साम्राज्ञीको पक्षमा कलाकार

ऋचा, वर्षा सिवाकोटी, प्रियंका र अर्जुन कुमारलगायतले गरे समर्थन
रीना मोक्तान

काठमाडौँ — अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले हालै आफूलाई ठूला ब्यानरसँग सम्बन्धित केही व्यक्तिहरुले दुर्व्यवहार गरेको कुरा सार्वजनिक गरेकी छिन् । उनले दुर्व्यवहार गर्नेहरुको नाम उल्लेख नगरे पनि यसबीच उनले आरोप लगाएकामध्ये एक अभिनेता/निर्माता भुवन केसी पनि एक भएको समाचार सार्वजनिक भएका छन् ।

साम्राज्ञीको पक्षमा कलाकार

साम्राज्ञीले इन्स्टाग्राममा आफूलाई दुर्व्यवहार गरेको भन्दै पहिलो भिडियो सार्वजनिक गरेसँगै भुवनले फेसबुकमा स्टाटस लेखेका थिए, 'खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराइ गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नि !'

भुवनको स्टाटसपछि अभिनेत्री साम्राज्ञीले इन्स्टाग्राममा दोस्रो भिडियो सार्वजनिक गर्दै दुर्व्यवहार गर्ने व्यक्ति भुवन केसी नै हो भन्ने कुराको संकेत गरेकी छिन् । 'त्यो स्टाटस लेख्ने व्यक्तिले जापानमा अवार्ड कार्यक्रम हुँदा नै बाबा हेर तँ त मेरो प्रोडक्ट हो। त्यो पुरानो कुरा कोट्याएर के फाइदा । यस्तो कुराहरु नगर भनेर मलाई सम्झाउनु भयो,' उनले भनेकी छन्, 'भित्र मलाई घिन लागिरहेको थियो । त्यो कुरा गर्दा पनि टाँस्सिएर, फेरि त्यही व्यवहार । त्यही पर्भर्ट व्यवहार । गालामै मुख ल्याएर बोलिरहेको थियो । उहाँलाई अंकल भनेको पन पर्दैन । हस दाइ भन्दै धकेलिदिएँ । म जे बोल्दै छु यो सबै सत्य हो।'

उनकी आमा नेहाराज्य लक्ष्मी शाहले साम्राज्ञीले पहिलो भिडियोमा नव-कलाकार भएर फिल्म क्षेत्रमा भोगेको संघर्ष तथा अप्ठ्यारहरु राख्न खोजेको भन्दै लेखकी थिइन्, 'कोही व्यक्ति विशेषलाई असर पर्ने कुनै कुरा भन्न खोजेको होइन भन्ने मैले बुझेकी छु । बाँकी मेरो छोरीको अभिनय कस्तो छ ? भन्ने कुरामा दर्शकहरुले निर्णय गर्नु हुनेछ ! यसमा कसैले अन्यथा नलिन अनुरोध गर्दछु ।'

साम्राज्ञीले आफूसँग भएको दुर्व्यवहार सार्वजनिक गरेसँगै केही कलाकारहरु उनको समर्थनमा अगाडि आएका छन् । निर्माता/गायक अर्जुन कुमारले फेसबुकमा लामो स्टाटस लेख्दै साम्राज्ञीको साथ दिएका छन् । 'कलाकार कसैको बँधुवा मजदुर हैन । फिल्ममा खेलाएकै भरमा कुनै पनि कलाकारमाथि कुनै पनि प्रकारको दुर्व्यवहार(ह्यारेसमेन्ट) बर्दास्त गर्न सकिन्न कुनै पनि महिलाले त्यतिकै पात नहल्ली बोलेको हैन होला,' उनले ह्यासट्याग आई एम विथ साम्राज्ञी भन्दै फेसबुकमा लेखेका छन्, 'कलाकारलाई चान्स दिएको मैले गर्दा हिट भएको भन्नु मुर्खता हो । यहाँ सबै आफ्नो प्रतिभाले खाने हो ।'

