स्वास्थ्य सुरक्षाबिनै यात्रा

अधिकांश यात्रुवाहक सवारीसाधनमा सेनिटाइजर राखिएको छैन ।
सीमा तामाङ

काठमाडौँ — रजनी तामाङ शंखमूल–चाबहिल रुटमा टेम्पो चलाउँछिन् । मास्क लगाए पनि उनको हातमा पन्जा थिएन । चाबहिल जान बुधबार दिउँसो उनको टेम्पोमा चढ्दा अन्य यात्रु थिएनन् । उनले दिउँसो खासै यात्रु नपाइने बताइन् ।‘अफिस टाइममा साँझ–बिहान यात्रु धेरै पाइन्छन्,’ उनले भनिन्, ‘तर ६ जनाभन्दा बढी चढाउँदा ट्राफिकले समातिहाल्छ ।’

स्वास्थ्य सुरक्षाबिनै यात्रा

टेम्पोमा अगाडि सिटमा चालक मात्रै बस्न पाउने भए पनि उनले नयाँ बानेश्वरमा एक जना यात्रुलाई चढाइन् । मध्य बानेश्वरको भेनस अस्पतालअगाडि यात्रु ओर्लेपछि मैले सोधें, ‘अगाडिको सिटमा यात्रु राख्न पाइन्छ र दिदी ?’

केही यात्रु अगाडिको सिटमा मात्रै बस्न खोज्ने बताइन् । टेम्पो चढेका अर्का यात्रु भन्दै थिए, ‘अब टेम्पोमै लगानी गर्नुपर्छ, १० लाख लगानी गरे दैनिक २ हजार कमाइन्छ रे !’ रजनीले जवाफ दिइन्, ‘पहिला हुन्थ्यो दाइ, अहिले त तरकारी किन्ने पैसा पनि मुस्किलले जम्मा हुन्छ ।’ टेम्पो चढ्ने–ओर्लने गर्दै तीन यात्रु लिएर उनी चाबहिल चोक पुगिन् । भन्दै थिइन्, ‘कति जना बोकेर घर फर्कनुपर्ने हो, थाहा छैन ।’ चाबहिल चोकमा माइक्रो, टेम्पो र ठूला बसको लाइन थियो । यात्रु ओराल्दै–बोलाउँदै थिए हरेक बसका सहचालक । चोकैमा बा२ख ३७४८ नम्बरको बस यात्रु पर्खिरहेको थियो ।

चालकले मास्क लगाए पनि सहचालक चिउँडोमा मास्क राखेर बौद्ध–गोकर्णेश्वर–सुन्दरीजल भन्दै यात्रु बोलाइरहेका थिए । उक्त बसको तीनवटा सिटमा एक लहरमा एक जना मात्र बसेका थिए भने अर्कोतिर दुईवटा सिटमा दुवै जना बसिरहेका थिए । चाबहिल क्षेत्रमा आवतजावत गर्ने सबैजसो बसमा सिटको एक लहरमा दुई जना बसेका थिए । सबैभन्दा पछाडिका सिट खाली भए पनि साथी भएका यात्रु एउटै लहरमा बसेका थिए ।

कोटेश्वर–भक्तपुर चक्रपथ परिक्रमा गर्ने बा४ख ७१०० नम्बरको बसको अपांग आरक्षित सिटमा सेनिटाइजरको डब्बा बाँधिएको थियो । आउने–जाने दुवै यात्रुले देखेसम्म सेनिटाइजर लगाएपछि मात्र सिटमा बसेका थिए । चालक र सहचालकले मास्क लगाए पनि हातमा पन्जा थिएन । साथी भएकाहरू दुवैजना एउटै सिटमा बसेका थिए । साथी नभएकाहरू एक्लै बसिरहेका थिए । चालकको पछाडि तेस्रो सिटमा दुई जना बसेका थिए । उनीहरू गौशाला चोकबाट चढेका थिए । उनीहरू न आफैं छुट्टिएर बसे न सहचालकले छुट्टै बस्न आग्रह गरे ।

सरकारले सुरक्षा विधि अपनाएर असार २६ देखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाउने निर्णय गरेको छ । सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने, चालकले पन्जासहित मास्क पनि लगाउनुपर्ने, सिटको आधा मात्रै यात्रु चढाउनुपर्ने, सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने र तोकिएको दरको ५० प्रतिशत बढी भाडा लिन पाउने मापदण्डअनुसार सवारीसाधन सञ्चालन गर्न निर्देशन पनि दिएको छ । काठमाडौंबाट भक्तपुर र ललितपुर जाने बसमा यात्रुहरू साँझपख कोचाकोच गरेर जान थालिसकेका छन् । उनीहरूले स्वास्थ्य सुरक्षाको खासै प्रवाह गरेको देखिँदैन ।

अधिकांश यात्रुवाहक सवारीसाधनमा सेनिटाइजर राख्ने गरिएको छैन । हालसम्म उपत्यकामा माइक्रो, टेम्पो ठूला बस गरी ३० प्रतिशत सार्वजनिक सवारीसाधन सञ्चालन भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । ‘अब सवारीसाधन बढ्ने क्रम जारी छ,’ उनले भने । बुधबार ४ बजेसम्म मात्रै ट्राफिक प्रहरीले सामाजिक दूरी कायम नगर्ने १६ वटा सार्वजनिक बसलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

त्यस्तै मास्क तथा पन्जा नलगाई सवारीसाधन सञ्चालन गर्ने ८ सय ७३ वटा बसलाई सम्झाइबुझाइ पठाइएको उनले बताए । ‘सामाजिक दूरी नअपनाएको सवारीसाधनलाई नियन्त्रणमा र मास्क पन्जा नलगाउने सवारीसाधनलाई सम्झाइबुझाइ गर्ने गरेका छौं,’ उनले भने, ‘एउटै गाडीले एक पटकभन्दा बढी अवज्ञा गरेको खण्डमा संक्रामक रोग नियन्त्रण ऐन, २०२० अनुसार कारबाही गर्छौं ।’ महाशाखाका अनुसार साउन २६ गतेदखि बुधबार ४ बजेसम्म ९३ वटा सार्वजनिक सवारीसाधनलाई नियन्त्रणमा लिएको र ३ हजार ८ सय १७ वटालाई सम्झाइबुझाइ पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित : श्रावण ८, २०७७ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?