३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

संविधान संशोधन विधेयक भोलि संसदमा पेस हुने

काठमाडौँ — नेपालको नक्सा अध्यावधिक गरिएपछि निसान छाप सच्याउनका लागि संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव बुधबारको प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ । संसद सचिवालयका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्ताव बुधबारको कार्यसूचीमा राख्नका लागि अनुमति दिएका छन् ।

संविधान संशोधन विधेयक भोलि संसदमा पेस हुने

बुधबारको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछिन् । सदनले अनुमति दिएपछि उनले 'नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७' पेस गर्नेछिन् ।

मन्त्री तुम्बाहाङ्फेले मन्त्रिपरिषद्को निर्णयअनुसार गत शुक्रबार संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेकी थिइन् । उक्त विधेयकमा नेपालको नक्सा अद्यावधिक गरिएकाले नेपालको निसान छापमा उक्त नक्सा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्नुपर्ने व्यहोरा उल्लेख गरिएको छ ।

संविधान संशोधन विधेयकबारे सबै दलबीच सहमति जुटाउनका लागि संसदको कार्यव्यवस्था परामर्श समितिले सरकारसँग आग्रह गरेको थियो । आइतबारको कार्यव्यवस्था परामर्श समितिमा सभामुख सापकोटाले उक्त विधेयक संसदबाट सर्वसम्मत पास गराउनका लागि आफूले पनि भूमिका खेल्ने बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा सहमति जुटाउनक लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । उक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बोलाइएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई बोलाइएको छ ।

संविधान संशोधनका क्रममा आफूहरूले उठाएका माग पनि समेट्नुपर्ने प्रतिपक्षी दलहरू राजपा र समाजवादीले उठाउँदै आएका छन् । उनीहरूले कार्यव्यवस्था परामर्श समितिमा उक्त माग उठाएका थिए ।

प्रकाशित : जेष्ठ १३, २०७७ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?