१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तिंकरवासीको आस महाकाली लोकमार्गमा

लोकमार्ग बने एक दिनमा जिल्ला सदरमुकाम, सेनाले खन्ने गोरेटोबाट तीन दिन 
महाकाली लोकमार्ग निर्माण भए दार्चुलाका माथिल्ला क्षेत्रहरु तिंकर, छाङरु, गुन्जी, कालापानी, लिम्पियाधुराका बासिन्दा नेपालकै भूमि हुँदै जिल्ला सदरमुकाम खलंगासम्म आउन पाउनेछन् ।

काठमाडौँ,दार्चुला — २०४५ सालसम्म नेपालका अन्य जिल्लाबाट दार्चुला सदरमुकाम खलंगा पुग्न भारतको बाटो प्रयोग गर्नुपर्थ्यो । अहिले त्यो बाध्यता छैन । नेपालकै सडक मार्ग हुँदै सिधै खलंगा पुग्न सकिन्छ । लामो समयमा भएको दार्चुलाको सबैभन्दा ठूलो परिवर्तन यसलाई मान्न सकिन्छ ।

तिंकरवासीको आस महाकाली लोकमार्गमा

तर, खलंगाबाट दार्चुलाको माथिल्लो क्षेत्रमा पुग्न भने अहिले पनि भारतीय भूमि नै प्रयोग गर्नुपर्छ । यसलाई अहिलेसम्म पनि नआएको परिवर्तन मान्न सकिन्छ ।

खलंगाबाट जिल्लाकै माथिल्ला क्षेत्रहरु ब्यास गाउँपालिकाका छाङरु, तिंकर, गुन्जी, कापालानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्र जान भारतको बाटो प्रयोग गर्नुपर्छ । यसका लागि खलंगाबाट केही माथि गएपछि सीमा नदी महाकाली तर्नुपर्छ । भारतीय सुरक्षाकर्मीसँग पास लिएर भारतीय भूमि हुँदै माथिल्लो भागमा पुगेर फेरि आफ्नो क्षेत्रमा आउनुपर्ने बाध्यता छ ।

दार्चुलाका माथिल्लो क्षेत्रका बासिन्दा जाडोका कारण वर्षको ५ महिना त्यहाँ बस्न सक्दैनन् । त्यसैले वर्षमा दुईपटक तल र माथि गर्नुपर्ने उनीहरुको प्राकृतिक बाध्यता छ । 'आफ्नै मुलुकको बाटो भएर हिँड्न पाए हुन्थ्यो । कति अर्काको मुलुकको बाटो हुँदै ओहोरदोहोर गर्नु,' तिंकर गाँउका दानसिंह तिनकरी भन्छन्, ‘नेपाल सरकारले महाकाली लोकमार्ग छिटो निर्माण गरिदिए आफ्नै मुलुकको भूमि भएर हिँड्न पाउँथ्यौं ।’ दार्चुलाका माथिल्ला क्षेत्रहरु तिंकर, छाङरु, गुन्जी, कालापानी, लिम्पियाधुराका स्थानीय बासिन्दा महाकाली लोकमार्ग निर्माण भए आफ्नै भूमि भएर सदरमुकाम खलंगासम्म आउन पाउने आसमा छन् ।

सरकारले २०६५ सालमा महाकाली लोकमार्गको दार्चुला–तिंकर सडक खण्ड निर्माण गर्ने योजना बनाए पनि त्यसलाई महत्व दिएन । १ सय ३४ किलोमिटर लम्बाइ रहेको उक्त लोकमार्ग चीनको सीमानजिक तिंकर भञ्जाङसम्म पुग्छ । लोकमार्गको अहिलेसम्म ४० किलोमिटरमात्र ट्रयाक खोलिएको छ । ‘हामीले उक्त लोकमार्ग निर्माणको विषयमा पटकपटक संसद्‌मा ध्यानाकर्षण गरायौं र सम्बन्धित निकायहरुलाई घचघच्याइरहेका छौं,’ दार्चुलाका सांसद दिलेन्द्रप्रसाद बडूले भने, ‘तर, कसैले पनि सुनेनन् । कानमा तेल हालेर बसिरहे । अहिले आएर बल्ल त्यो स्थानको महत्व सबैलाई थाहा भयो ।’

