२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

पर्सामा एक मृत व्यक्तिसहित १७ जनामा कोरोना पुष्टि

संक्रमित सबै क्‍वारेन्‍टाइनबाहिरका
भूषण यादव

पर्सा — नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा एक मृत व्यक्तिसहित पर्साका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको नारायणी अस्थायी कोभिड अस्पतालका इन्चार्ज डा. उदयनारायण सिंहले जानकारी दिए ।

पर्सामा एक मृत व्यक्तिसहित १७ जनामा कोरोना पुष्टि

एडभान्स मेडिकेयर हस्पिटलमा उपचारका क्रममा कोरोना संक्रमणको शंका लागेपछि गत मंगलबार नारायणी अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । वीरगन्ज माइस्थान निवासी ७० वर्षीय ती पुरुषको मंगलबार साँझ नै मृत्यु भएको कोभिड अस्पतालका इन्चार्ज डा.उदय नारायण सिंहले जनाए । ‘कोरोनाको लक्षण रहेकाले उनको शव परिवारको जिम्मा लगाएका थिएनौँ,’ उनले भने, ‘बुधबार ती मृत व्यक्तिमा पनि कोरोना रहेको रिपोर्ट आएको छ ।’

१७ जना संक्रमितमध्ये एक जना नारायणी अस्पतालका र एक जना बाहिर कार्यरत चिकित्सक हुन् । सुख्खा बन्दरगाहका दुईजना स्टाफ, ट्रक चालक र एक निजी स्कुलका कक्षा १० का विद्यार्थी समेतमा कोरोना संक्रमण देखिएको छ । बुधबार साँझ संक्रमण पुष्टि भएका सबै जना क्वारेन्टाइनमा नबसेका व्यक्ति हुन् । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार संक्रमित १७ जनामध्ये ९ जना पैसा तिरेर(सेल्फ पेड) परीक्षण गराएका र अन्य चिकित्सक सिफारिसमा परीक्षणका लागि आएका थिए । अस्पतालमा उपचारार्थ भर्ना भएका ५ जनाको परीक्षण गरिएको हो । चिकित्सकका अनुसार भर्ना भएकाहरुमा कडा निमोनिया देखिएको छ । दुईजना यसअघिका संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा आएका हुन् । ‘४ जना महिलासहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ,’ कान्तिपुरसँग डा.उपाध्यायले भने, ‘संक्रमित १७ जनामध्ये कोही पनि क्वारेन्टाइनका हैनन् ।’

‘पेड टेस्ट’ सुरु भएपछि पछिल्लो समय वीरगन्जमा संक्रमितको संख्या बढ्न थालेको छ । स्वेच्छाले परीक्षणका गराएका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमा विभिन्न पेसा व्यवसायमा संलग्न रहेका व्यक्ति छन् । डा. निरज सिंह वीरगन्जमा कोभिड १९ को समुदायमा फैलिन सुरु भइसकेको दाबी गर्छन् । ‘संक्रमितमा गम्भीर प्रकृत्तिको निमोनियाको लक्षण समेत दखिन थालेको छ,’ उनले भने, ‘कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ तीव्र बनाउन आवश्यक छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार ‘ट्राभल हिस्ट्री’बिनाका र कतिपय लक्षणसहितका संक्रमित समेत देखिएकाले निकै गम्भीर बन्नुपर्ने आवस्था सिर्जना भएको छ । ‘पेड टेस्ट’ सुरु नगरुन्जेल पर्सामा संक्रमित सबै निको हुँदै गएका थिए । नारायणी अस्थायी कोरोना अस्पतालमा मात्र २ जना संक्रमित भर्ना थिए । ‘तर, पेड टेस्ट सँगै विभिन्न व्यक्तिहरुले स्वेच्छाले जाँच गर्न थालेपछि कोरोना संक्रमित ठूलो संख्यामा देखापर्दै गएको छ,’ ‘बिहीबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘लकडाउनको अन्त्यसँगै सबैतिर भीडभाड हुनुले ठूलो खतरा निम्त्याएको छ । हामीहरु अहिले पनि कोरोना संक्रमणको उच्च जोखिममै छौँ । तसर्थ भीडभाडमा नजाऔँ, स्वास्थ्य र सुरक्षाका सबै शर्त र मापदण्डको अनिवार्य रुपमा पालना गरौं ।’

प्रकाशित : श्रावण ८, २०७७ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?