२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

अन्तर्राष्ट्रिय उद्धार उडान रोकिए

आन्तरिक उडान तत्काल सुचारु गराउन पर्यटनमन्त्रीलाई ज्ञापन  
सुरज कुँवर

काठमाडौँ — विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउने उद्देश्यले सरकारले जेठ २९ देखि खुला गरेको उद्धार उडान तत्काललाई रोकेको छ । 

अन्तर्राष्ट्रिय उद्धार उडान रोकिए

छाउनीस्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तत्काल उद्धार उडानका लागि तालिका ननिकाल्ने जनाएको छ । ‘उद्धार उडान तत्काललाई हुँदैन’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले कान्तिपुरसँग भने । उनका अनुसार पछिल्लोपटक देशभर बाढिपहिरो लगायत दैवी–विपत्तिका कारण उद्धार उडानबाट काठमाडौं ओर्लिने सर्वासाधरणलाई प्रदेश र स्थानीय तहमा बनाइएका होल्डिङ सेन्टरमा लैजान समस्या देखिएपछि तत्काल उद्धार उडान रोकिएको हो ।

सीसीएमसीले जेठ २९ देखि थालेको उद्धार उडान पछिल्लोपटक साउन ८ सम्म खुला गरिएको थियो । अलपत्र नेपालीलाई उनीहरुकै खर्चमा उद्धार गर्ने भनिएको थियो । यो अवधिमा २५ वटा मुलुकबाट ३४ हजार ८ सय ३० नेपाली स्वदेश फर्किएका थिए ।


उद्धार उडानका लागि सीसीएमसीले स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीलाई अनुमति दिँदै आएको थियो ।

बिहीबारयता सीसीएमसीको अनुमतिबाट उद्धार उडान भएका छैनन् । तर, परराष्ट्र, पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको संयुक्त अनुमतिमा मेडिकल लगायतका कार्गो र कूटनीतिक नियोगसँग सम्बन्धित उडान भने जारी नै छन् । सरकारले नियमित उडान भदौ १ गतेदेखि सुचारु गर्ने जनाएको छ ।

यसैबीच वायुसेवा सञ्चालक संघ नेपालले शुक्रबार पर्यटन मन्त्री योगेश भट्टराईलाई प्राकृतिक विपतका बेला नियमित उडान खुला गर्न ज्ञापन बुझाएको छ । संघले सबै सदस्य वायुसेवा प्रदायकले भदौ १ गतेदेखि उडान सञ्चालन गर्ने तयारीमा रहेको भएपनि राहत तथा उद्धारका लागि नेपाल सरकारले तोकेको भाडादरमा नन् सेड्युल उडान खुला गर्न माग गरेको छ ।


‘वर्षाका कारण जताततै राजमार्ग अवरोध भएकाले उद्धार तथा राहतका लागि हामी जुनसुकैबेला उडान सञ्चालन गर्न तयार छौं,’ बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतेले भने, ‘भदौ १ गतेदेखि हुने नियमित उडानका लागि यो पूर्व तयारी पनि हुने छ ।’

पर्यटन मन्त्रालयले बिहीबारमात्रै वायुसेवा सञ्चालक संघलाई देशभर बाढिपहिरोको प्रकोप बढ्दै गइरहेकाले सम्पूर्ण जहाज तथा हेलिकप्टर तयारी अवस्थामा राख्न पत्राचार गरेको थियो ।

सरकारले भदौ १ गतेदेखि भीडभाड हुन नदिन प्रतिघन्टा ३ सय यात्रुलाई सेवा दिने उद्देश्यले लकडाउन अघिको दाँजोमा भदौमा पहिलो चरण २५ प्रतिशत मात्रै उडान खुला गर्ने तयारी गरेको छ ।

प्रकाशित : श्रावण ९, २०७७ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?