‘संक्रमित बढे भेन्टिलेटर र आईसीयू पुग्दैन’

समुदायमा संक्रमण फैलिने संकेत देखिएकाले दीर्घरोगी र वृद्धवृद्धाजस्ता जोखिम वर्गलाई बचाउन बलियो पूर्वाधार बनाउन ढिला भइसकेको छ । –डा. प्रभात अधिकारी, संक्रामक रोग विशेषज्ञ
देशभर ९ सय हाराहारी भेन्टिलेटर र दुई हजार आईसीयू बेड छन्, उपत्यकाका अस्पतालमा भेन्टिलेटरसहितको पाँच सय बेड मात्र छ ।
फातिमा बानु

काठमाडौँ — उपत्यकामा गम्भीर बिरामीको उपचारका लागि आईसीयू र भेन्टिलेटरको संख्या न्यून रहेको विज्ञले बताएका छन् । कोरोना संक्रमणका कारण ५ प्रतिशत बिरामी शिथिल हुने भएकाले तिनलाई आवश्यक पर्ने विशेष पूर्वाधार बढाउनुपर्ने उनीहरूको भनाइ छ । कोरोना संक्रमणमध्ये १० देखि १५ प्रतिशतलाई अस्पताल राख्नुपर्ने हुन्छ । हालसम्मका तथ्यांकअनुसार करिब ५ प्रतिशतसम्मलाई आईसीयू र भेन्टिलेटर आवश्यक पर्छ ।

‘संक्रमित बढे भेन्टिलेटर र आईसीयू पुग्दैन’

नेपालमा संक्रमितमध्ये एकदम कमलाई मात्रै आईसीयूमा राखेर उपचार गरिएको छ । सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार कोरोना संक्रमणले मुख्यगरी बिरामीको फोक्सोमा आक्रमण गर्छ र निमोनिया हुन्छ । यस्तो अवस्थामा अक्सिजन नपुगेर बिरामी गम्भीर अवस्थामा पुग्न सक्छ । त्यसैले कृत्रिम श्वासप्रश्वासका लागि भेन्टिलेटरको आवश्यकता पर्छ । ‘बिरामीको मुटुको चाल हेर्न र गम्भीर अवस्थामा पुग्नुको कारण पत्ता लगाउन आईसीयूमा राखेर मोनिटर गर्नुपर्छ,’ उनले भने, ‘गम्भीर अवस्थामा उपचार नपाए बिरामीको मृत्यु नै हुन सक्छ ।’

नेपालमा साउन १५ गतेसम्ममा कोरोना संक्रमितको संख्या ४० हजार पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपण छ । तर त्यसअनुसार तयारी नपुगेको संक्रामक रोग विशेषज्ञ डा. अधिकारीले बताए ।

‘उपत्यकाको जनघनत्व र संक्रमण वृद्धिदर हेर्दा अस्पतालहरूको पूर्वाधार पुगेको छैन,’ उनले भने, ‘अक्सिजन उत्पादनदेखि भेन्टिलेटर थप र आईसीयू बेडको संख्या बढाउनुपर्छ ।’

दिनमा एक सय संक्रमित मात्रै थपिए भने पनि तीन दिनमै अस्पतालका आईसीयू भरिने स्थिति रहेको उनले बताए । समुदायमा संक्रमण फैलिने संकेत देखिएकाले दीर्घरोगी र वृद्धवृद्धाजस्ता जोखिम वर्गलाई बचाउन बलियो पूर्वाधार बनाउन ढिला भइसकेको उनको भनाइ छ । ‘अक्सिजन उत्पादन दुई सय प्रतिशतले बढाएर तयारी अवस्थामा राख्नुपर्छ,’ उनले भने, ‘यसो गर्न सकियो भने सामान्य अक्सिजन नपुगेका कारण हुने मृत्युदर घटाउन सकिन्छ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ९ सय हाराहारी भेन्टिलेटर छन् भने दुई हजार आईसीयू बेड छन् । उपत्यकाका अस्पतालमा भेन्टिलेटरसहितको पाँच सय बेड तयार रहेको मन्त्रालयका विशेषज्ञ चिकित्सक डा. रोशन पोखरेलले बताए । उपत्यकामा संक्रमण बढेसँगै विशेष पूर्वाधार बढाउने तयारी रहेको उनले बताए । ‘यसका लागि सातै प्रदेशमा गरी ३८ करोड बजेट पठाइएको छ,’ उनले भने, ‘उपत्यकाका निजी अस्पताललाई समेत भेन्टिलेटरसहितको आईसीयू बेड तयार राख्न भनिएको छ ।’

सातवटा केन्द्रीय अस्पतालबाट अक्सिजन उत्पादन गरेर साना अस्पतालमा पठाइने उनले बताए । कोरोना संक्रमितको उपचारका लागि उपत्यकामा तीनवटा विशेष अस्पताल छन् भने दुईवटा हब अस्पताल र ९ वटा निजी अस्पताललाई तोकिएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल (एपीएफ) कोरोना विशेष अस्पताल हुन् । टेकुमा सातवटा भेन्टिलेटरसहित २० बेडको आईसीयू कक्ष छ । एपीएफमा २० बेड क्षमताको आईसीयू छ भने पाटन अस्पतालमा १५ भेन्टिलेटरसहित २१ बेडको आईसीयू तयार छ ।

कोरोनाको उपचारका लागि नर्भिक, स्टार बयोधा, अल्का, ह्याम्स र बीएन्डबी, न्युरो, अल्का, सुमेरु उपत्यकाका ठूला अस्पताल हुन् । कोरोना व्यवस्थापनका लागि ती अस्पतालले ज्वरो क्लिनिकदेखि आईसीयूसम्म छुट्याएका छन् । काठमाडौं मेडिकल कलेज र किस्ट मेडिकल कलेजमा पनि यस्ता बिरामी राख्न निर्देशन दिइएको छ । त्यस्तै कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा पनि कोरोना बिरामी राखिएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : असार २५, २०७७ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?