१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी, एमसीसीलाई लिएर दुवै पक्षका आ–आफ्ना रणनीति

बैठकका लागि पाँच एजेण्डा तय

काठमाडौँ — सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बिहान ११.३० बजेदेखि सुरु भएको बैठकमा विगतमा जस्तो लिखित प्रतिवेदन भने प्रस्तुत हुन सकेन । 

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी, एमसीसीलाई लिएर दुवै पक्षका आ–आफ्ना रणनीति

पार्टी विधानले तीन–तीन महिनामा बैठक बस्नुपर्ने व्यवस्था गरे पनि ६ महिनापछि बसेको बैठकमा राजनीतिक प्रतिवेदन बिना बैठक बसेको यो पहिलो पटक हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार करिब चार घन्टा लामो छलफल भएता पनि एजेण्डा तय हुन सकेका थिएन् ।

तर, बुधबार बैठक बस्नुअघि अध्यक्षद्वय र महासचिव बिष्णु पौडेलले छलफलका ५ एजेन्डा तय गरेका थिए। बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको मन्तव्य, सरकारका कामको समीक्षा, सीमा समस्या र समाधान, पार्टी एकताका बाँकी कामहरु, एमसीसी र विविध गरी एजेण्डा तय भएका छन् ।

बुधबारको बैठकको सुरुमा पार्टी अध्यक्षद्वयले छलफलका बिषय राखेपछि आजको बैठक सकिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठका अनुसार सदस्यहरुले बिहीबार मात्र आफ्ना धारणा राख्नेछन् ।

नेताहरुले बैठकमा अहिलेका समसामयिक विषय उठाउने तयारी गरेका छन् । तर, प्रधानमन्त्री ओली बैठक एक वा दुई दिनमै सक्ने योजनामा छन् । बैठकमा सरकारको कामको समीक्षा र अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा बहस हुने संभावना छ ।

नेकपामा एमसीसी र सरकारका कामलाई लिएर पार्टी नेतृत्व तहमा एक मत छैन । त्यसैले बैठकमा एक अर्को समूहमाथि दवाव बनाउने दुवैपक्षका नेताहरुको रणनीति छ । प्रधानमन्त्री यथास्थितिमा तत्काल एमसीसी अनुमोदनको पक्षमा र अन्य नेता परिमार्जनसहित अनुमोदनको पक्षमा उभिएपछि नेकपाभित्र धुव्रीकरण र दवावको राजनीतिक पनि सुरु भएको हो ।

बैठकमा आफू अनूकुल निर्णय नभए पनि एमसीसीलाई अनुमोदनका लागि संसदमा लैजाने प्रस्ताव पारित गराउने प्रधानमन्त्री एवं अध्यक्ष ओली समूहको तयारी छ । तर, अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टीभित्र निर्णय नगरी यसलाई संसदमा प्रवेश हुन नदिने पक्षमा छन् ।

कुनै पनि तरिकाले एमसीसी संसद प्रवेश भए विपक्षी दल कांग्रेस सांसदको समर्थनमा समेत पास गराउन सकिने प्रधानमन्त्री ओलीको बुझाई रहेको ती नेताले बताए । राष्ट्रिय हितमा रहेको भन्दै कांग्रेसले बारम्बार एमसीसी चाँडो पारित गर्न माग गर्दै आएको छ । तर, एमसीसी सम्झौताको मिति टार्न सभामुख अग्नि सापकोटाले संसद बैठक एक साता स्थगित गरेको ओली समूहको दावी छ । दाहाल–नेपाल समूहको योजनामा सभामुख सापकोटाले संसद बैठक असार १७ गतेलाई बोलाएको ओली समूहको दावी छ । असार १६ सम्म एमसीसी संसदबाट अनुमोदन गर्ने सरकारको तयारी थियो ।

यद्यपि वरिष्ठ नेता खनालका अनुसार यति समयसम्म एमसीसी अनुमोदन हुनुपर्छ भन्ने कुरा सम्झौतामा कतै उल्लेख नभएकाले यो समय सीमाको खासै औचित्य भने छैन ।

प्रकाशित : असार १०, २०७७ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?