कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्राध्यापक संघले त्रिवि पदाधिकारीको राजीनामा माग्यो

काठमाडौँ — प्रतिपक्षी कांग्रेस निकट प्रजातान्त्रिक प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति सहितका पदाधिकारीको राजीनामा मागेको छ ।

प्राध्यापक संघले त्रिवि पदाधिकारीको राजीनामा माग्यो

राजनीतिक भागबण्डाको आधारमा गरिएको नियुक्ति अन्त्य गनुपर्ने संघको माग छ । संघले शुक्रबार उपकुलपति धर्मकान्त बाँस्कोटालाई ३३ बुँदे ज्ञापनपत्र बुझाउँदै जेष्ठता र प्राज्ञिक विशिष्टताको आधारमा शैक्षिक एंव प्रशासनिक नियुक्ति गर्न जोड दिएको हो । नियुक्तिको मापदण्ड बनाउन निवृत्त प्राध्यापकहरु सम्मिलित कार्यदल बनाउन सुझाव दिएको छ ।

पछिल्लो समय भागबण्डाको आधारमा नियुक्त उपकुलपति, रेक्टर, रजिष्ट्रारलगायत पदाधिकारीले राजीनामा दिनुपर्ने संघको माग छ । यी ३ पदमा विद्यावारिधी (पिएचडी) उपाधिप्राप्त प्राध्यापक नियुक्ति गरिनुपर्ने संघका अध्यक्ष जगत तिमिल्सिनाले दाबी गरे । ‘पिएचीडी उपाधि नलिएका उपकुलपतिले नैतिकको आधारमा राजीनामा दिनुपर्छ,’ उनले भने । त्यस्तै बहालवालाको सट्टा सेवा निवृत्त रजिष्ट्रार नियुक्तिमा पनि संघले असन्तुष्टि जनाएको हो । पेशल दाहाल त्रिविका रजिष्ट्रार छन् ।

नेकपाको आन्तरिक भागबण्डामा रेक्टर नियुक्ति गरेको भन्दै पनि संघले आपत्ति जनाएको छ । कांग्रेस र प्राध्यापक संघले त्रिवि रेक्टरको दाबी गर्दै आएको थियो । रेक्टरमा शिवलाल भुसाल नियुक्त भएपछि संघ असन्तुष्ट छ । डिन, विभाग र क्याम्पस प्रमुखमा पनि सत्तारुढ नेकपा निकट प्राध्यापकहरु एकलौटी रुपमा नियुक्त हुन थालेपछि अझै असन्तुष्टि बढेको हो ।

ज्ञापनपत्रमा करारमा नियुक्त प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धा र आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिन माग गरिएको छ । त्रिविले विभिन्न संघसंस्थालाई बाँडेको जग्गा फिर्ता लिन ज्ञापनपत्रमा आग्रह गरिएको छ । अनलाइन कक्षालाई व्यवस्थित बनाउन माग गरिएको हो । त्यसका लागि प्राध्यापकहरुलाई सामग्री खरिद गर्न तत्काल १ लाख रुपैयाँ आवश्यक रहेको औंल्याइएको छ । आंगिक क्याम्पस र विभागहरुमा सूचना प्रविधिको पहुँच विस्तार गर्न ५० लाखको दरले रकम माग गरिएको छ । विद्यार्थीलाई शिक्षण शुल्कमा छुट र सहुलियत दिनुपर्ने माग राखिएको छ ।

प्रकाशित : असार १९, २०७७ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?