१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणको दौडमा को-को छन् ?

काठमाडौँ — विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९) विरुद्धको खोप र औषधि निर्माणमा विश्वका विभिन्न देशका वैज्ञानिकहरु रातदिन खटिरहेका छन् । आधा करोडभन्दा बढी संक्रमित र ३ लाख ५० हजारभन्दा बढीको मृत्यु भइसकेको अवस्थामा हालसम्म एक सयभन्दा बढी कोरोना भाइरसविरुद्धका खोपहरु पाइपलाइनमा रहेका छन्

कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणको दौडमा को-को छन् ?

त्यसमध्ये एक दर्जनजति खोपहरु मानिसमा परीक्षण गरिएका छन् तर कुन खोपले कोभिडलाई निर्मूल पार्न सकिन्छ त्यो यकिन भइसकेको छैन ।

बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन् भने अरु औषधि कम्पनीले पनि ट्रायल गरिरहेका छन् ।

गाभी भ्याक्सिन अलायन्सले यही शरद ऋतुसम्म कोरोना भाइरसविरुद्धको खोपहरु उपलब्ध हुने बताएको छ । गाभीका प्रमुख सेथ बर्कलले कुन भ्याक्सिनले काम गर्छ भन्ने थाहा नभइसके पनि प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनी भन्छन्, ‘खोपको विकासका लागि हरेक देशले आफूले गरेको उपलब्धिका बारेमा एक अर्कालाई जानकारी गराउनुपर्छ ।’ उनले विश्व स्वास्थ्य संगठनलाई खोपको प्रयोग र वितरणसम्बन्धी स्पष्ट गाइलाडन बनाउन आग्रह गरेका छन् ताकि आवश्यकता भएका व्यक्तिलाई छिटो पुगोस् ।

विश्व स्वास्थ्‍य संगठनले सूचीमा राखेको मानवमा परीक्षण गरिएका केही कोरोनाविरुद्धका खोपहरु

  • नन रेप्लिकेटिङ भाइरल भेक्टर भ्याक्सिन –क्यान्सिनो, (चीन)
  • आरएनए भ्याक्सिन – मोर्डना, अमेरिका)
  • इनएक्टिभेटेड भ्याक्सिन –वुहान इन्स्टिच्युट अफ बाइलोजिकल प्रोडक्टस्(चीन)
  • इनएक्टिभेटेड भ्याक्सिन – बेइजिङ इन्स्टिच्युट अफ बाइलोजिकल प्रोडक्ट्स (चीन)
  • इनएक्टिभेटेड भ्याक्सिन –सिनोभ्याक(चीन)
  • नन रेप्लिकेटिङ भाइरल भेक्टर भ्याक्सिन – अक्सफोर्ड युनिभर्सिटी र आस्टराजेनेका –बेलायत)
  • प्रोटिन सबयुनिट भ्याक्सिन – नोभाभ्याक्स( अमेरिका)
  • आरएनए भ्याक्सिन –बायो एन टेक र पिफिजर(जर्मनी र अमेरिका)
  • डीएनए भ्याक्सिन –इनभियो अमेरिका)

अमेरिकन बायोटेक कम्पनी मोर्डनाको खोप कोरोनाविरुद्ध मानवमा परीक्षण हुने पहिलो खोप हो । दुई महिनाअघि पहिलो ट्रायलमा ४५ जना स्वास्थ व्यक्तिमा परीक्षण गरिएको थियो । उक्त खोप सुरक्षित रुपमा कोरोना भाइरसविरुद्ध प्रभावकारी देखिएको कम्पनीले दाबी गरेका छन् ।

उक्त खोपमा वास्तविक कोरोना भाइरसको कुनै मात्रा नरहेको तर भाइरसबाटै लिइएका हानी नहुने खालका जेनेटिक कोड भने हुने बताइएको छ ।

पहिलो चरणमा बिरामीको कोषलाई कोरोना भाइरस संक्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक पर्ने प्रोटिन उत्पादनका लागि सक्रिय बनाउने वैज्ञानिकको योजना छ । खोपले काम गरेको छ कि छैन भन्नको लागि अरु खोपका दाबेदार जस्तै मोर्डनाको खोपले पनि फेज २ का साथै फेज ३ को क्लिनिकल ट्रायल पनि गर्नुपर्ने हुन्छ ।

