कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लाखको आयोजनाले करोडको क्षति

डोजर लगाएर सडक खन्ने क्रममा सम्भावित क्षतिबारे आकलन नगर्दा ६० रोपनी खेत सिँचाइ हुने पक्की कुलो, ४ वटा खानेपानीका मुहान, पाइपलाइन, इन्टेकमा क्षति पुग्नुका साथै बस्ती नै पहिरोको जोखिममा परेको छ ।

बागलुङ, म्याग्दी — बागलुङ नगरपालिका–१२ र जैमिनी–१ जोड्ने सडक खन्ने क्रममा खानेपानीका मुहान र सिँचाइ कुलोमा क्षति पुगेको छ । सडक खन्दा जैमिनीको सिरबारी, भडार र टारमा सञ्चालित चारवटा खानेपानी आयोजनाका मुहान नाश हुँदा गाउँमा पानीको हाहाकार भएको हो ।

लाखको आयोजनाले करोडको क्षति

गण्डकी प्रदेश सरकारको ७० लाख बजेटमा उक्त सडक आयोजना निर्माणाधीन छ । डोजर लगाएर सडक खन्ने क्रममा सम्भावित क्षतिबारे आकलन नगर्दा ६० रोपनी खेत सिँचाइ हुने पक्की कुलो र ४ वटा खानेपानीका मुहान नाश भएका छन् । सातायताको वर्षाका कारण जैमिनी नगरपालिका–१ का ७ घर जोखिममा परेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीसेरामा लगिएको खानेपानीको पाइप लाइन र इन्टेक भत्किएकाले खानेपानीको समस्यासँगै स्वास्थ्य केन्द्रमा दैनिक सरसफाइको कामसमेत प्रभावित भएको केन्द्र व्यवस्थापन समितिका उपाध्यक्ष टेकनारायण आचार्यले बताए ।

बागलुङ नगरपालिकाको सडक आयोजनाका कारण आफ्नो वडामा क्षति पुगेको र थप लाखौं लगानी गर्नुपर्ने अवस्था आएको जैमिनी–१ का अध्यक्ष भूपेन्द्र थापाले गुनासो गरे । सडक निर्माण सरोकारवाला पूर्वाधार विकास कार्यालयमा पटक–पटक जानकारी गराए पनि भत्केका पूर्वाधारको मर्मत नभएको थापाको भनाइ छ । ‘लाखको आयोजनाले करोडभन्दा बढीको क्षति पुगेको छ,’ थापाले भने, ‘जोखिमका बारेमा सरोकारवाला सबै सचेत भए पनि चासो दिइएन ।’

पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर दयाराम अधिकारीले भने सामान्य क्षति भएको स्थानमा मर्मत गरिदिने योजना भए पनि मजदुर अभावमा काम गर्न नसकिएको बताए । ‘खानेपानी समस्या र घरै भत्कने खतरा भएमा सामान्य मर्मत गरिदिने भन्ने हो तर जतासुकै क्षति भयो भनेर काम गर्न सकिँदैन,’ अधिकारीले भने, ‘एक किलोमिटर पर पनि क्षति पुग्यो भनेको पत्याउनै सकिँदैन ।’

पहिरोले सिरुवारी पोखरीका ६० परिवार र टारका ४३ परिवारले खोलाको पानी खान बाध्य भएको गुनासो गरे । ‘जोखिमका रहेका ७ घरमा पहिरो खस्ने खतरा छ,’ वडाध्यक्ष थापाले भने, ‘उनीहरुको घर जोगाइदिने काम गर्नैपर्छ ।’

नजिकै अर्को सडक हुँदाहुँदै कार्यकर्ता रिझाउन अर्को सडक खनेको स्थानीयको आरोप छ । सडक खन्न दिँदा बस्तीमा जोखिम बढेको स्थानीय हरिप्रसाद शर्मा बताउँछन् । इन्जिनियर अधिकारीले भने सडकको लागतभन्दा बढी खर्चेर मर्मतलगायतको काम गर्न नसकिने स्पष्ट पारे । ‘सबै बनाइदिने भन्ने हुँदैन, सडक खन्दा अलिअलि पहिरो त खस्छ, सहनुपर्छ,’ उनले भने, ‘पहिरो खसेपछि अर्को वर्ष त्यही हटाएर चौडा सडक बनाउने रणनीति हुन्छ ।’

पहिरोले गलेश्वर बस्ती जोखिममा

सडक कालोपत्र गर्ने क्रममा निक्लेको ढुंगामाटो व्यवस्थापन हुन नसक्दा म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेको गलेश्वर बस्ती पहिरोको जोखिममा परेको छ । लगातारको वर्षाले गलेश्वर–भगवती–बेग सडकखण्डअन्तर्गत सतीपहरादेखि च्युडीस्वारासम्म पाखो बग्न थालेपछि पिप्ले गलेश्वरका २१ घर जोखिममा परेका हुन् । पहिरोले बेनी–जोमसोम सडकको राहुघाट खोलाको बेलिब्रिज र सडकसमेत जोखिममा छ । ‘फेदीमा घर छ, माथि पहाडको टुप्पोबाट पहिरो खस्न सुरु गरेको छ । अरू नै आवाज आए पनि पहिरो खस्यो कि भन्ने डर लाग्छ,’ स्थानीय भरत मल्लले भने, ‘सडक डिभिजन र पूर्वाधार कार्यालयलाई बेलैमा समस्या दर्साए पनि सुनुवाइ भएको छैन ।’

८ किमि लामो गलेश्वर–पिप्ले–भगवती–बेग सडक कालोपत्र गर्न पूर्वाधार विकास कार्यालयले एपेक्स–खड्का जेभी काठमाडौंलाई भ्याटबाहेक १८ करोड ४१ लाख ८ सय ३८ रुपैयाँमा ठेक्का दिएको थियो ।

प्रकाशित : असार १७, २०७७ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?