कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अन्तिम समयसम्म लड्ने ओलीको रणनीति

बबिता शर्मा

काठमाडौँ — स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र सचिवालय सदस्यहरूले राजीनामा मागेपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिनभरी आफू निकटका नेताहरूसँग मिलेर रणनीति बनाउन व्यस्त रहे ।

अन्तिम समयसम्म लड्ने ओलीको रणनीति

दाहाल तथा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वाममदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ललितपुरको एक होटलमा समूहगत भेलामा सहभागी हुँदा प्रधानमन्त्री ओलीले पनि बालुवाटारमा आफू नजिकका नेताहरूसँग छलफल गरे ।

बुधबार बिहानै बालुवाटारमा आफू निकट मन्त्री र नेताहरूसँग पनि ओलीले छलफल गरेका थिए । दिउँसो फेरि आफू निकटका नेताहरूसँग उनले छलफल गरेका थिए । पार्टी सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मासहितका नेताहरूसँग ओलीले छलफल गरेका हुन् । ओलीलाई राष्ट्रपति विद्यादेवि भण्डारीको पनि साथ छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली अन्तिम समयसम्म लड्ने र सबै उपाय अपनाउने तर दुवै पद नछाड्ने अडानमा छन् । आफू इतरको समूहलाई गलाउने रणनीति यो समूहले तय गरेको हो । त्यसका लागि उनले तीन विकल्पमा समेत परामर्श सुरु गरेको दाहाल-नेपाल समूहको बुझाई छ । संसद विघटन गर्ने, संकटकाल लगाउने वा दल विभाजन खुकुलो बनाउने, अध्यादेश फेरि जारी गर्ने र संसदीय दलमा बहुमत पुर्‍याएर सरकार नछाड्ने विकल्पमा पनि ओलीले परामर्श गरेको हुनसक्ने बुझाई यो समूहको छ । तर, ओलीले यी सबै अर्को समूहलाई धम्काउनलाई गरेको र उनले यी विकल्प प्रयोग गर्न स्थिति सहज नभएको बुझाई पनि यो समूहको छ । यस किसिमको तयारीको ओली पक्षले भने पुष्टि गरेको छैन ।

बिहान बालुवाटारमा भएको भेलामा ओली दाहाल-समूहका नेता हरिबोल गजुरेल, मणि थापा, टोपबहादुर रायमाझी, रामबहादुर थापा, लेखराज भट्ट पनि सहभागि थिए । भेलामा ओलीले आफू अप्ठ्यारोमा परेको भन्दै सहयोग गर्न यी नेताहरूलाई आग्रह गरेका थिए ।

बिहानको भेलामा कृषिमन्त्री घनश्याम भुसाल र पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई पार्टीको निर्णय मानेर अघि बढ्न सुझाव दिएका थिए । ओलीले भने आफूलाई 'कर्नर' गरिएको र अपमान गरिएको बताएका थिए ।

प्रकाशित : असार १७, २०७७ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?