कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

दलित युवकको हत्याबारे कांग्रेसद्वारा संसदीय छानबिन समिति गठनको माग

काठमाडौँ — रुकुम पश्चिममा दलित युवाको हत्या भएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले संसदका दुवै सदनमा संसदीय छानबिन समिति गठनको माग उठाएको छ । 

दलित युवकको हत्याबारे कांग्रेसद्वारा संसदीय छानबिन समिति गठनको माग

जेठ १० गते भएको उक्त घटनाबारे छानबिन गर्नका लागि कांग्रेसले मंगलबार बसेका दुवै प्रतिनिधि सभा र राष्ट्रियसभा दुवैमा समिति गठन गर्न माग गरेको हो । कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले प्रतिनिधिसभाबाट घटनाको छानबिन गर्नका लागि समिति गठन गर्न माग गरेका थिए । उनले घटनाको सत्यतथ्य छानबिन गर्न र कुनै प्रभावबिना दोषीलाई कारबाही गर्नका लागि माग गरेका थिए ।

सांसद विश्वकर्माले राजनीतिक दबाब र प्रभावमा जिल्ला प्रशासन कार्यालय परेको भन्दै घटनामा संलग्न भनी पक्राउ गरेका मानिसलाई राजनीतिक पहुँचको आधारमा छोड्ने काम नगर्न सरकारको ध्याननाकर्षण गराएका थिए । उनले मुलुककै इतिहासमा त्रासदीपूर्ण र कहालीलाग्दो जातीय दुर्घटना भएको भन्दै छुवाछुतमुक्त राष्ट्र घोषणा गरी बेपत्ताको छानबिन गरी मृतकका परिवारलाई राहतको व्यवस्था गर्न पनि उनले माग गरेका छन् ।

सांसद पार्वतीकुमारी विशुंखेले कानुन बनेर व्यवस्था परिर्वतन भएपनि जातीय विभेदको बर्बरताको अन्त्य हुन नसकेको भन्दै त्यसको अन्त्यका लागि सरकारले के गरिरहेको छ भनी गृहमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् । प्रेमलाई वैवाहिक सम्बन्धमा रुपान्तरण गर्ने सपना बोकेर प्रेमिका लिन पुगेका जाजरकोटका नवराज विकसहित ३ जनाले ज्यान गुमाएको तथा अन्य ३ जना अझै बेपत्ता भएको भन्दै जातका कारणले मारिने क्रम कहिलेसम्म हो भनी प्रश्न गरेकी थिइन् ।

सांसद प्रकाश रसाइलीले पनि उक्त घटनाको छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गरेका थिए । उनले रुकुम र जाजरकोटका सांसदहरूको सहभागितामा छानबिन समिति गठनको माग गरेका हुन् । उनले त्यहाँका प्रशासन प्रमुखको भूमिकामाथि पनि प्रश्न गरेका थिए । त्यस्तै, वडाअध्यक्षको संलग्नता रहेकोमा पनि सांसदहरूले आपत्ति जनाउँदै कडा कारबाहीको माग गरेका छन् ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले पनि संसदीय छानबिन समिति गठन गर्नु जरुरी रहेको बताए । ती युवाहरूलाई सांघातिक हमला गरेर नदीमा जान बाध्य पारिएको हो त्यसैले संसदीय छानबिन समिति गठन गर्न जरुरी छ ।

नेकपाका सांसदहरूले घटनाको छानबिन गर्नका लागि सरकारसँग गरेका छन् । उनीहरूले सरकारले उक्त घटनाबारे गम्भीर छानबिन गर्नका लागि माग गरेका छन् ।

गृहमन्त्री रामबहादुर थापाले भने उक्त घटनाको छानबिन गर्नका लागि ५ सदस्यीय समिति गठन भइसकेको जानकारी दिएका छन् । उनले राष्ट्रियसभामा पनि उक्त जानकारी दिएका थिए ।

सम्बन्धित समाचारः

प्रकाशित : जेष्ठ १३, २०७७ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?