बडूले गत आर्थिक वर्षमा आफूले पटकपटक उक्त सडकखण्डका विषयमा कुरा उठाउँदा पनि सरकारले उक्त सडक निर्माणका लागि रकम विनियोजन नगरेको बताए । ‘यसले गर्दा बल्लबल्ल सुरुआत भएको सडक पनि रोकियो,’ उनी भन्छन् ।

अहिले खलंगादेखि ४० किलोमिटर दुरीमा रहेको ब्यास गाउँपालिकाको केन्द्र सुन्सेरासम्म खाद्यान्न ढुवानीका लागि ट्रयाक्टर चल्छन् । कहिलेकाहीँ समस्यामा परेका बिरामी बोक्न जोखिम मोलेरै भए पनि जिपहरु आंशिक रुपमा चलेका छन् ।

जोखिम मोलेर गाडी चढेपछि खलंगाबाट साढे ३ घन्टामा सुन्सेरा पुगिन्छ । त्यहाँबाट ५ घन्टा हिँडेपछि ब्यास गाउँपालिका-२ को दुम्लिङ । सुन्सेरादेखि त्यहाँसम्मको दुरी १५ किलोमिटर हो । अहिलेको अवस्थामा दुम्लिङबाट सिधै छाङरु जानुपर्ने हुन्छ । यात्राको दौरान बीचबाटोमा खानेबस्ने व्यवस्था नहुँदा बास बस्न मिल्दैन । हिँड्नलाई सहज बाटो भए १२/१३ घन्टा हिँड्नुपर्छ । दुम्लिङबाट घाँटीबगर १५ किलोमिटरको दुरीमा छ । घाँटीबगरबाट कुन्तीसाउ ९ किलोमिटर र कुन्तीसाउबाट छाङरु ५ किलोमिटरमा छ । छाङरुदेखि तिंकर १२ किलोमिटर दुरीमा पर्छ । तिंकरबाट दुङ्काङ ८ किलोमिटर र दुङ्गाङबाट तिंकर भञ्ज्याङ १७ किलोमिटरमा छ ।

अहिले भारतको बाटो हुँदै खलंगाबाट तिंकर भञ्ज्याङ पुग्न २ दिन लाग्छ । भारततर्फ पिथौरागढ जिल्लाको धार्चुलाबाट सिधै कालापानीसम्म गाडी चल्ने गरी सडक निर्माण भएको छ । धार्चुलाबाट सिधै सुरक्षाकर्मीका गाडीहरु जाने गरेका छन् । तर, सार्वजनिक सवारी भने माल्पासम्म चल्छन् । माल्पाबाट माथिल्लो क्षेत्र जान हिँड्नुपर्छ । भारततर्फ सडक भएको र सवारीसाधन चल्ने कारणले गर्दा यात्रा गर्न सहज छ । नेपालतर्फको बाटोबाट हिँडेर छाङरु पुग्न अहिले पनि ४ दिन लाग्छ । ४ दिन लाग्ने गोरेटो बाटो पनि कठिन छ । बीचमा बास बस्न सजिला ठाउँहरु पनि छैनन् ।

सेनाले थालेको गोरेटो

गत साताबाट नेपाली सेनाले असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी घाँटीबगर इलाकाको गोरेटो बाटो बनाइरहेको छ । उक्त क्षेत्रको करिब ४ सय ५० मिटर कडा चट्टान फुटाउने र पहिरो पन्छाउने काम गरेपछि पैदल बाटो केही छोटिन्छ । ४ दिन लाग्ने बाटो ३ दिनमा झर्छ । यसको सट्टा महाकाली लोकमार्गको निर्माण हुने हो भने सडकबाट निकै छिटो पुगिने स्थानीयहरु बताउँछन् ।

