एमसीसीमा छलफल नभई संसद् अधिवेशन बन्द हुनु दुःखद : पौडेल

सम्झना रसाइली

तनहुँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ नेकपाको विग्रहले सरकारले अचानक संसद अधिवेशन बन्द गर्दा एमसीसी लगायत महत्वपूर्ण विधेयकमा निर्णय हुन नपाएको भन्दै दुःख व्यक्त गरेका छन् ।

एमसीसीमा छलफल नभई संसद् अधिवेशन बन्द हुनु दुःखद : पौडेल

जिल्लामा सञ्चालित आइसोलेसनमा बसेका नागरिकका लागि स्वास्थ्य सुरक्षा सामग्री लिएर गृहजिल्ला आएका नेता पौडेलले भने, ‘सत्ताधारी पार्टीको विग्रहका कारण संसदमा एमसीसी ठीक या बेठीक भन्ने विषयमा छलफलसम्म हुन नसक्नु दुःखद् भयो ।’

सरकारको सिफारिसमा बिहीबार बेलुकी ५ बजेदेखि लागू हुनेगरी राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदन अन्त्य घोषणा गरेकी थिइन् ।

उनले कोरोना भाइरसका कारण मुलुक गम्भीर संकटमा फसिरहेको समयमा सत्ताधारी पार्टीको आन्तरिक विद्रोहले मुलुकलाई थप संकटमा पुर्‍याउने खतरा बढेको बताए । यस्तै, सरकारले ल्याएको बजेटले पनि कुनै ठोस आकार दिन नसकेको बताउँदै पौडेलले गाउँमै आम्दानी र रोजगारी दिनुपर्ने र उत्पादनशील क्षेत्रमा बजेट खर्च गर्नका लागि स्थानीय तहहरुलाई गाइडलाइन दिन सरकार चुकेको आरोप लगाए । ‘हचुवाको भरमा कहिले ओम्नी, कहिले यति समूह र कहिले सेनालाई अगाडि सारेर सरकार कोराना सामग्री खरिदमा भ्रष्टाचारमा लिप्त भयो’, नेता पौडेलले भने, ‘जनतालाई सरकारले कोरोनाको महामारीसँगै भ्रष्टाचारको महामारीको पीडा दिएको छ । समस्या जन्माउने समाधान दिन नसक्नेको हातमा देश गएकोले दुई तिहाइको कम्युनिष्ट सरकार असफल भएको छ ।’

नेता पौडेलले जिल्लाका आइसोलेसन रहेका जीपी कोइराला अस्पताल, आदिकवि भानुभक्त क्याम्पस, बन्दीपुर गाउँपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिकालाई पीपीइ सेट ४१ थान, सर्जिकल मास्क १ हजार ८ सय थान, स्यानिटाइजर ४० लिटर र टावल १०२ थान प्रदान गरेका थिए ।

यसैगरी लमजुङको मध्यनेपाल नगरपालिका र नेपाल पत्रकार महासंघ तनहुँ शाखालाई पनि स्वास्थ्य सामाग्री प्रदान गरेका थिए ।

प्रकाशित : असार १९, २०७७ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?