३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

घर पठाइएका १४ जनामा संक्रमण

क्वारेन्टाइनबाट घर पठाइएका ५१ जनामध्ये १४ जनामा कोरोना पुष्टि भयो । सो जानकारी पाउँदासम्म उनीहरूले परिवार र छिमेकीसहित धेरै जनासँग भेटघाट गरिसकेका थिए ।
वसन्तप्रताप सिंह

बझाङ — बाजुराको बुढीनन्दा नगरपालिकाको घटाल प्राथमिक विद्यालयको प्रांगणमा भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका ५१ जनालाई शनिबार बिदाइ गरियो । अध्यक्षको रोहवरमा वडा कार्यालयले तयार गरेको ‘एक सातासम्म अनिवार्य होम क्वारेन्टाइनमा बस्नेछौं’ भन्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै दिउँसो उनीहरू घर फर्किए ।

घर पठाइएका १४ जनामा संक्रमण

यसरी फर्किनेमा बुढीनन्दा नगरपालिकाको समाल गाउँका तारा लुहार र उनका भाइ पनि थिए । उनीहरू घर पुगे तर कागजमा भनेजस्तै होम क्वारेन्टाइनमा बसेनन् । छरछिमेकमा पुगे । ढोगभेट गरे । साना नानीहरूलाई काखमा लिएर सुमसुम्याए । यति गरिसक्दा रातको ८ बजिसकेको थियो । उनीहरू परिवारसँगै बसेर खाना खाइरहेका थिए । एक्कासि ताराको मोबाइलमा फोन आयो ।

‘हामी दुवैलाई कुनै पनि लक्षण थिएन । वर्षौंपछि घर आएकाले आफन्तकहाँ ढोगभेट गर्न गयौं,’ ताराले भने, ‘भाइलाई कोरोना पुष्टि भएको भन्दै फोन आएपछि छक्क परियो ।’

क्वारेन्टाइनबाट उनीहरूसँगै घर पठाइएका ५१ जनामध्ये १४ जनामा कोरोना पुष्टि भयो । यो जानकारी पाउँदासम्म उनीहरूले धेरै जनासँग भेटघाट गरिसकेका थिए । उनीहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिपोर्ट सार्वजनिक गरेको एक घण्टापछि साँझ ५ बजेतिर छाडिएको थियो । वडाध्यक्ष अशोक दानीले त्यतिबेलासम्म क्वारेन्टाइनमा बसेकामा संक्रमण देखिएको कुनै जानकारी नपाएको बताए । ‘हामीलाई तुरुन्तै घर पठाउनुपर्छ भनेर जबर्जस्ती गर्न थाले । रिपोर्ट कहिले आउँछ भन्ने पनि निश्चित थिएन । त्यही भएर कागज गराएर घर पठाएका हौं,’ उनले भने, ‘घर पुगेर सबैसँग भेटघाट गरेछन् । कतिको पछि लाग्न सकिन्छ र ?’

क्वारेन्टाइनबाट फर्केकाहरू भने आफूहरूले जबर्जस्ती नगरेको र वडाध्यक्षले नै जाऊ भनेर पठाएको बताउँछन् । ‘रिपोर्ट कहिले आउँछ भन्नुस्, हामी थप १५ दिन बस्नुपरे पनि बस्छौं भनेका थियौं,’ एक संक्रमितले भने, ‘उहाँले नै रिपोर्ट आउने निश्चित छैन, खर्च पनि धेरै भइसक्यो । तपार्इंहरू कोही बिमारी हुनुहुन्न, जानुस् भनेर पठाउनुभएको हो ।’

जनप्रतिनिधिको लापरबाहीले संक्रमण समुदायमा पुगिरहेको यो एउटा घटना मात्रै होइन । वडा नं. ५ को नन्देश्वरी मावि क्वारेन्टाइनमा रहेका १६ जना संक्रमितलाई पनि यसैगरी बिदाइ गरेर आइतबार घर पठाइएको थियो । उनीहरूलाई कोरोना पुष्टि भएको ४ दिन मात्रै भएको थियो । ‘तिमीहरू सबै सन्चै छौ । यता बसेर के गर्छाै ? घर जाऊ भनेर वडाध्यक्षले पठाए,’ छातीकोट गाउँका एक संक्रमितले भने, ‘हामीले त १४ दिन नपुग्दासम्म यतै बस्छौं भनेका हौं । नगरपालिकामा सल्लाह भएर नै पठाउन लागेका हौं । घर जाँदा केही हुन्न भन्नुभयो ।’

३ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको बुढीनन्दा नगरपालिकामा ४३ जनामा संक्रमण देखिएको छ । आइतबारसम्म उनीहरू सबैलाई घर पठाइसकिएको छ । अहिले आइसोलेसन र क्वारेन्टाइनमा कोही पनि छैनन् । संक्रमितलाई यसरी घर पठाउँदा समुदायमा संक्रमण फैलिन्छ भनेर आफूहरूले भन्दाभन्दै जनप्रतिनिधिले नै जबर्जस्ती पठाएको नगरपालिकाकै स्वास्थ्य शाखा संयोजक जसी लुहारले बताए । ‘हामीले यसो नगर्नुस्, बर्बाद हुन्छ भनेर पटकपटक भनेका हौं । उहाँहरूले मान्नुभएन,’ उनले भने, ‘खर्चले धान्दैन । क्वारेन्टाइनमा पनि संक्रमित र अरू घुलमिल भइसकेका छन् भनेर पठाइदिनुभयो ।’ जनप्रतिनिधिको लापरबाहीले नगरपालिकामा समुदायस्तरमा संक्रमण फैलिसकेको उनले दाबी गरे । ‘संक्रमितहरू कोराना पुष्टि भएकै दिन घर गएर बालबच्चा, श्रीमतीसँग बसिसकेका छन् । कृषिकर्मदेखि सामूहिक काममा गइसकेका छन्,’ उनले भने, ‘अब नियन्त्रण गर्न सकिने अवस्थै छैन ।’

संक्रमितलाई छाडेका सम्बन्धमा नगर उपमेयर सृष्टि रेग्मीले विज्ञप्ति नै जारी गरेर असहमति जनाएकी छन् । उनले संकटका बेला जिम्मेवार भएर अभिभावकीय भूमिका खेल्नुपर्ने मेयरले नै १४ दिन नपुग्दै सबैलाई घर पठाउन आदेश दिएर जनताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको आरोप लगाएकी छन् । ‘गल्ती हुनु भइहाल्यो । जनतालाई बचाउने हो भने तत्काल कन्ट्याक्ट ट्रेसिङ गरेर सबैलाई आइसोलेसनमा राख्नका लागि पहल भएन भने ठूलो दुर्घटना हुनेवाला छ,’ उनले भनिन् ।

मेयर पदम गिरीले आइसोलेसन र क्वारेन्टाइनमा बस्नेहरूले हूलदंगा गर्न थालेको र जनप्रतिनिधिमाथि नै आक्रमण हुने अवस्था आएपछि सबैलाई कागज गरेर पठाएको प्रतिक्रिया दिए । ‘हामीलाई केही भएको छैन, खेतीपातीको समय छ भनेर उधुम गर्न थाले,’ उनले भने, ‘सबैलाई होम क्वारेन्टाइन र आइसोलेसनमा बस्ने कागज गराएर छाडेका हौं ।’ सबै लामो समय क्वारेन्टाइनमा बसिसकेको र कसैलाई पनि लक्षण नदेखिएकाले सरकारले तोकेको मापदण्डअनुसार नै घर पठाएको उनले दाबी गरे । उनीहरू समुदायमा गएर घुलमिल भइसकेकाले सबैको कन्ट्याक्ट ट्रेसिङ सम्भव नहुने उनले बताए । ‘कसैलाई लक्षण देखियो भने आइसोलेसनमा राखेर उपचार गर्न नगरपालिका तयार छ,’ मेयर गिरीले भने ।

बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले यो घटनाबारे आफूलाई जानकारी नभएको बताए । उनले शनिबार मात्रै मेयर गिरीले केही दिन छोड्न मिल्छ कि मिल्दैन भनेर सोधेको र आफूले स्वास्थ्य कार्यालय प्रमुख र जिल्ला अस्पतालका डाक्टरसँग सल्लाह गर्दा संक्रमितलाई १४ दिन नपुगी छोड्न नमिल्ने जवाफ दिएको बताए ।

प्रकाशित : असार २४, २०७७ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?