‘महाकाली लोकमार्ग निर्माण भएपछि खलंगाबाट एकै दिनमा तल आउन र माथि जान सकिन्छ,’ तिंकरीले भने, ‘भारतीय बाटोको प्रयोग आवश्यक हुन्न ।’

दार्चुला–तिंकर सडक आयोजनाका इन्जिनियर दिनेश रैखोला घाँटीबगर इलाकाको गोरेटो बाटो बनेपछि खलंगाबाट तिंकर भञ्ज्याङ पुग्न पैदल ६ दिन लाग्ने बताउँछन् । ‘सडक बनेपछि भने एकै दिनमा तिंकर भञ्ज्याङ पुग्न सकिन्छ,’ उनले भने ।

ब्यास गाउँपालिका-१ छाङरु र तिंकर गाउँमा बस्ने स्थानीय ब्यासी शौका समुदाय चिसोका कारण ६ महिना सदरमुकाम खलंगा बस्छन् । न्यानोका ६ महिना ब्यास क्षेत्रमा आफ्ना पशु–चौपाया र लालाबाला लगेर जाने गरेका छन् । परम्परादेखि नै यो समुदायका मानिसहरु बर्सेनि भारत–नेपाल–चीन व्यापार गर्दै आएका छन् ।

पञ्चायतदेखि नै छाङरुमा प्रहरी चौकी, विद्यालय, स्वास्थ्य चौकी, अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयको ब्यास पोस्ट, छोटी भन्सार र सीमा प्रशासन कार्यालय रहेका छन् । ब्यास गाउँपालिकाको वडा–१ कार्यालयमा पनि छाङरुमै रहेको छ । अहिले छाङरुमा वर्षका न्यानो ६ महिनामात्र वडा कार्यालय, प्रहरी चौकी, अपीनाम्पाको पोस्ट र स्वास्थ्य चौकी सञ्चालनमा हुन्छन् । यो वर्ष ती सरकारी कार्यालयमध्ये प्रहरी चौकीमात्र ब्यासमा पुगेको छ । अन्य सरकारी कार्यालय बाटो नहुँदा माथि जान सकेका छैनन् ।

जेठ ३१ गते छाङरुमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको छ । सशस्त्र प्रहरीलेको बीओपी छाङरुको गागामा छ । ब्यासका स्थानीयले छाङरुबाट करिब ८ किलोमिटर पर कौवा क्षेत्रमा बीओपी राखे कालापानी क्षेत्र भारतीय सुरक्षाकर्मीको गतिविधि निगरानी गरिने सुझाव दिएका छन् ।

भारतले आफ्नो भूमि कब्जा गरेपछि नेपालले नयाँ नक्सा जारी गरिसकेको छ । अब त्यस क्षेत्रमा आफ्नो प्रशासनिक, राजनीतिक र सामाजिक उपस्थिति जनाउने सरकारी योजना छ । त्यसका लागि सबैभन्दा महत्वपूर्ण पक्ष अहिलेको लागि सडक पूर्वाधार हो ।

मन्त्रिपरिषद्ले वैशाख १४ गते खलंगादेखि घाँटीबगर ६५ किलोमिटर सडक विभागलाई र घाँटीबगर–तिंकर भञ्ज्याङ ८७ किलोमिटर नेपाली सेनालाई निर्माणको जिम्मा दिने निर्णय गरेको छ । सांसद बडू अब महाकाली लोकमार्गलाई सरकारले प्राथमिकतामा राखी छिटोभन्दा छिटो सडक निर्माण गर्नुपर्ने बताउँछन् । ‘खलंगाबाट तिंकर भञ्ज्याङसम्म जाने सडक भयो भने त्यो क्षेत्रमा नेपालको उपस्थिति हुन्छ । त्यहाँका नेपाली जनताले पनि सरकार छ भन्ने अनुभव गर्न पाउँछन्,’ उनले भने । सरकारले आगामी आर्थिक वर्षको बजेटमा यसलाई प्राथमिकता दिनुपर्नेमा सांसद बडूले जोड दिए ।

प्रकाशित : जेष्ठ १३, २०७७ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?