दाहाल-नेपाल समूहले गुटको राजनीति गरेको ओलीको आरोप

'सरकारले राम्रो काम गरेको छ तर आफ्नै पार्टीका मान्छेले त्यसको प्रचार गरेनन्'
'विदेशी शक्तिहरु पार्टी र सरकार भत्काउन लागिरहेका छन्'
बबिता शर्मा

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुले पार्टीभित्र बहुमतको नाममा गुटको राजनीति गरेको आरोप लगाएका छन् । बुधबारबाट सुरु भएको पार्टीको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सहमतिका आधारमा पार्टी चलाउनुको सट्टा गुटको राजनीति भएको बताए । उनको निशाना दाहाल–नेपाल समूहतिर थियो । 

दाहाल-नेपाल समूहले गुटको राजनीति गरेको ओलीको आरोप

‘सहमतिका आधारमा पार्टी चलाउन छाडेर गुट बनाएर बहुमतको खेती गरेर हुन्छ ? पार्टी बिग्रेको कारण त्यही हो,’ ओलीको भनाई उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने । नेकपाभित्र पछिल्लो केही समययता विभिन्न मुद्दामा राजनीतिक धुव्रीकरण र बहुमत अल्पमतको खेल हुँदै आएको छ ।

प्रधानमन्त्री ओलीले विदेशी शक्तिहरु पार्टी र सरकार भत्काउन लागेकोसमेत दावी गरेका छन् । ‘विदेशी शक्तिहरु कसरी लागेका छन्, यो पार्टी र सरकार भत्काउन, खत्तम गर्न हामीलाई पूरै थाहा छ,’ ओलीले भनेका थिए । तर, ती शक्ति को हुन् भन्ने उनले स्पष्ट गरेनन् ।

यसबाहेक स्थायी समितिमा प्रधानमन्त्री ओलीले सरकारका कामको मात्रै पनि गरे । तथ्यांङ्कमा सरकारको काम राम्रो भएको तर पार्टीकै मान्छेहरु सरकारले काम गरेन भनेर प्रचार गर्दै हिँडेको पनि उनले गुनासो गरेका थिए । सरकारका कामको अपनत्व पार्टीले नलिएको र अब सुधार्नुपर्ने बताएका थिए । यस्तै, कोरोना संक्रमणका कारण २४ जना मरेको भने पनि खासमा कोरोनाकै कारण मरेको २-३ जनामात्रै रहेको प्रधानमन्त्रीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ठीक हुँदाहुँदै पनि पार्टीभित्रकै नेताहरुको आग्रहमा फिर्ता गरेको दावी बैठकमा गरेका थिए। उनले आफूमात्रै लोकतान्त्रिक र देशभक्त बनेर भ्रमात्मक प्रचार गर्नुको कुनै अर्थ नभएको पनि बताएका थिए ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार स्थायी कमिटी बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको संबोधन, कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठानिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने, एममसीसी र विविध विषय छलफलका एजेन्डाका रुपमा तय भएका छन् । विविधमा रूकुम घटना, नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूको भत्ताको विषय समेटिएको छ ।

स्थायी समितिको अर्को बैठक १२ गते ११ बजे बस्ने तय गरिएको छ ।

प्रकाशित : असार १०, २०७७ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?