कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कोरोना संक्रमितमा हाइड्रोक्सिक्लोरोक्विनको परीक्षण रोक्ने डब्लूएचओको निर्णय

काठमाडौँ — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले कोरोना भाइरस संक्रमितको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन(मलेरियाको औषधि) को चिकित्सकीय परीक्षण(क्लिनिकल ट्रायल) माथि अस्थायी रुपमा रोक लगाउने निर्णय गरेको छ । 

कोरोना संक्रमितमा हाइड्रोक्सिक्लोरोक्विनको परीक्षण रोक्ने डब्लूएचओको निर्णय

डब्लूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एडहानोम गेहब्रेयससले सोमबार यो औषधिको सुरक्षित प्रयोगबारे डेटा सेफ्टी मोनिटरिङ बोर्डले अध्ययन गरिरहेको बताए । त्यस्तै उनले विश्वका विभिन्न देशमा भइरहेको हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगका बारेमा पनि बृहत् रुपमा विश्लेषण गर्ने उनले बताए ।

आम रुपमा हाइड्रोक्सोक्लोरोक्विनको प्रयोग मलेरिया र लुपसका बिरामीलाई प्रयोग गरिने पनि महानिर्देशक ट्रेडोसले बताए । हालै मात्रै साइन्स जर्नल ल्यान्सेटमा प्रकाशित एक अध्ययनको उदाहरण दिँदै ट्रेडोसले हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगका कारण कोरोना संक्रमितको मृत्यु हुने सम्भावना बढी हुने पनि बताए ।

ल्यान्सेटको रिपोर्ट प्रकाशित भएसँगै शनिबार डब्लूएचओको सोलिडारिटी ट्रायल(डब्लूएचओको निगरानीमा भइरहेको कोभिड–१९ को क्लिनिकल ट्रायल) को कार्यकारिणी समूहको बैठक बसेको थियो । १० देश सदस्य रहेको यो समूहको बैठकले हाइड्रोक्सिक्लोरोक्विनको क्लिनिकल ट्रायल अस्थायी रुपमा रोक्ने निर्णय गरेको हो ।

चिकित्सकहरुको सल्लाहलाई नकार्दै ट्रम्पले हाइड्रोक्सिक्लोरोक्विन प्रयोग गर्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट बच्न आफूले मलेरियाको औषधि ‘हाइड्रोक्सिक्लोरोक्विन’ खाइरहेको बताएका थिए । उनले अमेरिकी नागरिकलाई पनि कोरोनाबाट बच्न यही औषधि खान आग्रह गरेका थिए । फिजिसियनले झैं उनले यसको कुनै ‘साइड इफेक्ट’ पनि नगर्ने बताउँदै आएका छन् ।

तर मेडिकल जर्नल ल्यान्सेटका लागि हाभर्ड मेडिकल स्कुलका प्रोफेसर मन्दीप आर मेहरा नेतृत्वको टिमले गरेको अध्ययनमा कोरोना भाइरस संक्रमितको उपचारका लागि ‘हाइड्रोक्सिक्लोरोक्विन’ प्रयोग गरिएको ठाउँमा संक्रमितको मृत्यु हुने सम्भवाना भएको देखाइएको छ । मलेरियाका बिरामीका लागि प्रयोग गरिने यस औषधिले कोरोनाका बिरामीलाई कुनै फाइदा नगरेको अध्ययनले पत्ता लगाएको छ । चिकित्सकहरुले यो औषधि सेवनका कारण मुटुसम्बन्धी समस्या बढ्न सक्ने चेतावनी दिए पनि राष्ट्रपति ट्रम्पले आफूले प्रयोग गरिरहेको बताएका थिए । उनले चिकित्सकहरुको अध्ययनलाई उपेक्षा गर्दै उक्त औषधि प्रयोग गर्न प्रोत्साहित गरिरहेका छन् ।

हाइड्रोक्सिक्लोरोक्विन मलेरियाका रोगीका लागि भने सुरक्षित छ । त्यस्तै लुपस,आर्थाइटिस रोगका लागि पनि फाइदाजनक हुने अध्ययनले बताएको छ । तर कोरोना संक्रमितका लागि कुनै पनि क्लिनिकल ट्रायलले हाइड्रोक्सिक्लोरोक्विन सिफारिस गरेको छैन ।

‘द ल्यान्सेट’ को अध्ययनमा कोरोना भाइरसबाट संक्रमित ९६ हजार व्यक्तिलाई सहभागी गराइएको थियो । त्यसमध्ये १५ हजारलाई हाइड्रोक्सिक्लोक्विन वा योसँग मिल्दोजुल्दो क्लोरोक्विन दिइएको पाइयो । केहीलाई एन्टिबायोटिकका साथ यो औषधि दिइएको पाइयो भने केहीलाई यही मात्रै ।

अध्ययनमा अरु संक्रमितको तुलनामा क्लोरोक्विन खाने संक्रमितको अस्पतालमा धेरै मृत्यु भएको पाइयो । त्यस्तै उनीहरुमा मुटुसम्बन्धी समस्या पनि देखियो । हाइड्रोक्सिक्लोरोक्विन दिइएका बिरामीमा मृत्युदर १८ प्रतिशत देखियो भने क्लोरोक्विन प्रयोग गर्नेहरुमा १६.४ प्रतिशत । त्यस्तै यो औषधि नदिएकाहरुमा मृत्युदर ९ प्रतिशत मात्रै थियो । अध्ययनले हाइड्रोक्सिक्लोरोक्विन वा एन्टिबायोटिकका साथ क्लोरोक्विन दिएर उपचार गरिएका बिरामीहरुमा मृत्युदर बढी भएको देखायो ।

अनुसन्धानकर्ताहरुले क्लिनिकल ट्रायलबिना हाइड्रोक्सिक्लोरोक्विन प्रयोग गर्नु खतरा भएको बताएका छन् ।

-एजेन्सीहरुको सहयोगमा

प्रकाशित : जेष्ठ १३, २०७७ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?