण्ड’एवं केन्द्रीय योजनालाई थप प्रभावकारी बनाइने छ । संघ, प्रदेश र स्थानीय तहबीच कोरोना संक्रमण, रोकथाम र नियन्त्रणका क्षेत्रमा जिवन्त सूचना संवाद तथा प्रभावकारी समन्वयका लागि तीनवटै तहमा सम्पर्क व्यक्ति वा निकाय तोकी विद्यमान संस्थागत व्यवस्थालाई अझ चुस्त तुल्याइनेछ ।

फैलिँदो महामारीप्रति चासो राख्ने र यस महामारी विरुद्धको लडाइँमा कुनै न कुनै रुपमा संलग्न विभिन्न पक्षलाई समेत समेटेर एउटा परामर्शदातृ संयन्त्र छिट्टै घोषणा गरिने छ ।’

प्रकाशित : जेष्ठ १२, २०७७ २२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?