कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

रुकुम घटनामा जोडिएका किशोरकिशोरीलाई बाल सुधारगृहमा पठाउने आदेश कानुनसम्मत् : सर्वोच्च

कृष्ण ज्ञवाली

काठमाडौँ — सर्वोच्च अदालतले रुकुमको सोतीगाँउमा ६ जनाको ज्यान जानेगरी भएको सामूहिक हत्याकाण्डमा जोडिएका किशोरकिशोरीलाई बाल सुधारगृहमा पठाउने जिल्ला अदालतको आदेशलाई सही ठहर्‍याएको छ । न्यायाधीशहरु अनिल सिन्हा र हरि फुँयालको इजलासले उमेर नपुगेका दुई व्यक्तिलाई बाल सुधार गृहमा पठाउने आदेशलाई सदर गर्दै बन्दी प्रत्यक्षीकरणका दुई निवेदन खारेज गरेको हो ।

रुकुम घटनामा जोडिएका किशोरकिशोरीलाई बाल सुधारगृहमा पठाउने आदेश कानुनसम्मत् : सर्वोच्च

प्रहरीले उनीहरुलाई पक्राउ गरी गलत रुपमा अभियोजन गरेको दावीसहित सर्वोच्च अदालतमा निवेदन परेको थियो ।

आरोपपत्र दर्ता नहुँदै सर्वोच्चमा दर्ता भएको निवेदनमा उनीहरुमाथि पक्राउदेखि अभियोजनसम्मका प्रक्रियाको कानुनी बैधतामा प्रश्न उठाइएको थियो । अधिवक्ता लक्ष्मी थापा र क्राउन नेपाल नामक संस्थाको तर्फबाट अधिवक्ता कमल कोइरालाले तीन दिनको फरकमा सर्वोच्चमा छट्टाछुट्टै निवेदन दर्ता गरेका थिए । सर्वोच्चमा छलफलका क्रममा उनीहरुले जिल्ला अदालतले पनि गैरकानुनी आदेश गरेको दावी गरेका थिए । ती दुई जनालाई पक्राउ गर्ने र बाल सुधार गृहमा पठाउने काम गैरकानुनी भएको दाबीसहित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन परेको थियो । राज्यका निकायहरुले कसैलाई गैरकानुनी रुपमा पक्राउ गरेर थुनामा राखेमा त्यसको उपचारका लागि अदालतमा ‘बन्दी प्रत्यक्षीकरण’को निवेदन दिइन्छ । यदि थुना गैरकानुनी रहेछ भने अदालतले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी रिहा गर्न निर्देशन दिन्छ ।

सुनुवाइपछि गत आइतबार निवेदन खारेज गर्दै सर्वोच्चले केही निर्देशनात्मक आदेश जारी गरेको हो । सर्वोच्च अदालतले फौजदारी अभियोगमा बालबालिका ऐन आकर्षित हुने किशोरकिशोरीका हकमा कानुनी कार्यविधि पालना गर्न निर्देशनात्मक आदेश दिएको छ । नियमित प्रक्रियाअनुसार, जिल्ला अदालतको थुनछेक आदेश चित्त नबुझे एकतह माथिको उच्च अदालत जानुपर्ने हुन्छ । तर उनीहरुले जिल्लामा मुद्दा दर्ता र आदेश नै नहुँदै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

के आरोप थियो ?

ती किशोरीमाथिको हत्या, ज्यान मार्ने प्रयास अनि जातीय छुवाछूतको आरोपमा प्रहरीले मुद्दा चलाएको थियो । तर आरोपपत्रमा प्रहरीले जातीय छुवाछूतको विषय पुष्टि हुने बाहेकका प्रत्यक्ष प्रमाण जुटाउन सकेको थिएन । ती किशोरीले नवराज विश्वकर्मालाई आफ्नो मोबाइलबाट म्यासेजमा ‘ठकुरीसँग कुरा गर्ने.....’ भनी जातीय अपमानजनक म्यासेज पठाएको देखिन्छ । आरोपपत्र अनुसार, ‘देख्लास, ड्याडी ममीलाई भन्दिन्छु’ भन्ने म्यासेज पठाएको देखिन्छ भनी आरोपपत्रमा उल्लेख छ ।

प्रहरीले जाहेरी दर्खास्तमा केवल किशोरीको नाम पोलेको र जातीय अपमान हुने गरी आमाले गालीगलौज गर्दा सँगै रहेको भन्ने आधारमा मात्रै तीनवटा मुद्दा दायर गरेको हो । बयानअनुसार, उनीहरुबीचको सम्बन्ध टुंगिइसकेको देखिन्छ । प्रहरीले यसै विषयलाई आधार बनाई मुद्दा चलाएको देखिन्छ । उनीहरुबीच सम्बन्ध टुंगिएकाले रिसईबी भएको र त्यही कारणले ती किशोरीले नवराज लगायतको हत्या योजना बनाएको आरोपपत्रमा उल्लेख थियो ।

मृतक नवराज विश्वकर्माकी प्रेमिका भनिएकी किशोरीले प्रहरीसँगको बयानमा आफ्नो बुबा, दाइ र अन्य गाउँले प्रत्यक्ष संलग्नता रहेको बयान दिएकी थिइन् । उनले बयानमा भनेकी थिइन्–‘मेरो बुवा, दाइ समेतले लखेट्दै घेरा हाल्दै कुटपिट गरी मारेको विश्वास लाग्छ ।’ उनले अदालतमा बाबु र दाइको नाम नपोले पनि अरु ६ जनाको हकमा कुटपिटबाटै ज्यान गएको थाह पाएको बताएकी छन् । तर त्यसमा आफ्नो कुनै भूमिका नरहेको दाबी गरेकी थिइन् ।

गत असार १ गते नै रुकुम पश्चिमको जिल्ला अदालतले सोतीगाँउको सामूहिक हत्याकाण्डमा मुछिएका दुई जनालाई बाल सुधारगृहमा पठाउन आदेश दिएको थियो । अदालतले आदेश दिएका दुई जनामध्ये एक नवराजकी प्रेमिका भनिएकी किशोरी थिइन् भने अर्का किशोरमाथि घटनामा संलग्न भएको आरोप थियो । त्यसको डेढ सातापछि मात्रै अरु २३ जनालाई पनि थुनामा पठाउने आदेश गरेको थियो ।

प्रकाशित : असार २३, २०७७ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?