१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बुधबारको बैठकमा पनि नेताहरुले मागे प्रधानमन्त्रीको राजीनामा 

काठमाडौँ — सत्तारूढ नेकपाको जारी स्थायी कमिटीको पाँचौ दिनको बैठकमा बोल्ने नेताहरुले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

बुधबारको बैठकमा पनि नेताहरुले मागे प्रधानमन्त्रीको राजीनामा 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा बोलेका पाँच नेताले मंलगबारकै एजेण्डा प्रधानमन्त्री ओलीको अभिव्यक्ति र नेकपा एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगका परेको आवेदनको विषयमा केन्द्रीत रहेर धारणा राखेका थिए । तीमध्ये चार नेताले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

स्थायी कमिटी सदस्य मातृका यादवले जनताको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको हुँदा राजीनामा दिन माग गरे । ‘सरकारको अलोलप्रियता देख्दा प्रधानमन्त्रीले मन्त्रीबाट हटाएर ठीक गर्नुभएछ भन्ने लागेको छ । समस्या उहाँमा छ । जनअपेक्षाअनुसार काम गर्न सक्नु भएन । अरुका सुझाव सुन्नै नचाहने । यसरी सरकार चल्दैन । पार्टी पनि चल्दैन । अब राजीनामा दिएर माग प्रशस्त गर्नुस्,’यादवले भनेका थिए ।

अर्का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जनताको टिप्प्णीअनुसार सरकारले काम गर्न नसकेको भन्दै घुमाउरो पारामा प्रधानमन्त्रीका राजीनामा मागेका थिए । ‘जनताको टिप्पणीअनुसार सरकारले काम गर्न सकेन । पार्टीमा पनि किन रोकिए काम ! यसरी काम रोकेर बस्नु भनेको नेतृत्वको अयोग्यता हो । त्यसकारण यस विषयमा मुख्य नेतृत्वले जिम्मेवारी लिनुपर्छ भनेर सुझाव दिएको छु,’पोखरेलले भने ।

नेता पोखरेलले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनताको सार्वभौमिकता माथि प्रश्न उठेका बताए । ‘यदि प्रधानमन्त्रीले बोलेको कुरा सही हो भने त्यसमा संलग्न को-को हुन्, तिनीहरुले अपराध गरे । कुटनीतिक क्षेत्रबाट भएको कुरा पनि गलत हो त्यसमा राज्यले दण्ड दिन सक्छ । प्रधानमन्त्रीको कुरा अनुसार त आजसम्म नेपालीले सरकार बनाउँदा विदेशीको ईशारामा बनाउने गरेका हुन् ! त्यसो हो भने नेपाली जनताको सार्वभौमिकता के रह्यो र, यस्तो प्रकृतिले आफ्नो सार्वभौमिकता छैन भन्नु त्यो गलत हो,’ पोखरेलले भने ।

नेता पोखरेलले बुधबारको बैठकमा १५ औं योजनाको किताब बाँडिएको र त्यसमा राष्ट्रिय गौरवका आयोजना भनेर एमसीसीको अनुमोदन नभएको आयोजना पनि उल्लेख भएको भन्दै त्यो कसरी र किन आयो रु भनेर प्रश्न गरेका थिए । उनले निर्वाचन आयोगमा एमाले पार्टी दर्ताका लागि कोही नेताको संलग्नता हो भने त्यो अपराध भएको बताए ।

बैठकमा पर्यटन मन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले नेतृत्व बीचको विवाद मिलाए पार्टीलाई एकतावद्ध बनाउनु पर्ने सुझाव दिएका थिए ।

अर्का नेता पेशल खतिवडाले प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको बताएका थिए । पार्टीमा एक पद, एक व्यक्तिको नीति अनुसार ओलीले पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।

नेता नन्द प्रसाईंले प्रधानमन्त्री ओलीलाई पदीय मर्यादाविपरीत जथाभावी नबोल्न सुझाव दिएका थिए। उनले पनि सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै राजीनामा दिएर निकास दिन सुझाव दिएका थिए ।

प्रकाशित : असार १७, २०७७ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?