कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

दुबईमा नौ महिना जेल, नेपाल फर्केपछि कोरोना

११ दिन क्वारेन्टाइन र १० दिन अस्पताल बसेपछि कोरोनामुक्त भएर घर फर्किए
लीला श्रेष्ठ

भक्तपुर — दुबईमा साथीसँग झगडा परेपछि डकेन्द्र जेल परे । ६ महिने सजाय कटाउनै लागेका बेला लडकडाउन भयो । थप तीन महिना जेलमै बस्नुपर्‍यो । आममाफी पाएर नेपाल फर्के, होल्डिङ सेन्टरमा बसेका बेला उनलाई कोरोना संक्रमण भयो । कुनै लक्षणबिना उनी १० दिनपछि कोरोनामुक्त भए । अब भने ढुक्क भएर घर फर्केका छन् ।

दुबईमा नौ महिना जेल, नेपाल फर्केपछि कोरोना

मोरङको मिक्लाजुङ गाउँपालिका–५ संगमचोकका २९ वर्षीय डकेन्द्र दर्नाल यूएईबाट जेठ २३ मा एयर अरेबियाको जी नाइन १७५१ चार्टर फ्लाइटबाट त्रिभुवन विमानस्थल आइपुगेका थिए । यूएईबाट सँगै आएकामध्ये एक जनामा कोरोना संक्रमण देखिएपछि विमानका यात्रु सबैलाई ‘होल्डिङ सेन्टर’ नलगी भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइन लगियो ।

त्यहाँ ११ दिन बसेपछि उनलाई पनि असार ३ मा संक्रमण पुष्टि भयो । त्यसपछिको १० दिन टेकु अस्पतालमा उपचार गराएपछि उनी शुक्रबार डिस्चार्ज भएका छन् । ‘पीसीआर रिपोर्ट पोजिटिभ आयो तर लक्षण केही देखिएन,’ उनले भने, ‘आरामसँग अस्पतालमा बसें, ढुक्कले डिस्चार्ज भएँ ।’

अस्पतालमा दैनिक ज्वरो, प्रेसर, अक्सिजन नाप्ने, समय–समयमा खाना/खाजा खुवाउने गरेको उनी बताउँछन् । दुबईमै आरडीटी र पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आएपछि यूएईबाट जेठ २३ मा नेपाल आइपुगेको उनले बताए ।

१७ महिनाअघि वैदेशिक रोजगारीका लागि दुबई पुगेका उनले एक कम्पनीमा कार्यालय सहायकका रूपमा ७ महिना काम गरे । एउटै कम्पनीमा कार्यरत सहकर्मीको झगडाका कारण उनले जेल जीवन जिउनुपर्‍यो । ‘नौ महिना जेल परें, अदालतले ६ महिना सजाय तोकेको थियो तर कोरोनाका कारण तीन महिना थप बस्नुपर्‍यो,’ उनले भने, ‘नागरिकता, पासपोर्ट केही दिएन । नेपाल फर्काउन एउटा पेपर बनाइदिए ।’

उनीसँग लगाएको एक जोर कपडाबाहेक केही थिएन । जेल परेपछि परिवारसँगको सम्पर्क टुट्यो । ‘होल्डिङ सेन्टरमा आएर सिम पाएपछि मात्र परिवार, आफन्तसँग सम्पर्क भयो, घरबाट पैसा मगाएर कपडा र जुत्ता किनें,’ उनले भने ।

यसअघि कतारमा तीन वर्ष बसेका दर्नाललाई अब वैदेशिक रोजगारीका लागि कुनै मुलुक जाने रहर छैन । ‘कामदारका रूपमा कुनै मुलुकमा रगत, पसिना बगाउन चाहन्न,’ उनले भने, ‘अब आफ्नै मुलुकमा केही गर्ने विचार छ ।’

कुवेतबाट ल्याइएका बालक बालग्राममा

जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) भक्तपुरले कुवेतबाट ल्याइएका एक अभिभावकविहीन बालकलाई एसओएस बालग्राम सानोठिमीमा बुझाएको छ । जेठ ३० मा कुवेतबाट उद्धार भई आएकी रूपन्देहीकी रोजिता थारूले ५ महिने अभिभावकविहीन बालकलाई साथै ल्याएकी थिइन् ।

ती बालकलाई थारूसँगै चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्र क्वारेन्टाइनमा दुई साता राखिन् । थारूले चार वर्षदेखि कुवेतमा सँगै कार्यरत झापाकी एक महिलाले ती बालकलाई जन्म दिएको र कामकाज गर्न असहज भएकाले नाबालकलाई नेपाल लगी आफन्तलाई बुझाइदिन अनुरोध गरेकाले ल्याएको प्रहरीलाई दिएको निवेदनमा उल्लेख छ ।

खरिपाटी क्वारेन्टाइनमा १४ दिन राख्दासमेत बालकलाई हेरचाह गर्ने हकवाला आफन्त कोही नआएकाले तत्कालका लागि बालकको संरक्षण र हेरचाह गर्न एसओएस बालग्रामलाई बुझाएको प्रहरीले जनाएको छ । डीसीसीएमसी भक्तपुरको असार १० को बैठकले शिशुको हकवाला आफन्त कोही नआएसम्म तत्कालका लागि संरक्षण र हेरचाहका लागि एसओएस बालग्रामलाई बुझाउन निर्णय गरेको हो ।

प्रकाशित : असार १७, २०७७ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?