कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ओलीको आरोपमा पन्छियो भारत

सञ्चारकर्मीले ओलीको अभिव्यक्तिका विषयमा जिज्ञासा राख्दा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपाल–भारत सम्बन्धका आयामको चर्चा गरेर टारे
सुरेशराज न्यौपाने

नयाँदिल्ली — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्न षड्यन्त्र गरेको भन्दै भारतमाथि लगाएको आरोपले सत्तारूढ नेकपाभित्र ठूलै हल्लीखल्ली मच्चाए पनि भारत सरकार त्यस विषयमा औपचारिक प्रतिक्रिया जनाउन पन्छिएको छ ।

ओलीको आरोपमा पन्छियो भारत

उक्त आरोपप्रति दिल्लीका मिडिया र कूटनीतिक क्षेत्रले समेत विशेष चासो देखाएका थिए । तर बिहीबार भारतको विदेश मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले जिज्ञासा राख्दा समेत प्रवक्ता अनुराग श्रीवास्तवले केही धारणा राखेनन् । बरु उनले नेपाल–भारत सम्बन्धका अन्य आयामहरूको चर्चा गरेर टारेका थिए । ‘भारत र नेपालबीच युगौं पुरानो सांस्कृतिक र सामाजिक सम्पर्कमा आधारित गहिरो मित्रवत् सम्बन्ध छ । हामी यो मित्रतालाई थप बलियो बनाउँदै लैजान प्रतिबद्ध छौं,’ उनले भने ।

प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनद्वारा गत आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा आफूलाई सरकारबाट हटाउन षड्यन्त्र भइरहेको र त्यसका पछाडि भारत लागिपरेको बताएका थिए । ‘तपाईंहरूले पनि सुन्नुभएको हुनुपर्छ, हप्तापन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तत हुँदै छ भन्ने । भारतीय मिडिया, त्यहाँका बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । कसरी भारतको राज्य संयन्त्र अचम्मसँग सक्रिय छ,’ ओलीले भनेका थिए । उनले काठमाडौंस्थित भारतीय दूतावासको सक्रियता र होटलहरूमा भइरहेका गतिविधिका साथै दिल्लीका सञ्चारमाध्यमका सामग्रीबाट त्यो प्रस्ट भइरहेको दाबी गरेका थिए ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीको उक्त भनाइले दिल्ली र काठमाडौंमा ठूलै तरंग सिर्जना गरेको थियो । सत्तारूढ नेकपाको जारी स्थायी कमिटी बैठकभित्र यस विषयमा बाक्लै बहस भएको थियो । बैठकमा अधिकांश नेताले छिमेकीविरुद्ध बिनाआधार त्यस किसिमको टिप्पणी नगर्न ओलीलाई सचेत गराएका थिए । उक्त आरोप लगाउनुका पछाडि कुनै आधार भए सार्वजनिक गर्नसमेत चुनौती दिएका थिए ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले त बैठकमा बोल्दै ओलीले छिमेकीलाई लक्ष्य गर्दै हल्का टिप्पणी गरेको आरोप लगाउँदै प्रधानमन्त्री पदबाट राजीनामा आफूले मागेको बताएका थिए । यसअघि विपक्षी नेपाली कांग्रेसले पनि कोरोनासँग जुध्न असफल भएपछि आफूलाई हटाउन लागे भनेर प्रधानमन्त्रीले सार्वजनिक रुवाबासी गर्नु अशोभनीय भएको उल्लेख गर्दै आफ्नो कमजोरी ढाकछोप गर्न छिमेकीलाई दोष लगाएर पद सुहाउँदो काम नगरेको आरोप लगाएको थियो ।

ओलीको भनाइलाई भारतका प्रमुख अखबारहरूले विशेष स्थान दिएका थिए । प्रायः सबैजसो भारतीय मिडियाले ओलीको अभिव्यक्तिलाई सरकार सञ्चालनमा देखिएको कमजोरी र पार्टीभित्र चर्किंदै गएको द्वन्द्व व्यवस्थापनमा सफल नभएपछि त्यसबाट उम्कने बहानाका रूपमा अर्थ्याएका थिए । दिल्लीस्थित नेपाल मामिलाका जानकार तथा कूटनीतिज्ञहरूले पनि ओलीको पछिल्लो अभिव्यक्ति सरकार तथा पार्टीभित्र आफू कमजोर बन्दै गएपछि त्यसलाई ढाकछोप गर्ने असफल प्रयास भनी टिप्पणी गरेका थिए । यसले दिल्ली र काठमाडौंबीचको दूरी बढाउँदै सीमासम्बन्धी वार्ताको सम्भावनालाई थप धकेलेको उनीहरूको भनाइ थियो ।

प्रकाशित : असार १८, २०७७ २२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?