१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गायिका सोफियालाई निरन्तर धम्की, सुरक्षा माग गर्दै दिइन् उजुरी

सन्जु पौडेल

तिलोत्तमा — बुधबार हाइलाइट्स नेपालले युट्युबबाट 'अबको तीज नो व्रत प्लिज'बोलको गीत प्राइभेट गरेपछि पनि गायिका सोफिया थापालाई धम्की भने आइरहेको छ । निरन्तर अपशब्द र फोनबाट धम्की दिन थालेपछि सोफियाले नेपाल प्रहरीको साइबर ब्युरो र इलाका प्रहरी कार्यालय बुटवलमा मंगलबार सुरक्षाको माग गर्दै निवेदन दर्ता गराएकी थिइन् । 

गायिका सोफियालाई निरन्तर धम्की, सुरक्षा माग गर्दै दिइन् उजुरी

६ दिनअघि गायिका सोफिया थापाले तीजसम्बन्धी गीत युट्युबमा अपलोड गरेकी थिइन् । गीत सार्वजनिक भएदेखि अहिलेसम्म धार्मिक संगठनका व्यक्तिहरुबाट धम्की आउने क्रम नरोकिएको उनले बताइन् । सांगीतिक यात्राको १२ वर्षे अवधिमा पहिलोपटक यस्तो तनाव झेलेको उनले बताइन् ।

‘गीत नहटाएमा घरै घेरा हाल्ने, जे पनि हुन सक्नेजस्ता धम्की व्यहोरेकी छु,’ उनले भनिन्, ‘मेरो गीतले महिलालाई भन्दा बढी पुरुषलाई आपत्ति भएको महसुस गरेकी छु ।’ आफूले गीतमा ‘नो’ शब्द राखेर पर्वलाई, धर्मलाई नै नमान्न सन्देश नदिएको भन्दै उनले विद्रोहको आवाज उठाएकाले त्यो सैह्य नभएर ‘म्यानिपुलेट’ गरेको हुन सक्ने बताइन् ।

गीतका कारण आफू मानसिक रूपमा तनाव झेल्न बाध्य भएको र परिवारलाई समेत धम्कीले असर गरेको थापाले बताइन् । परिवारका सदस्यलाई त्यस्ता भनाइका पछाडि नलाग्न र सामाजिक सञ्जालमा पोस्ट गरिएका घृणित कुरा नहेर्न सुझाएको उनले बताइन् । ‘म पनि हिन्दु धर्मावलम्बी नै हुँ, मैले संस्कृति मेट्ने खालका शब्द जोडेको, धर्ममाथि प्रहार गर्ने सोच राखेर शब्द कोरेकी पनि होइन र गीत त्यस्तो छैन,’ उनले थपिन् ।

मानसिक रूपमा तनाव झेलेपछि अहिले भोगिरहेको अपमानका विरुद्ध लड्ने सोचले अघि बढेको उनले बताइन् । सोफियाको गीत अपलोड गरेको हाइलाइट्स नेपाल कम्पनीका सञ्चालकलाई समेत धम्कीपूर्ण फोन, म्यासेज आइरहेका छन् । तर, आफू गीत हटाउने र शब्द परिवर्तन गर्ने पक्षमा नरहेको थापाले सुनाइन् । म्युजिक कम्पनीलाई समेत आफूले नहटाउन आग्रह गरेको र आफूलाई आएका धम्कीविरुद्ध कानुनी रूपमा अघि बढेकाले केही दिनमै यसको समाधान हुने उनले बताइन् ।

निवेदन दर्ता भएको र धम्की आएका प्रमाणका आधारमा सोफिया र उनको परिवारको सुरक्षा गरिने इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीतसिंह राठौरले बताए । ‘साइबर ब्युरोमा मुद्दा दर्ता भइसकेको र उक्त फाँटले थप अनुसन्धानको कार्य गर्नेछ,’ उनले भने, ‘यहाँबाट शान्ति सुरक्षाका लागि खटिने छौं ।’

प्रकाशित : श्रावण ९, २०७७ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?