१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कुन्जोकको वन्यजन्तुका अन्तर्राष्ट्रिय तस्करसम्मै पहुँच

इन्टरपोल र भारतको डब्लूसीसीबी तथा सीबीआईले उनीबारे अहिलेसम्म संकलन गरिएका कागजात तथा सूचना सीआईबीलाई पठाइदिएका छन् । यस आधारमा उनको अन्तर्राष्ट्रिय खुंखार वन्यजन्तु तस्कर र व्यापारीसँग सम्पर्क रहेको देखिन्छ ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — फरार भएको १५ वर्षपछि पक्राउ परेर थुनामा रहेका कुन्जोक छिरिङ तामाङको पहुँच वन्यजन्तु तथा तिनका अंग अवैधानिक रूपमा किनबेच गर्ने अन्तर्राष्ट्रिय व्यापारी र नेटवर्कसम्म रहेको खुलासा भएको छ ।

कुन्जोकको वन्यजन्तुका अन्तर्राष्ट्रिय तस्करसम्मै पहुँच

इन्टरपोल र भारतको वाइल्डलाइफ क्राइम कन्ट्रोल ब्युरो (डब्लूसीसीबी) ले उनीबारेका थप प्रमाणहरू नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पठाएका छन् ।

भारतस्थित सीबीआई र डब्लूसीसीबीको सर्वाधिक खोजीको सूचीमा रहेका तामाङलाई गत असार ११ मा सीआईबीले काठमाडौंमा पक्राउ गरेर लामटाङ राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको थियो ।

जिल्ला अदालत रसुवाले आइतबार उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । उनी पक्राउ परेपछि इन्टरपोलले समेत उनीबारे अहिलेसम्म संकलन गरिएका कागजात तथा सूचनाहरू सीआईबीलाई पठाएको हो ।

तामाङको नाम नेपालमा मात्र नभएर भारतका अहिलेसम्मका वन्यजन्तुका ठूला तस्करीमा समेत जोडिएको छ । सीआईबीले दिएको जानकारीअनुसार सन् १९९९ मा भारतको गाजियाबादमा भएको वन्यजन्तुका अंगहरूको बरामदमा उनको संलग्नता थियो । सन् २००० मा भारतमै ‘खाग सिजर’ भनेर चर्चित वन्यजन्तुका अंगहरूको तस्करीमा पनि उनको नाम जोडिएको पाइएको छ ।

‘बाघ मार्ने र तिनका अंगहरूको अवैध कारोबार गर्ने बाबरिया समूहको नेटवर्कसँग पनि तामाङको सम्बन्ध रहेको जानकारी मिलेको छ,’ सीआईबी स्रोतले कान्तिपुरलाई भन्यो, ‘इन्टरपोल र भारतको डब्लूसीसीबी तथा सीबीआईले दिएका नयाँ र थप प्रमाणका आधारमा तामाङको अन्तर्राष्ट्रिय खुंखार वन्यजन्तु तस्कर र व्यापारीसँग सम्पर्क रहेको देखिन्छ ।’

केही समयअघि बाबरिया नेटवर्कका भिमा बाबरियालाई भारतले पक्राउ गरेको थियो । तामाङले उनको नेटवर्कमा रही काम गरेको पनि खुलेको छ । त्यस्तै, सन् २००८ मा हरियाणामा भएको वन्यजन्तुका अंगहरूको बरामद घटनामा पनि तामाङको सम्बन्ध देखिन्छ । भारतमा अहिलेसम्म भएका मुख्य वन्यजन्तुका अंग बरामदका घटनामा उनको नाम जोडिनुले यिनको भारतमा रहेका तस्करहरूको समूहसँग सम्पर्क रहेको पुष्टि हुने सीआईबीको भनाइ छ ।

२०६२ भदौ १६ मा नेपाली सेनाको दुर्गा बक्स गणको टोलीले रसुवाको साबिक स्याँफ्रु गाविस–९ मा बरामद गरिएको वन्यजन्तुका अंगहरू । तस्बिर सौजन्य: दिवाकर चापागाईं

वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबैजसो बैठकहरूमा तामाङको नाम आउने गरेको थियो । नेपाल र भारतका सरकारी अधिकारी तथा सुरक्षा निकायसहित इन्टरपोलको बैठकमा उनी र उनको नेटवर्कलाई पक्राउ गर्नु आवश्यक रहेको भन्दै छलफल चल्थ्यो ।