उनले थप लेखेका छन्, 'विशेष गरी महिला कलाकारमाथिको यस्तो खालको हर्कतको म विरोध गर्छु । कसैको छोरी, बहिनी अनि कसैको बुहारीमाथि यस्तो खालको दुर्व्यवहार कतै सहने छैन । त्यसैले सबैको इज्जत गर्न सिकौं, तब मात्र तपाईंको पनि इज्जत बढ्छ सधैंभरि चामल देखाएर कुहिएको पिठो त्यो पनि किरा परेको बेच्न पल्केकाहरुलाई सलबलाउन दिन हुन्न ।' अर्जुनको स्टाटसमा कमेन्ट गर्दै अभिनेत्री नम्रता सापकोटाले लेखेकी छिन्, 'सत्य कुरा लुक्दैन । भविष्यमा राम्रो हुने आशा गरौं ।'

अभिनेत्री वर्षाले पनि यस विषयमा प्रतिक्रिया दिँदै लेखेकी छिन्, 'यो पक्कै पनि सही समय हो मान्छे चिन्ने । सत्य लुकेर लुक्दैन । हाम्रो कर्मथलोमा केही गलत हुँदैछ भने त्यसलाई लुकाएर दर्शकको आँखामा धुलो छर्नु झन गलत हो !' अभिनेत्री साम्राज्ञीले इन्स्टाग्रामा यसअघि फिल्म क्षेत्रमा भएको नातावाद, गुटबन्दीका विषयमा बोलेका कलाकारहरुको स्टाटस सेयर गर्दै लेखेकी छिन्, 'हामी साथ छौं ।'

उनले अभिनेता नाजिर हुसेन, अभिनेत्री वर्षा सिवाकोटी र नम्रता सापकोटाले फेसबुकमा लेखेको स्टाटसलाई इन्स्टाग्राममा राखेकी छिन् । उनीहरुले पनि साम्राज्ञीको उक्त स्टोरीलाई सेयर गरेका छन् । अभिनेत्री शाहले यसबीच इन्स्टाग्राममा भिडियो गर्दै आफू युट्युबका हेडलाइनले थकित भएको बताएकी छिन् । 'हामी अभिनेत्रीहरुले हाम्रो कुरा सुनाउन खोजेका थियौ‌ं पहिला पनि । तर हेडलाइन हेर्दा नै घिन लाग्ने के,' उनले भनेकी छिन्, 'दुर्व्यवहारबारे २ वर्ष अगाडि बोल्न खोज्दा गाली मात्र पाइएको छ । हामीले बोलेको कुरालाई नराम्रो बनाएर पेस गर्ने युट्युब मलाई चाहिएन । म थाकिसकें ।'

केही समयअगाडि सक्रिय देखिएको 'जिरो टोलरेन्स' अभियानले उठाउँदै आएको कुरा पनि उनले भिडियोमा उठाइन् । उनले कुनै महिला कलाकारले दिएको भिडियोमा आएको नराम्रो कमेन्ट हटाउनुपर्ने धारणा राखेकी छिन् । अभिनेत्री प्रियंका कार्की, ऋचा शर्मा, आँचल शर्मालगायतले उनको यस भिडियोलाई सेयर गरेर सहमति जनाएका छन् ।

'जिरो टोलरेन्स'की अभियन्तासमेत रहेकी अभिनेत्री निशा अधिकारीले पनि साम्राज्ञीले उठाएको दुर्व्यवहारको विषयलाई 'जिरो टोलरेन्स'को फेसबुक ग्रुपमा मिडियाको लापर्बाहीले पीडितलाई समस्या हुन सक्ने उल्लेख गरेकी छिन् । 'न त नायिकाले नाम खुलाइन् कसैको । न त अरु कसैले ती नायिकाको,' उनले लेखेकी छिन्, 'बुझ्नु पर्ने कुरा हो । एक दुईजनाले फिचर न्युज गरेको भरमा इन्डस्ट्री नै तात्नुपर्ने आवश्यकता देख्दिनँ म । कुरा कन्फर्म भएको खण्डमा यौन दुर्व्यवहार मुद्दा हुन्छ । एक दुईवटा मिडिया लापर्बाहीले यो मुद्दा अझै बिग्रिन सक्छ । हलुका रुपमा लिन पनि मिल्दैन । यो समाजमा पीडितको आवाज दबाउन खोज्ने र जोकको रुपमा लिन खोज्ने कार्य बन्द गरिनुपर्छ ।'

प्रकाशित : असार १७, २०७७ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?