कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रुकुम घटना दलित समुदायमाथिको हिंसा : कांग्रेस

निष्पक्ष छानबिन गरी कडा कारबाही गर्न माग

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले तीनजना युवाको ज्यान जानेगरी शनिबार रुकुम पश्चिमकको चौरहजारी नगरपालिका सोतीमा भएको घटनालाई नृशंस हत्याकाण्ड भन्दै दलित समुदायमाथिको हिंसाको रुपमा लिएको बताएको छ ।

रुकुम घटना दलित समुदायमाथिको हिंसा : कांग्रेस

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले एक मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै देशलाई नै स्तब्ध बनाउने घटनाको निष्पक्ष र गहिरो छानबिन गर्न माग गरेको छ । 'कुनै मोलाहिजा बेगर दोषीलाई कडा कारबाही गर्न नेपाली कांग्रेस माग गर्दछ,' विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले यो घटनाले तीनवटा प्रश्न उब्जाएको पनि बताएको छ । सामाजिक विभेद र बिसंगति, राज्य प्रशासनको भूमिका र निष्पक्ष अनुसन्धान र दण्डको प्रश्न भनेर कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । 'नयाँ संविधानपछिको नेपालमा पनि अझै यस्ता घटना हुनु दुखद छ । कांग्रेसले यसलाई दलित समुदायमाथिको हिंसाको रुपमा लिएको छ । प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याको दोषीहरुलाई दण्डित गर्न नेपाली कांग्रेस माग गर्दछ,' विज्ञप्तिमा भनिएको छ ।

यस्तै कांग्रेसले लकडाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा युवाहरूको समूह जाँदै गर्दा रोक्ने कार्य प्रशासनले नगरेकोमा पनि प्रश्न उठाएको छ । 'प्रशासनले रोकेको भए सायद यस्तो अप्रिय घटना नहुन सक्दथ्यो । राज्यको उपस्थिति न त्यसबेला देखियो न आक्रमणको घटना हुँदै गर्दा,' विज्ञप्तिमा भनिएको छ, 'कांग्रेसले यो तथ्यलाई गम्भीरतापूर्वक लिएको छ र प्रशासन अनुपस्थिति उपर केन्द्रीय सरकारको धारणा माग गर्दछ ।'

साथै कांग्रेसले केही निश्चित मानिसले गरेको आक्रमणमा पुरै गाउँ समाजलाई बदनाम गराउने र दोषीलाई जोगाउने षड्यन्त्र हुनसक्ने संकेत पाएको पनि उल्लेख गरेको छ । दोषीको पहिचान गरी कानूनत अधिकतम दण्ड दिन पनि कांग्रेसले माग गरेको छ । भेरी नदीमा बेपत्ता भनिएकाहरुको खोजी तदारुकताका साथ गर्न पनि कांग्रेसले माग गरेको छ ।

प्रकाशित : जेष्ठ १३, २०७७ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?