स्विस दूतावासद्वारा सरकारलाई ४० हजार पीसीआर किट सहयोग
काठमाडौँ — नेपालस्थित स्विस दूतावासले सरकारलाई ४० हजार पीसीआर किट र २ वटा रियल टाइम पीसीआर मेसिन हस्तान्तरण गरेको छ । नेपालका लागि स्विजरल्यान्डकी राजदूत एलिजाबेथ भो क्यापलरले शुक्रबार उक्त सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी हुन् ।
स्विस कम्पनी रोशले निर्माण गरेको उक्त किटमध्ये २० हजार किट अर्को लटमा दिइने कम्पनीका नेपाल प्रतिनिधि सुशील थापाले बताए । दूतावासले पीसीआर मेसिन भने प्रदेश एकलाई दिएको हो । बाटोको अवस्था ठीक भए ती मेसिन आइतबारदेखि नै सञ्चालनमा आउन सक्ने गरी बायोमेडिकल इन्जिनियर खटाइसकिएको थापाले जानकारी दिए ।
राजदूत क्यापलरले रोशले निर्माण गरेको उक्त गुणस्तरीय भएको उल्लेख गर्दै पीसीआर परीक्षण बढाउन नेपाल सरकारलाई सहयोग पुग्ने बताइन् ।
यसअघि स्विस दूतावासले मे ७ मा नेपाललाई ३० हजार पीसीआर परीक्षण किट तथा ३० हजार आरएनए एक्स्ट्रयाक्सन किट उपलब्ध गराएको थियो ।
प्रकाशित : श्रावण ९, २०७७ १४:०७