यिनको चर्चित वन्यजन्तु अपराधी संसार चन्दको नेटवर्कभित्रका व्यक्तिहरूसँग समेत पहुँच पाइएको इन्टरपोल प्रतिवेदनबाट खुलेको छ । त्यस्तै, डान्डुक लामा र नुटुप लामासँग पनि उनको सम्बन्ध थियो । यी दुवै वन्यजन्तु तस्करीमा प्रख्यात नाम हुन् । दुवै जनासँग भारत, नेपाल र तिब्बतको नागरिक पुष्टि हुने प्रमाणपत्र छ । तामाङसँग पनि तीनवटै देशको नागरिक पहिचान हुने प्रमाणपत्र भेटिएको छ ।

तामाङको नुवाकोटमा ८ वर्षअघि बरामद गरिएको आखेटोपहार तस्करीमा मुछिएका ‘जिमी शेर्पा’ भनिने लोडु डिमेसँग पनि सम्बन्ध रहेको सीआईबीको दाबी छ । २०६९ मा काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा२ख ७५०४ नम्बरको गाडी नुवाकोटमा खानतलासीका क्रममा प्रहरीले बाघको छाला ५ थान र हड्डीहरू बरामद गरेको थियो ।

सीबीआई, इन्टरपोललगायतका एजेन्सीले तामाङबारे नयाँ प्रमाण दिएपछि उनको नेटवर्क पत्ता लगाउन सीआईबीले अनुसन्धान थालेको छ । तामाङले भारतका विभिन्न स्थानबाट वन्यजन्तुका अंगहरू तिब्बतसम्म तस्करी गर्ने गरेको प्रमाणसमेत भेटिएको छ ।

तिब्बतको परिचयपत्रसमेत भएकाले उनलाई आउजाउमा सहज हुने गरेको थियो । नेपालमा भने तामाङको स्थायी ठेगाना हुम्लाको नाम्खा गाउँपालिका–४ हो । बौद्धमा उनको १८ रोपनीमा बनेको आलिसान महलसमेत छ । उनको भारतको सिलिगुडीमा पस्मिना कारखाना रहेको समेत पाइएको छ । उक्त कारखानामा तिब्बतको पठारमा पाइने चिरुको रौंबाट अत्यधिक महँगो मानिने सलहरू बनाइने गरेको छ । उनको नेपालका बैंक खातामा अर्बौं रुपैयाँ जम्मा भएको समेत देखिन्छ । तर, उक्त रकमको स्रोत खुलेको छैन ।

२०६२ भदौ १६ मा नेपाली सेनाको दुर्गा बक्स गणको टोलीले रसुवाको साबिक स्याँफ्रु गाविस–९ मा बरामद गरिएको वन्यजन्तुका अंगहरू । तस्बिर सौजन्य : दिवाकर चापागाईं

२०६२ भदौ १६ मा नेपाली सेनाको दुर्गा बक्स गणको टोलीले रसुवाको साबिक स्याँफ्रु गाविस–९ मा बाघ, चितुवा र ओतसहितका वन्यजन्तुको ठूलो संख्यामा अंग बरामद गरिएको थियो । ती वन्यजन्तु ओसारपसार र बेचबिखनमा तामाङ संलग्न भएको दाबी गरिएको छ । तामाङले रसुवागढी हुँदै ती वन्यजन्तुका अंग केरुङबाट तिब्बत तस्करी गराउन खोजेको आरोप छ ।

उक्त तस्करी घटनामा संलग्न अन्य दोषी भने ७ वर्ष जेल बसेर निस्किसकेका छन् । तामाङसहित ३ जना फरार थिए । अरू दुई जना नुटुप लामा र डान्डुक लामा फरार सूचीमै छन् । जेल सजाय भोगेर निस्किएका ‘छबाङ’ भनिने व्यक्तिसँग तामाङको पछिल्लो समयसम्मै सम्बन्ध रहेको सीआईबीले अनुसन्धानका क्रममा भेटेको जनाएको छ ।

यो पनि पढ्नुहोस्ः

'हाइप्रोफाइल तस्कर' कुन्जोकलाई थुनामा राख्‍न आदेश

प्रकाशित : असार १७, २०७७ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?