१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘भारतले बंगलादेशसँग सीमा विवाद समाधान गर्न सक्दा नेपालसँग किन सक्दैन ?’

‘सीमा विवादमा सुझबुझ देखाउनु नै हितकर’

नयाँदिल्ली — नेपाल–भारत मामिलाका जानकारहरुले सीमा विवादलाई दुवै पक्षले सुझबुझ देखाएर वार्ताका माध्यमबाटै समाधान खोज्नु नै दुवै मुलुकका लागि हितकर हुने सुझाव दिएका छन् ।

‘भारतले बंगलादेशसँग सीमा विवाद समाधान गर्न सक्दा नेपालसँग किन सक्दैन ?’

काठमाडौंस्थित थिंकट्यांक नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेशन एण्ड इन्गेजमेन्ट (एनआईआईसीई) ले आइतबार साँझ गरेको वेबनारका सहभागीहरुले नेपाल र भारतका आ–आफ्ना दाबी र प्रमाणलाई राखेर वार्ताका माध्यमबाट सुझबुझ ढंगले विवाद टुंग्याउनु पर्ने धारणा राखेका हुन् ।

वेबनारमा एक सहभागी वरिष्ठ पत्रकार तथा काठमाडौंस्थित थिंकट्यांक आईआईडीएसका सिनियर फेलो अखिलेश उपाध्यायले नेपाल र भारतबीचको सम्बन्ध जति घनिष्ठ छ त्यत्तिकै जटिल भएकाले दुई देशबीचको सम्बन्धको राजनीतिक आयामका बारेमा विशेष ख्याल राख्नुपर्ने बताए । अन्यथा दुई मुलुकले गम्भीर परिणामहरु बेहोर्नुपर्ने चेतावनी पनि उनले दिए । साथै उनले भारतले बंग्लादेशसँग सीमा समाधान गरेको प्रसंग उल्लेख गर्दै नेपाल पनि उसको निकट र महत्वपूर्ण छिमेकी भएकाले सीमालगायत विवाद समाधानका सम्भावना सँधै रहेको धारणा राखे । ‘भारतले बंग्लादेशसँग सीमा समाधान गर्न सक्छ भने नेपालसँग किन सक्दैन ? जबकि भारतका लागि नेपाल पनि झन् बढी निकट र महत्वपूर्ण छिमेकी हो,’ उपाध्यायले भने । तर, शक्तिराष्ट्र बन्ने महात्वाकांक्षा पालेको भारतले आफ्ना छिमेकीहरुको बढ्दो आकांक्षाको पनि सम्मान गरेको खण्डमा तनावको सम्भावना नरहने धारणा पनि उपाध्यायको थियो । साथै उनले पछिल्लो सीमा विवादलाई पनि राजनीतिक तहबाटै समाधान गर्नका लागि उच्च राजनीतिक तहले सुझबुझ र विवेक देखाउनुपर्ने सुझाव दिए ।

त्यसैगरी बु्रकिङ इण्डियाका कन्स्ट्यान्टिनो जेभियरले अहिलेको तनावलाई चाँडैभन्दा चाँडै कम गर्नुपर्ने र त्यसपछि वार्तामा बस्नुपर्ने बताए । ‘अहिलेको अवस्थामा दुवै पक्ष वार्तामा बस्न सक्दैनन् । यो तनाव लामो समयसम्म रह्यो भने दुई देशबीचको सम्बन्धमा दीर्घकालीन असर पार्नेछ । योचाहिँ चिन्ताजनक हो,’ उनले भने । साथै उनले नागरिक र बौद्धिक वर्गको पहलमा सीमालगायतका विवादमा दीर्घकालीन समाधान खोज्ने सकिने धारणा छ । त्यसैगरी आवश्यक परेको खण्डमा दुई देशबीचको विवाद अन्त्यका लागि जापान, दक्षिण कोरिया, अष्ट्रेलियालगायतका मुलुकले पनि सकारात्मक भूमिका खेल्न सक्ने उनको जिकिर थियो । तर, त्यसका लागि दूरदर्शिता र उदारता देखाउनुपर्ने जेभियरले बताए । ‘यो एकदम कठिन परिस्थित हो , किनभने न नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कमजोर देखाउन चाहन्छन् । न त भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले । त्यसैले दुवै पक्षले विवाद समाधानका लागि उदारता र दूरदर्शिता देखाउनुको विकल्प छैन,’ उनले भने ।

नेपाल र भारतसम्बन्धलाई दशकौंदेखि नजिकबाट नियाल्दै आएका प्राध्यापक एसडी मुनिले सीमा विवाद ब्रिटिस भारतकै समय देखिएकाले यसलाई भारतले नेपाली जग्गा अतिक्रमण गरेको हिसाबले बुझ्न नहुने दाबी गरे । भारत र चीनबीच पछिल्लो समय तीव्र प्रतिस्पर्धा चलिरहेकाले नेपाल र भारतबीचको मुद्दामा चीन आउनु स्वाभाविक भएको मुनिको जिकिर थियो ।

नेपालका लागि भारतका पूर्व राजदूत रन्जित रेले भने नेपाल र भारतले सम्बन्धलाई कसरी अगाडि बढाउने सम्बन्धमा दीर्घकालीन दृष्टिकोण राख्नुपर्ने बेला आएको बताए । साथै नेपालले विवादित क्षेत्रको दाबी गर्न प्रमाणहरु तयार पारेको छ र भारतसँग पनि प्रमाण भएकाले अब दुवै पक्षले बसेर यस मुद्दालाई सुमुधुर ढंगले समाधान गर्नुको विकल्प नभएको पूर्वराजदूत रेको भनाइ थियो । ‘नेपालले नक्सा परिवर्तन गरेर परिस्थिति केही जटिल बनाएकाले समस्या समाधानका लागि शान्त र अनुकूल वातावरणको खाँचो छ,’ रेले भने ।

यसैगरी त्रिभुवन विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागकी सहायक प्राध्यायक अपेक्षा शाहले यस किसिमका विवादका समाधानका लागि प्रबुद्ध समूह जस्ता सयन्त्रले सकारात्मक भूमिका खेल्न सक्ने धारणा राखिन् । वेबनारको सञ्चालन पीएचडीसीसीआई नेपाल–भारत केन्द्रका संयोजक अतुल ठाकुरले गरेका थिए ।

प्रकाशित : जेष्ठ १३, २०७७ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?