कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

पुल बगेपछि छाङरु र टिंकर जाने बाटो बन्द

मनोज बडू

दार्चुला — व्यास गाउँपालिका–२ स्थित कल्जु खोलाको झोलुंगे पुल पहिरोले बगाएपछि व्यास–१ का छाङरु, टिंकरलगायत क्षेत्र जाने बाटो बन्द भएको छ । कल्जु खोलामा आइतबार खसेको पहिरोले भासिएको पुल सोमबार राति बगेको हो ।

पुल बगेपछि छाङरु र टिंकर जाने बाटो बन्द

खोला बढेपछि तम्बाकु क्षेत्रमा बाटो बनाइरहेका स्थानीयलाई आउजाउमा समस्या परेको स्थानीय चञ्चलसिंह जोहारीले बताए । व्यास गाउँपालिका र भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा यो क्षेत्रमा घोडेटो बनिरहेको छ । कामदार राति दुम्लिङ घर आउने र दिउँसो काममा जाने गर्थे । पहिरोले माथिल्लो क्षेत्र गएका कामदार उतै र तलका तलै रोकिएका छन् ।

व्यास–२ का वडाध्यक्ष धीरेन्द्र बुढाथोकीका अनुसार पुल बगेपछि व्यास–१ का छाङरु, टिंकर, बुदी, दोपखे र घाटीबगर क्षेत्र जाने बाटो बन्द भएको हो । ‘दुम्लिङबाट ६/७ किलोमिटर पर कल्जुमा पहिरो गएको हो । अहिले माथिल्लो व्यास क्षेत्र ब्लक भएको छ,’ उनले भने । पहिरोले झोलुंगे पुल छेउमा रहेको पसल पनि भासिएको स्थानीय प्रकाश धामीले बताए । उनका अनुसार खेत पनि बगेको छ । आसपासका घरमा पहिरोको जोखिम बढेको छ । व्यास–१ जोड्न पहिरो खसेको ठाउँभन्दा करिब १० किलोमिटर माथि घाटीबगरमा नेपाली सेनाले घोडेटो बनाइरहेको छ ।

पहिरोले घर पुरियो

महाकाली नगरपालिका–१ श्रीबगरमा बुधबार बिहान पहिरोले स्थानीय पार्वती बमको ५ कोठे घरसहितको पसल पुरिएको छ । माथिबाट पहिरो खसेर घर पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले बताए । दार्चुला–टिंकर सडक छेउमै बमको पसल थियो । घरमै रहेको पसलमा ४/५ लाख रुपैयाँबराबरको सामान रहेको उनको भनाइ छ । घर पुरिएपछि बमलाई खानबस्न समस्या भएको छ । उनका श्रीमान् एक वर्षदेखि भारतमा छन् ।

प्रकाशित : असार २५, २०७७ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?