पार्टी ह्वीपविपरीत जाने सांसद स्वतः दण्डको भागी हुन्छ : भट्टराई

काठमाडौँ — समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पार्टीको ह्वीपविपरीत जाने सांसद स्वतः कारबाहीको भागी हुने बताएका छन् । सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने पार्टीको ह्वीप उल्लंघन गरेकी सांसद सरिता गिरीलाई पार्टीको साधारण सदस्य र सांसदबाट हटाउने निर्णय गरेपछि भट्टराईको उक्त भनाइ आएको हो । 

पार्टी ह्वीपविपरीत जाने सांसद स्वतः दण्डको भागी हुन्छ : भट्टराई

गिरीलाई पार्टीबाट हटाइएको र सांसदबाट पनि हटाउन भन्दै समाजवादीले बुधबार संघीय संसद सचिवालयमा पत्र पठाएको थियो । त्यसपछि समाजवादी पार्टीका अध्यक्षहरू भट्टराई र उपेन्द्र यादवलाई सामाजिक सञ्‍जालमा विभिन्न व्यक्तिले प्रश्न गरेका थिए ।

जसको जवाफमा भट्टराईले ह्वीप उल्लंघन गर्ने सांसद स्वतः काबाहीको भागीदार हुने बताएका हुन् । ट्विटरमा उनले लेखेका छन्, 'विचार अभिव्यक्तिकै कारण कसैलाई दण्डित गर्नु बेठीक हो । तर, राष्ट्रिय-राज्य रहुन्जेल भौगोलिक अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक/पार्टीको कर्तव्य हुन्छ । झन् त्यस्तो संगीन विषयमा पार्टीको ह्वीप विपरीत जाने सांसद स्वत: दण्डको भागी हुन्छ । यहाँ क्षेत्र/लिंगको कुरा गर्नु सान्दर्भिक हुन्न ।'

सरिता गिरीलाई समाजवादीका महासचिव रामसहायप्रसाद यादव नेतृत्वको छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेको थियो । समाजवादीले मंगलबार केन्द्रीय कार्यसमिति बैठकबाट कारबाही गर्ने निर्णय लिएको थियो ।

समाजवादीकी समानुपातिक सांसद गिरीले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा निसान छापमा राख्नका लागि ल्याएको संविधान संशोधान विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । उक्त प्रस्ताव फिर्ता लिन समाजवादीको संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले निर्देशन दिएका थिए । उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्ने दिन पार्टीले पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । जुन ह्वीप गिरीले उलंघन गरेकी थिइन् ।

संसदमा उपस्थित भएकी गिरीले बैठक बहिष्कार गरेकी थिइन् । त्यसपछि पार्टीभित्र उनलाई कारबाही गर्नुपर्ने भन्दै नेतृत्वमाथि दबाब बढेको थियो ।

गिरीले भने आफूलाई अन्यायपूर्वक हटाउन लागिएको भन्दै अदालत जाने बताउँदै आएकी छन् । बुधबार पार्टीले संसद सचिवालयलाई जानकारी गराएको पत्र अवैधानिक भएको उनको तर्क छ । तर पार्टीका नेता र संसद सचिवालयका पदाधिकारीले भने समाजवादीको कारबाहीको पत्र पार्टी विधान र दलसम्बन्धी कानुनअनुसार सही भएको जनाएका छन् ।

प्रकाशित : असार २५, २०७७ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?