१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अझै बनेन कोरोना अस्पताल

बिर्तामोड — झापामा कोभिड अस्पताल निर्माणमा ढिलाइ भएको छ । प्रदेश सरकारले भद्रपुर नगरपालिकास्थित मेची अस्पतालको निर्माणाधीन भवनमा कोभिड अस्पताल बनाउने निर्णय गरे पनि अहिलेसम्म प्रक्रिया अघि बढाएको छैन ।

अझै बनेन कोरोना अस्पताल

अस्पताल बनाउन ढिलाइ भएपछि जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकालाई मोरङको गोठगाउँ, विराटनगर र सुनसरीको धरान पठाउने गरिएको छ । संक्रमितलाई जिल्ला बाहिरका अस्पतालमा पठाउनुपर्दा खर्चको भार बढेको कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमले बताए । कचनकवलले संक्रमितलाई अस्पताल पठाउन २७ सिट क्षमताको एउटा मिनी बस नै भाडामा लिएको छ । ‘एक दिनमा २७ जनासम्म संक्रमितलाई विराटनगर र धरानको अस्पतालमा पुर्‍याउनुपर्दा बस नै भाडामा लिनुपर्‍यो,’ आलमले भने, ‘जिल्लामै कोभिड अस्पताल निर्माण भएको भए गाडी भाडाको खर्च धेरै हदसम्म कम गर्न सकिन्थ्यो ।’

जिल्लामा पहिलो पटक वैशाख १२ मा दमक नगरपालिका–३ का ६२ वर्षीय वृद्धमा संक्रमण पुष्टि भएको थियो । जेठ ५ यता जिल्लामा संक्रमितको संख्या बढेर गएको हो । जिल्लाका १५ वटै पालिकामा संक्रमण पुष्टि भए पनि भद्रपुरमा निर्माण गर्ने भनिएको कोभिड अस्पताल निर्माणमा ढिलाइ भएको हो । प्रदेश सरकारले कोभिड–१९ बारे शुक्रबार सार्वजनिक गरेको एक प्रतिवेदनमा झापामा कोभिड अस्पताल निर्माण गर्ने उल्लेख छैन । उसले भद्रपुरस्थित मेची अस्पतालमा एक सय शैयाको तथा मेचीनगरस्थित धाइजन हेल्थ पोस्टमा २५ शय्याको आइसोलेसन केन्द्र स्थापना तथा स्तरोन्नति गर्ने उल्लेख गरेको छ । आइसोलेसनका लागि मेची अस्पतालमा तयारी अन्तिम चरणमा पुगेको तथा धाइजनमा बजेट निकासा भइसकेको प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला कोरोना भाइरस संक्रमण रोकथाम, अनुगमन तथा समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले कोभिड अस्पताल निर्माणमा ढिलाइ भए पनि प्रक्रिया चलिरहेको बताए । मेची अस्पतालको निर्माणाधीन भवनमा आवश्यक पूर्वाधार बनाउने काम भइरहेको उनले दाबी गरे । ‘निर्माणाधीन भवनमा अस्पताल बनाउने तयारी गरिएकाले केही ढिलाइ भएको हो । तर, कोभिड अस्पतालकै लागि शौचालय, ढोका, झ्याल र फिनिसिङ गर्ने काम धमाधम भइरहेको छ,’ उनले भने । साउन पहिलो हप्तादेखि जिल्लामै कोभिड अस्पताल सञ्चालनमा ल्याउनेगरी काम गरिरहेको उनको भनाइ छ । भद्रपुरमा ५० शय्याको कोभिड अस्पताल निर्माण गर्ने गरी जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका पोर्तेलले पहल गरिरहेका छन् ।

प्रकाशित : असार २४, २०७७ ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?