१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘नेपाल सानो छैन’

भेरोनिकाका लागि काठमाडौंका सडकमा खाल्डाखुल्डी र फुटपाथमा उप्किएका इँटाछेउ भव्य रेस्टुरेन्ट प्राचीनता र आधुनिक जीवनको अपत्यारिलो संगम हो ।
घनश्याम खड्का

काठमाडौँ — उनको योजना थियो, घर फिर्नुअघि मुस्ताङ पुग्ने, पसिना निकालेर मज्जाले डाँडाहरू उक्लिने अनि सौन्दर्य निहार्ने । सब कुरा ठिकठाक हुँदो हो त भेरोनिका कोडीको यो इच्छा यतिबेला पूरा भइसक्थ्यो । उनी मुस्ताङको सौन्दर्यमा रत भएर युरोप फिर्ने तयारीमा जुटिरहेकी हुन्थिन् । तर उनको यो घुमघामको धोको कोरोना महामारीले पूरा हुन दिएन ।

‘नेपाल सानो छैन’

‘सबै कुरा सोचेजस्तो हुँदो रहेनछ,’ तीनवर्षे कार्यकाल पूरा गरेर शुक्रबार फर्किने तरखरमा जुटेकी नेपालका लागि युरोपेली युनियन (ईयू) की राजदूत भेरोनिकाले विस्मय व्यक्त गरिन्, ‘पहिल्यै मुस्ताङ घुम्न नगएकामा मलाई पछुतो छ ।’

घुमघामको यो पछुतोलाई हटाउन उनी मौका मिलाएर फेरि नेपाल आउनेछिन् । ‘त्यतिबेला मलाई बढी स्वतन्त्रता हुनेछ किनभने म शुद्ध पर्यटकका रूपमा आउनेछु,’ नेपाल सरकारका मन्त्रीहरूसँग राजदूतका रूपमा अन्तिम भेटघाट र बिदाइ गरेपछि झोलीतुम्बा कस्दै गर्दा बुधबार कान्तिपुरसित भेरोनिकाले भनेकी थिइन्, ‘अहिले लिन नपाएको नेपालको सुन्दरताको मज्जा त्यतिबेला लिउँला भनेर चित्त बुझाएकी छु ।’

घुम्न नपाएको पछुतोबाहेक भेरोनिकाले तीन वर्षको नेपाल बसाइका क्रममा बटुलेका थुप्रै सुखद, रमाइला र केही उपलब्धिमूलक भाव पनि लैजाँदै छिन्, जो उनकै शब्दमा कहिल्यै नबिर्सने गरी हृदयमा बसेका छन् । ‘म यस्तो बेला नेपाल आएकी थिएँ जति बेला यो देश आफ्नो महत्त्वपूर्ण इतिहास बनाउने क्षणबाट गुज्रँदै थियो,’ उनले भनिन्, ‘संघीयता कार्यान्वयनमा हुन लागेको तीन तहको चुनाव मैले प्रत्यक्ष हेर्न पाएँ, त्यो चुनावले सत्तारूढ दललाई दिएको सफलता पनि देखेँ । नेपाल एउटा लामो अस्थिरताबाट स्थिर राजनीतिमा प्रवेश गरेको यो समयमा मैले यहाँ गज्जबका कुरा अनुभव गर्न पाएँ ।’

पहिलो पटक नेपाल आए पनि भेरोनिकाले छिट्टै आफूलाई नेपाल र नेपालीसँग घुलमिल भएको पाइन् । ‘मैले नेपाल सुनेकी थिएँ, देखेकी थिइनँ,’ उनले भनिन्, ‘नेपाल भन्नेबित्तिकै युरोपमा हिमालय पर्वत, आध्यात्मिक सहर, मन्दिर र फरासिला मानिसको सम्झना हुन्छ जुन साह्रै सकारात्मक भावका साथ जोडिएर आउँछ ।’

नेपाल आउँदा उनको मनमा पनि यस्तै आम युरोपेली चित्र थियो कल्पनाको । यहाँ आएपछि त्यस चित्रका केही भाग जोडिए, केही भागमा रङ फेरिए तर समग्रमा चित्र फेर्नुपर्ने अवस्था भने आएन । काठमाडौंका सडकमा खाल्डाखुल्डी र फुटपाथमा उप्किएका इँटा देखेकी उनले त्यसैका छेउछाउ उभिएका रेस्टुरेन्ट भने आधुनिक र भव्य पाइन् । ‘मेरा लागि यो प्राचीनता र आधुनिक जीवनको एक अपत्यारिलो संगम हो,’ विस्फारित नेत्रका साथ उनी बोलिन्, ‘यस्तो त मैले कहीँ पनि देखेकी छैन ।’

