१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

चिनियाँ राजदूत यान्छीको भेटघाटले दिल्ली तरंगित

सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको आइतबार नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भएको भेटलाई भारतीय सञ्चारमाध्यमले विशेष महत्त्वका साथ चर्चामा ल्याएका छन् । भारतीय मिडियाले राजदूत होउको विगतको जिम्मेवारी, सामाजिक सञ्जालमा सक्रियतादेखि सुन्दरतासम्मको टिप्पणी गर्दै आएका छन् ।

चिनियाँ राजदूत यान्छीको भेटघाटले दिल्ली तरंगित

उनको राजनीतिक भेटघाटलाई विशेष चासोका साथ हेर्दै ‘नेपालमा चीनको बढ्दो हस्तक्षेप र नेपालको चीनप्रतिको झुकाव’ का रूपमा व्याख्या गर्दै आएका छन् ।

नेपालले लिम्पियाधुरासम्म समेटेर नक्सा प्रकाशन गर्नुका पछाडि चीनको हात रहेको समेत केही कूटनीतिज्ञ र विश्लेषकले दाबी गर्दै आएका छन् । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले पनि नेपालले धार्चुला–लिपुलेक पास जोड्ने सडकको विरोध गरेपछि घुमाउरो पाराले नेपालले चीनको आडमा विरोध भएको दाबी गरेका थिए । नेपालका लागि भारतका एक पूर्वराजदूतले होउको सक्रियता चीनको दीर्घकालीन रणनीतिअनुसार भइरहेको दाबी गरे । ‘सधैं पञ्चशीलको वकालत गर्ने चीनले नेपालको आन्तरिक राजनीतिमा यसरी खुलेर सक्रिय बन्नु सामान्य होइन, त्यसैले दिल्ली स्वाभाविक रूपमा चनाखो हुनुपर्छ’ उनले भने ।

केही भारतीय सञ्चारमाध्यमले पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्धमा चिसोपन आउनाका पछाडि राजदूत होउको सक्रियतालाई ठानेका छन् । भारतीय हिन्दी दैनिक अमर उज्यालाले भारतको छिमेकी देश नेपालसँग सम्बन्ध बिग्रनुमा राजनीतिक कारणका साथै चीनको कूटनीति पनि जिम्मेवार रहेको र त्यसका लागि राजदूत होउको भूमिका रहेको दाबी गरेको छ । पत्रिकाले राजदूत होउ फेसबुक ट्वीटर र इन्स्टाग्राममार्फत पनि नेपालहरूमाझ लोकप्रिय बनेको उल्लेख गरेको छ ।

भारतीय समाचार एजेन्सी पीटीआईले पनि राजदूत होउले फेरि एकपटक नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गरेको उल्लेख गरेको छ । एजेन्सीले राजदूत होउ र नेपालबीचको भेटघाटपछि नै जारी स्थायी समितिको बैठक बुधबारका लागि सारिएको दाबी गरेको छ । सत्तारूढ दलभित्रको विवाद बढ्दै गएपछि चिनियाँ राजदूतले आफ्नो सक्रियता बढाउँदै लगेको पीटीआईले लेखेको छ । त्यसैगरी भारतकै अर्को समाचार एजेन्सी आईएनएसले त राजदूत होउले काठमाडौंको कूटनीतिलाई नै पुनर्परिभाषित गरेको र भारतसँगको विवादित भूमिलाई समेटेर प्रधानमन्त्री ओलीको नयाँ नक्सा जारी गर्ने अनपेक्षित कदमका पछाडिसमेत हात रहेको लेखेको छ । ओलीविरुद्ध बढ्दो आक्रोश मत्थर पार्न अरू नेताहरूसँग भेटघाट गरेको समेत आईएनएसले लेखेको छ ।

यसअघि गत वैशाखमा नेकपाभित्र कलह चर्किएपछि राजदूत होउले गरेका राजनीतिक भेटघाट र विकसित घटनाक्रमलाई दिल्लीमा विशेष चासोका साथ हेरिएको थियो । त्यतिबेला राजदूत होउले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पार्टीका शीर्ष नेताहरूलाई समेत भेटेकी थिइन् । र, केही दिनको तनावपछि पार्टीको कलह थामथुम भएको थियो । त्यतिबेला पनि भारतीय विश्लेषक र मिडियाले राजदूत होउमाथि नेपालको राजनीतिमा हस्तेक्षप गरेको आरोप लगाएका थिए । राजदूत होउकै सक्रियताका कारण नेकपाभित्रको विवाद सुल्झिएको दाबी गरेका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : असार २३, २०७७ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?