१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मानवअधिकार आयोगको प्रश्‍न : जघन्य अपराधका कैदीलाई किन चौकीदार बनाइयो ? 

कारागारमा आन्तरिक प्रशासनको जिम्मा पाएका कैदीको विवरण माग
मातृका दाहाल

काठमाडौँ — राष्ट्रिय मानवअधिकार आयोगले कारागारमा आन्तरिक प्रशासनको नेतृत्व जघन्य अपराधका कैदीलाई दिएको विषयमा कारागार व्यवस्थापन विभागसँग जवाफ मागेको छ । आयोगले कारागारमा आन्तरिक प्रशासनको जिम्मा पाएका कैदी (चौकीदार, नाइके र सहनाइके) को विवरण उपलब्ध गराउन पनि निर्देशन दिएको छ । कानुनविपरीत आन्तरिक प्रशासन व्यवस्थापन गरेको विषयमा गृह मन्त्रालयले समेत विभागसँग जवाफ मागेको मन्त्रालय स्रोतले जनाएको छ ।

मानवअधिकार आयोगको प्रश्‍न : जघन्य अपराधका कैदीलाई किन चौकीदार बनाइयो ? 

केन्द्रीय कारागार, डिल्लीबजार, नख्खु, भीमफेदी, झुम्कालगायत ठूला, मध्यम र जिल्ला तहका सबैजसो कारागारमा चौकीदार नियुक्त गर्दा कानुन उल्लंघन गरिएको छ । देशभरका कारागारमा २३ हजारभन्दा बढी कैदीबन्दी रहेकोमा अदालतबाट दोषी ठहर भएर कैद भुक्तान गरिरहेकाको संख्या मात्रै १३ हजारभन्दा बढी छ । कान्तिपुरले सोमबार देशभरका कारागारको आन्तरिक प्रशासन व्यवस्थापन जिम्मा कानुनविपरीत लागूऔषध, बलात्कार, भ्रष्टाचार, मानव तस्करी, जबर्जस्ती करणीलगायत नकारात्मक सूचीका अपराधमा दोषी ठहर भएका कैदीलाई दिएको समाचार प्रकाशन गरेको थियो ।

आयोगले कारागारको हालको अवस्था, कैदीबन्दीको संख्या, त्यहाँको आन्तरिक प्रशासन व्यवस्थापनमा खटिएका चौकीदार र नाइके कुन कसुरमा कैद भुक्तान गरिरहेको भन्ने विवरण पनि खुलाएर पठाउन निर्देशन दिएको छ । आयोगका सदस्य प्रकाश वस्तीले जघन्य कसुरका अपराधमा दोषी ठहर भएका कैदीलाई आन्तरिक प्रशासनको जिम्मा किन र के कारणले दिएको भनेर सरकारसँग जवाफ मागिएको बताए । कानुनविपरीत चौकीदार र नाइके छनोट गरिएको विषयलाई आयोगले गम्भीर रूपमा लिएको उनले बताए । ‘दुई वर्षअघि नै हामीले विभिन्न कारागारको स्थलगत निरीक्षण गरेर कार्यान्वयनका लागि सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएका थियौं,’ उनले भने, ‘तर सुधार गर्नुको साटो जघन्य अपराधमा दोषी ठहर कैदीलाई नै आन्तरिक प्रशासनको जिम्मा दिइनु दु:खद हो ।’

कानुनविपरीतका यस्ता गतिविधि रोकियोस् र सुधारका लागि सरकारले तत्काल पहल गरोस् भन्ने आयोगको धारणा रहेको आयुक्त वस्तीले बताए । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले आयोगको पत्र मन्त्रालयमा आइनसकेको बताए । ‘यसबारे पत्र हेरेपछि मात्रै बोलौंला,’ उनले भने ।

विभागका सूचना अधिकारी देवर्षी सापकोटाले पनि कारागार व्यवस्थापनसम्बन्धी विषयमा आयोगले चासो जनाएको बताए । ‘जेलको आन्तरिक व्यवस्थापनका सम्बन्धमा लिखित जवाफ पेस गर्न आयोगले मौखिक निर्देशन दिइसकेको छ, औपचारिक रूपमा पत्र पाएपछि के–के विषयमा जवाफ दिने भन्ने कुरा खुल्छ,’ उनले भने ।

जेलभित्र मेस, किराना तथा खाजा पसल सञ्चालनदेखि कैदीको व्यवहार मूल्यांकन, आन्तरिक अनुशासन कायम गर्नेसम्मका जिम्मेवारी कैदी, नाइके र सहनाइकेले पाउँछन् । कानुनमै चौकीदारले एक वर्षमा दुई महिना, नाइकेले डेढ महिना र सहनाइकेको एक महिना कैद मिनाहा पाउने व्यवस्था छ । कैदीका लागि दैनिक ७ सय ग्राम चामल र ६० रुपैयाँ नगद दिने व्यवस्था रहेकामा आन्तरिक प्रशासनमा खटिएकालाई दैनिक भत्ता पनि केही बढी हुन्छ । जेलर र सुरक्षार्थ खटिएका प्रहरीसँगको मिलेमतोमा चौकीदार र नाइके कानुनविपरीत जेलबाहिर जाने गरेको समेत पाइने गर्छ ।

जेलरले कारागार व्यवस्थापन ऐन २०१९, नियमावली २०२० र कारागार व्यवस्थापन कार्यविधि २०७३ विपरीत ‘नकारात्मक सूची’को अपराधमा कसुर ठहर भई कैद भुक्तान गरिरहेका व्यक्तिलाई चौकीदार र नाइकेको जिम्मा दिएका छन् । कतिपय कारागारमा ८ वर्षसम्म एउटै व्यक्तिलाई चौकीदार नियुक्ति गरिएको छ । विदेशीलाई चौकीदार र नाइके बनाउन नपाइने, ५० प्रतिशत कैद भुक्तान गरेकालाई मात्र नेतृत्व दिइनुपर्ने प्रावधानको पनि उल्लंघन गरिएको छ ।

एकपटक मात्रै हरेक आर्थिक वर्षको साउनबाट एक वर्षसम्म जिम्मेवारी रहने गरी चौकीदार र नाइके छनोट गर्ने प्रावधान पनि उल्लंघन गरिएको छ । सप्तरी कारागारको ए ब्लकमा जेलरले भारत विहारको सुपौलका मोहम्मद सोयल आलमलाई नाइके बनाएका छन् । विभागले यस विषयमा सप्तरी कारागारसग स्पष्टीकरण मागेको छ । दुई साताअघि मात्रै लमजुङबाट चौकीदार नै फरार भए । १३ वर्ष कैद सजाय पाएका कैदीलाई जेलरले चौकीदार नियुक्त गरेका थिए । फरार भएको केही दिनमै चौकीदारलाई पक्राउ गरिएको थियो ।

गएको कात्तिकमा सुडान घोटाला प्रकरणमा डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका शम्भु भारतीलाई उपचारका लागि वीर अस्पताल लैजाने बहानामा सुरक्षार्थ खटिएको प्रहरीले कुपन्डोलस्थित एक होटलमा पुर्‍याएको थियो । यस्ता विकृति नियन्त्रण गर्न पटक–पटक आदेश र निर्देशन भए पनि सुधार हुन सकेको छैन ।

सम्बन्धित समाचार

प्रकाशित : असार २५, २०७७ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?