असाध्यै गरिबीमा मुस्कुराउन सक्ने मानिस, यहाँका हिमाल र तराईको शान्त परिवेश अनि मरमसला हालेका खानेकुरा भेरोनिकाका लागि नयाँ कुरा थिए । त्योभन्दा पनि रमाइलो उनलाई यहाँ पाहुनालाई तातोपानी दिने संस्कार लागेको छ । ‘युरोपमा कि कफी दिइन्छ कि चिया, खालि तातो पानी दिने चलन मलाई यहीँ आएपछि थाहा भयो,’ उनी मुस्कुराइन्, ‘यो राम्रो चलन हो, घर फिरेपछि म पनि पाहुनालाई यसै गर्नेछु ।’

मःम र त्यसका साथमा आउने अचार उनको जिब्रोका लागि नयाँ खुराक बन्यो । यहाँ आएपछि उनले योग सिक्ने मेसो पाइन् । यी र यस्ता अनेक सम्झनाले ईयूको मुख्यालयमा काम गरिरहेका बेला उनलाई मौका बेमौका सताउनेछन् ।

ईयू र नेपालबीच हरेक दुई वर्षमा एकपटक ब्रसेल्स र अर्कोपटक काठमाडौंमा हुँदै आएको द्विपक्षीय छलफललाई वर्षैपिच्छे गराउने, संघीयता, लोकतन्त्र र मानवअधिकारका मुद्दालाई स्थापित गराउने अनि युरोप र नेपालबीचको ४६ वर्ष पुरानो मैत्रीसम्बन्धलाई थप बलियो पार्न सकिने उपायबारे छलफल तथा विचारविमर्श गराउने कामले उनका अधिकांश समय खाइदिन्थे । र पनि, उनी सुटुक्क समय निकालेर कहिले नगरकोटको उकालो चढ्न पुग्थिन् भने कहिले पोखरामा फुक्काफाल भएर टहलिन्थिन् । ‘पोखरा मेरा लागि ज्यादै रमाइलो ठाउँ रह्यो,’ उनले भनिन्, ‘त्यहाँ जाने अनेक बहाना म बनाइरहेकी हुन्थेँ ।’

तीन वर्षको दैरान उनले वसन्तपुरतिर टहलिन निस्केका बेला पर्यटक ठानेर सामान भिडाउन खोज्ने व्यापारीदेखि बादी समुदायका महिलासम्मको जीवनलाई चाखपूर्वक चियाइन् । सातै प्रदेश पुगेकी उनले ग्रामीण महिला र बालबालिकालाई धेरैपटक तिनका घरमै पुगेर भेटिन् । मुक्त कमैया र बादी समुदायका महिलालाई गरेको सहयोग कत्तिको फलदायी भइहेको छ भनेर हेर्न जाँदा पाएको मायाले उनी भावुक भइन् । ‘नेपाल समृद्धिको बाटोमा छ, स्थायी सरकारलाई दिगो विकासको योजना ल्याउने मौका छ,’ उनीले भनिन्, ‘महिला, बालबालिका र ग्रामीण समाजका मानिसको जीवन उकास्न गर्नुपर्ने धेरै कुरा छन् ।’

सुखी नेपाली समृद्ध नेपालको नारा उनलाई चाखलाग्दो लागेको छ । नेपालका लागि युरोपले हतियारबाहेक सबै कुरा कुनै अतिरिक्त शुल्क र महसुलबिना आफ्नो बजारमा प्रवेश गर्न दिएको सुविधाको उपभोग नेपालले सकेको गरोस् भन्ने उनको सुझाव छ ता कि नेपाल छिटो सुखी होस् ।

नेपालको प्रमुख दातृ निकाय ईयूले सघाइरहेको जलवायु परिवर्तनदेखि मानवअधिकारसम्मको क्षेत्रलाई जारी राख्ने संकेत भेरोनिकाले दिएकी छन् । ‘धेरै मानिस नेपाललाई सानो भन्छन्, दुई ठूला छिमेकीका माझ भएकाले नेपालीले पनि आफूलाई सानै ठान्दा रहेछन्,’ उनले भनिन्, ‘तर नेपाल सानो होइन । ३ करोड जनसंख्या भएको देश युरोपमा पनि धेरै छैनन्, मेरै देश आयरल्यान्डमा ५० लाख मात्रै मानिस छन् ।’ आफू सानो छु भन्ने भावबाट माथि उठेर नेपाल क्षेत्रीय र विश्व राजनीतिमा अघिल्तिर आएको हेर्ने इच्छा ईयूलाई भएको उनले सुनाइन् ।

प्रकाशित : श्रावण ९, २०७७ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?