३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दिल्लीबाट ६ नेपाली महिलाको उद्धार

मनोज पौडेल

कपिलवस्तु — राम्रो तलब र जागिरको प्रलोभन दिएर भारत हुँदै खाडी मुलुक लैजान लागेका ६ नेपाली महिलाको दिल्लीबाट उद्धार गरिएको छ । करिब तीन महिनादेखि अलपत्र उनीहरूलाई उद्धार गरेर शुक्रबार कृष्णनगर ल्याइएको हो ।

दिल्लीबाट ६ नेपाली महिलाको उद्धार

जिल्लामा रहेका स्थानीय बिचौलियाले विदेशमा राम्रो रोजगारीको अवसर छ भन्दै फकाएर दिल्ली पुर्‍याएका थिए । ‘एक पैसा पनि लाग्दैन, इराक र कतारमा जागिर पाइन्छ’ भन्दै लोभ्याएको उनीहरूले बताए ।

मोरङका ४, झापा र पर्वतका एक/एक जना दिल्लीमा अलपत्र थिए । सबैलाई उद्धार गरी यहाँ ल्याइएको हो । स्थानीय बिचौलियाले रोजगारीबारे थप जानकारी बुझ्न र पासपोर्ट बनाउन उनीहरूलाई काठमाडौंका मुख्य एजेन्टकहाँ पठाएका थिए । गत फागुन १० देखि १३ गतेभित्रै ती जिल्लाबाट उनीहरू काठमाडौं पुगेका थिए । त्यहाँ पुगेपछि ‘रोजगारी राम्रो छ, अवसर गुमाउनु हुन्न’ भनेर प्रलोभन दिइएको थियो ।

बिचौलियामार्फत काठमाडौंमा उनीहरूको पासपोर्ट बनाइयो । आफूहरूले पासपोर्ट बुझेर एजेन्टलाई नै दिएको उद्धार गरिएकी मोरङकी एक महिलाले सुनाइन् । पासपोर्ट बनाएपछि उनीहरूलाई पोखरा लगेर एक रात राखी बुटवल ल्याइएको थियो । त्यहाँबाट दाङमा एक रात राखेर नेपालगन्ज लगियो । त्यहाँ दुई रात राखेर सीमा कटाइयो । बिहानै सीमा कटाएपछि भारतको रुपैडिया पुर्‍याइयो । त्यहाँबाट बसमा चढाएर दिल्ली लगिएको थियो । उनीहरू फागुन ३० मा उनीहरू दिल्ली पुगेका थिए । दिल्लीको बुरादी जारोदाको एक घरमा लगेर राखेर बाहिरबाट ताल्चा लगाइएको थियो । त्यहाँ पुगेपछि बिचौलियाले रासनपानी दिएर राखेका थिए । उनीहरू आफैं पकाएर खाना खाने गर्थे । चैत दोस्रो साता भारतमा पनि लकडाउन भएपछि एजेन्टहरूले रासनपानी पनि पुर्‍याउन छाडे । मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन भए । त्यसपछि महिलाहरूले बाहिर निस्किएर स्थानीयसँग सहयोग मागी खाना खान थालेको र घरमा फोन गरेर उद्धार गर्न आग्रह गरेको सुनाए ।

उनीहरू अलपत्र परेको सूचना शान्ति पुन:स्थापना गृह (पीआरसी) सम्म पुग्यो । त्यसपछि गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईको पहलमा कृष्णनगर ल्याइएको हो । उनीहरू २६, २७, ३४, ४० र ४१ वर्षका छन् । दिल्लीमा देशभक्त आवाजका अध्यक्ष बाबु रोक्काले उद्धारको अगुवाइ गरेका थिए । त्यसमा दूतावासले पनि सहयोग गरेको उनीहरूले बताए । उद्धार गरिएका महिलाले मानव बेचबिखनविरुद्ध सीआईबीमा पनि जाहेरी दिएका छन् । उनीहरूले आफूलाई ललाइफकाई पठाउने स्थानीय बिचौलियाको नामसमेत जाहेरीमा उल्लेख गरेका छन् । मुद्दाको थप अनुसन्धानका लागि काठमाडौं जान लागेको उनीहरूले सुनाए । ‘लकडाउनका कारण काठमाडौं जान अनुमति चाहिन्छ,’ इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले भने, ‘त्यो लिने प्रक्रियामा छौं । आइतबारसम्म उनीहरू काठमाडौं जान्छन् ।’ काठमाडौंमा उनीहरूको स्वास्थ्य परीक्षण र घटनाबारे बयान लिइनेछ ।

उनीहरू घरबाट हिँडेदेखि एक ठाउँबाट अर्को ठाउँ लैजाँदा मान्छेहरू फेरिरहने गरेको उद्धार गरिएकी एक महिलाले बताइन् । यसले मनमा चस्को पसे पनि केही भन्न नसकेको उनले सुनाइन् । उद्धार गरिएका सबै विवाहिता हुन् । तीन जनाका श्रीमान् साथमा छैनन् । कतिपय बालबच्चा घरमै छाडेर जागिरको प्रलोभनमा हिँडेको बताएका छन् ।

प्रकाशित : असार २१, २०७७ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?