१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

जनार्दन शर्माले दलित युवकको हत्यामा राजनीति हुनसक्दैन भनेपछि...

रुकुम र जाजरकोटका पूर्वगृहमन्त्रीले घटनालाई राजनीतिक रंग दिइरहेको विपक्षीको आरोप

काठमाडौँ — शनिबार राति रुकुम पश्चिममा दलित युवाले कथित उपल्लो जातिकी युवतीसँग बिहे गर्न जाँदा स्थानीयको आक्रमणमा परी तीन युवाले ज्यान गुमाएको घटना मंगलबार प्रतिनिधिसभामा प्रवेश गर्‍यो । विपक्षी सांसदहरुले घटनालाई ढाकछोप गरी दोषी लुकाउन सत्ताधारी दल र त्यसका नेताहरुले षड्यन्त्र गरेको आरोप लगाए ।

जनार्दन शर्माले दलित युवकको हत्यामा राजनीति हुनसक्दैन भनेपछि...

बैठकमा रुकुमबाट निर्वाचित सांसद जनार्दन शर्माले बोल्ने क्रममा 'छुवाछुतको घटनामा राजनीति हुनसक्दैन' भनेपछि प्रतिपक्षी कांग्रेसका सांसदहरूले आफ्नो सिटबाट उठेर विरोध जनाए ।

रुकुम पश्चिममा भएको घटनामा युवतीसँग विवाह गर्न गएका जाजरकोटका नवराज विक र ‍उनलाई सहयोग गर्न गएका टीकाराम सुनार र गणेश बुढाको केटी पक्षको आक्रमणमा परेर मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सन्दिप विक, लोकेन्द्र सुनार र गोविन्द शाही रहेका छन् ।

सोही घटनालाई लिएर प्रतिनिधिसभामा प्रतिपक्षी दल कांग्रेस र समाजवादीका नेताले सुरुमा समय मागे थिए । कांग्रेसका मीनबहादुर विश्वकर्मालगायतले बोलेपछि नेकपाका जनार्दन शर्मा बोलेका थिए ।

शर्माले घटनाको सत्यतथ्य सार्वजनिक गर्न रुकुम र जाजरकोट जिल्ला प्रशासन कार्यालयले सहकार्य गरेर काम गरिरहेको बताएका थिए । उनले घटनाको बारेमा जानकारी दिँदै गर्दा कांग्रेसका सांसदले आपत्ति जनाएका थिए । उनले ११ जनाले भेरी नदीमा हाम फालेको, ५ जना पौडी खेलेर तैरिएको र ३ जनाको शव भेटिएको ३ जना बेपत्ता भएको बताएका थिए । उनले 'रुकुममा छुवाछुतका घटनामा राजनीतिकरण हुन नसक्ने' भनेपछि कांग्रेसका सांसदले विरोध जनाएका थिए । कांग्रस सांसदहरुले शर्माले नै गृहमन्त्रीले बोलेको पनि बताएका थिए ।

कांग्रेस सांसदहरुले रुकुम चौरजहारीको घटनामा पूर्वगृहमन्त्री जनार्दन शर्मा नै पीडकको पक्ष लिएर राजनीतिक पहुँचको आधारमा दोषीलाई उन्मुक्ति दिने खेलमा लागेको आरोप लगाएका थिए ।

विपक्षी सांसदहरूले बोल्न अवरोध गरेपछि उनले आफू रुकुमका सबै जनताको प्रतिनिधि भएकाले बोल्न पाउनुपर्ने माग राखेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले दुवै तर्फका सांसदहरूलाई सम्हालिन आग्रह गरेका थिए ।

शर्माले आफू जनताको प्रतिनिधि भएको, सभामुखले दिएको समयमा बोल्न पाउने अधिकार आफूसँग भएको भन्दै आक्रोशित भएका थिए । कांग्रेस सांसदहरूले भने उभिएर विरोध गरेका थिए ।

कांग्रेस सांसद प्रकाश रसाइली स्नेहीले उक्त घटनामा पूर्व गृहमन्त्री शर्मा र बहालवाला मन्त्री तथा पूर्वगृहमन्त्री शक्ति बस्नेतले राजनीतिक रंग दिइरहेको बताए । 'जाजरकोट र रुकुमका पूर्वगृहमन्त्री मिलेर त्यो घटनालाई के गरिरहेका छन् भन्ने हामीलाई पनि जानकारी छ,' उनले भने ।

स्नेहीले शर्मा र बस्नेतलाई लक्षित गरेर आरोप लगाएपछि नेकपाका सांसदहरूले आपत्ति जनाएका थिए । उनीहरूले स्नेहीको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेका थिए ।

सम्बन्धित समाचार:

प्रकाशित : जेष्ठ १३, २०७७ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?