त्यसैगरी अरु दुई वटा जेनेटिक खोपहरु मानवमा परीक्षण भएका छन् । एक अमेरिकन बायोटेक कम्पनी इनभायोले आविष्कार गरेको हो भने अर्को फर्मास्युटिकल जायन्ट फाइजर र जर्मन कम्पनी बायोएन टेकले संयुक्त रुपमा निर्माण गरेका हुन् । इनभायोले पहिलो फेजकोे ट्रायलमा ४० जनामा परीक्षण गरेको छ जसको परिणाम जुनमा आउने बताइएको छ ।

कोरोनाविरुद्धको खोप सफल भएको दाबी

त्यसैगरी फाइजरले भने आफूले निर्माण गरेको आरएनए खोप अमेरिकामा पहिलो र दोस्रो फेजको ट्रायलका लागि ३६० स्वयंसेवकहरुका लागि पठाएको बताएको छ । यदि यो खोप सुरक्षित र लाभदायक रह्यो भने यो वर्षको अन्तिमसम्म अमेरिकामा खोप वितरण गर्ने कम्पनीले जनाएको छ ।

आरएमआइर्टी युनिभर्सिर्टीका भाइस चान्सलरका रिसर्च फेलोको रुपमा रहेका काइली क्वीनका अनुसार जनेटिक भ्याक्सिनहरु सामान्यतया सजिलो र उत्पादनका लागि कम खर्चिलो हुने गर्छन् ।

अक्सफोर्ड विश्वविद्यालयले खोपको परीक्षण अप्रिल २३ मा करिब एक हजार जनामा पहिलो चरणको परीक्षण गरेको थियो । त्यसका साथै विश्वविद्यालयले दोस्रो चरणको परीक्षणका लागि बेलायतका १० हजार २ सय ६० जना स्वास्थ्य स्वयंसेवकलाई आह्वानसमेत गरेको छ ।

अध्ययनकर्ताका अनुसार मे महिनाको अन्तिमसम्म यो खोप ६ हजारभन्दा बढी मानिसमा परीक्षण गरिनेछ । यदि यी परीक्षण सफल भए भने सेप्टेम्बरसम्म लाखौँ डोज उत्पादन गर्न सकिनेछ । विज्ञहरुले यो खोपको परीक्षणले राम्रो संकेत दिएको बताएका छन् ।

त्यसैगरी चीनको क्यान्सिनो बायोलोजिक्स इनकर्पोरेसनले पनि कोरोना भाइरसविरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको जनाएको छ । क्यान्सिनोले पहिलो चरणमा १८ देखि ६० वर्षका १ सय ८ जनामा परीक्षण गरेको थियो । यी दुवै भाइरल भेक्टर भ्याक्सिनहरु हुन् ।

त्यसैगरी इनएक्टिभेटेड भ्याक्सिनहरु पनि निर्माण भएका छन् । यो खोप पुरानो प्रविधिको भ्याक्सिन हो यसमा भाइरस हुन्छ जसलाई अल्ट्राभ्वाइलेट लाइट र केमिकलले मार्छ ।

त्यसैगरी प्रोटिन भ्याक्सिनरु पनि उत्पादन भएका छन् र सबै खोपका आफ्ना आफ्ना विशेषता तथा बेफाइदा रहेका छन् । कुनै पनि भ्याक्सिन शतप्रतिशत लाभदायक हुन नसक्ने वैज्ञानिक हरु बताउँछन् ।

कोरोना भाइरसको संक्रमण तीव्र रुपले बढिरहेका बेला यसविरुद्धको खोप निर्माणको दौडमा रहेका देशहरु सहकार्य गरेर अघि बढेमा छिटो सफलता हात पर्ने सम्भावना रहेको छ ।

-एजेन्सीहरुको सहयोगमा

प्रकाशित : जेष्ठ १३, २०७७ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?