हिमालय एयरलाइन्सका एक जना पाइलटलाई कोरोना संक्रमण

सुरज कुँवर

काठमाडौँ — विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरिरहेको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलायन्सका एक  जना पाइलटमा कोरोना संक्रमण देखिएको छ । हिमायल एयरलायन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठका अनुसार, कोरोना पोजिटिभ देखिएका पाइलट मेक्सिकन नागरिक हुन् । उनी हाल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालका निगरानीमा छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले बताए ।

हिमालय एयरलाइन्सका एक जना पाइलटलाई कोरोना संक्रमण

सानो गौचरनस्थित एक अपर्टामेन्टमा एक अर्का पाइलटसँगै बस्दै आएका ती पाइलट हिमालय एअरलाइन्सका लाइन ट्रेनिङ क्याप्टेन हुन् । उनका अर्का साथीलाई भने कोरोना नदेखिएको श्रेष्ठले बताए ।

‘उनको पीसीआर परीक्षण पोजिटिभ देखिएपछि उनीसँगै उडेका अन्य चालक दलका सदस्यको पनि स्वास्थ्य जाँच गरिएको थियो तर सबैको रिपोर्ट नेगेटिभ आयो,’ श्रेष्ठले भने ।

हिमालय एयरलायन्सका एक पाइलटका अनुसार, ती मेक्सिकन पाइलटमा कोरोना देखिएपछि हिमालयले इमेलमार्फत अरु पाइलट, क्याबिन क्रूलाई सर्तकता उपनाउन निर्देशन दिएको छ । चार वटा एयरबसका न्यारोबडी जहाज भएको हिमालय एयरलायन्समा १८ विदेशीसहित ४३ जना पाइलट र करिब ८० जना एयरहोस्टेस छन् ।

हिमालयले हरेक कार्गो तथा उद्धार उडानअघि र पछि चालक दलका सदस्यको आरडीटी परीक्षण गरेर पठाउने जनाएको छ । ‘हामी पाइलट, एयरहोस्टेसलगायत उडानमा प्रत्यक्ष खटिने कर्मचारीको उडानअघि र पछि आरडीटी जाँच गर्दै आइरहेका छौं,’ उपाध्यक्ष विजय श्रेष्ठ भन्छन्, ‘उडानमा खटिनेको स्वस्थ्य जाँच गर्न विमानस्थलमै स्वास्थ्यकर्मी राखेका छौं ।’

यी पाइलटअघि हिमालयकै एक जना एयरहोस्टेसमा आरडीटी परीक्षणमा एन्टिबडी पोजिटिभ देखिएको थियो । तर, उनको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनी काममा फर्किएको एयरलायन्सले जनाएको छ ।

सरकारले चैत ९ गतेदेखि व्यावसायिक उडानमा रोक लगाएपछि हिमालय एयरलायन्सले आफ्ना चारवटै विमानलाई काठमाडौंमा ग्राउन्डेड गरेको थियो । करिब एक महिना बन्द भएको हिमालयले वैशाख १४ देखि मेडिकल कार्गो उडान थालेको थियो । असार २ गतेदेखि हिमालयले विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्दै आएको छ । त्यसयता हिमालयले कम्तीमा २३ वटा उद्धार उडान गरिसकेको छ ।

सरकार स्वामित्वको नेपाल वायुसेवा निगमले भने चालक दलका लागि होटल सोल्टी क्राउन प्लाजामा क्वारेन्टाइन स्थापना गरेको छ । निगमले उडानमा जाने चालक दलका सदस्यलाई पीसीआर परीक्षण गराउँदै घर पठाउने गरेको छ ।

‘आरडीटीको विश्वसनीयतामा धेरै विज्ञहरुले नै प्रश्न गरेकाले क्वारेन्टाइन स्थापना गरेर पीसीआर परीक्षण विधि अपनाउने निर्णय गरेका हौं,’ निगमका एक उच्च अधिकारीले भने, ‘यो विधि अपनाएकाले पाइलटहरुलाई होटलमा राख्दा प्रतिव्यक्ति कोठाको ५५ डलर र २०–२० डलरमा डिनर र लन्च तथा त्यसमा लाग्ने १० प्रतिशत सर्भिस चार्ज र १३ प्रतिशत भ्याटसहित अरिरिक्त खर्च थपिएको छ ।’

ती अधिकारीका अनुसार, निगमले नै गर्ने पीसीआर परीक्षणमा ५५ सय रुपैयाँ पर्छ । ४/५ दिन उडान गरेपछि मात्रै चालक दलका सदस्यलाई पीसीआर परीक्षण गराएर निगमले घर पठाउने गरेको छ ।

प्रकाशित : असार १७, २०७७ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?